काठमाडौं । सरकारले आजबाट लकडाउन खुकुलो गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न तीन चरणमा लकडाउन खुकुलो गर्दै जाने गरी आजबाट विभिन्न सेवा सञ्चालनको अनुमति दिएको छ ।

तीन चरणमा लकडाउन खोलिने निर्णय भएको सरकारका एक मन्त्रीले जानकारी दिए । यसको औपचारिक जानकारी आज सरकारका प्रवक्ता डा। युवराज खतिवडाले दिनेछन् । पहिलो चरणमा २१ दिनमा २१ सेवा खुल्नेछन् । जसमा अत्यावश्यक सेवासहित निजी सवारी, ट्याक्सी, पसल, व्यवसाय समेत छन् । तर, जोरबिजोर प्रणालीमा सवारी निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति हुनेछ । लामो दुरीको यात्रामा रोक लगाइएको छ ।

लकडाउनको २१ दिन अनुगमन गरी अर्को ३० दिनभित्र अन्य सेवा पनि सञ्चालनमा आउनेछन् । अबको २१ दिनपछि अर्को १५ दिनमा थप सेवा सञ्चालन गर्न दिइनेछ । त्यसपछि तेस्रो चरणमा शैक्षिक संस्था र मनोरञ्जन र खेलस्थलबाहेक बाँकी सेवा सञ्चालनमा आउनेछन् । यसरी हेर्दा शैक्षिक संघसंस्था र मनोरञ्जनस्थल भदौयता सञ्चालनमा आउने सम्भावना कम छ । १ असारबाट सरकारी कार्यालय खुल्नेछन् । पहिलो चरणमा आधा कर्मचारी र दोस्रो चराण्मा ७५ प्रतिशत र तेस्रो चरणमा सबै कर्मचारी राखी कार्यालय खुल्नेछन् ।

कोरोना रोकथाम तथा नियन्नत्रणका लागि सरकारले गरेको बन्दाबन्दी(लकडाउन) को करिब अढाइ महिनापछि यसको स्वरुप परिवर्तन गरिने भएको हो । यसबाट सर्वसाधारणको जनजीवनमा केही सुधार आउने देखिएको छ ।


पहिलो चरणमा आजबाट सञ्चालनमा आएका सेवा तथा कार्य
१. स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत
२. औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३. पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४. फोहोरमैला व्यवस्थापन
५. विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६. बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७. सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८. कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९. उत्पादनशील उद्योग
१०. निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११. विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)
१२. निर्माण कार्य (निजीसमेत)
१३. नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
१४. रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
१५. क्वारेन्टिनका लागि तोकिएका होटल
१६. बिजुलीका सामान बिक्री र मर्मत
१७. विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
१८. पुस्तक पसल तथा स्टेसनरी
१९. सबै प्रकारका ढुवानी सेवा
२०. अत्यावश्यक सेवाका कार्यालय
२१. अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)