काठमाडौं । क्यारेबियन प्रिमियर लिग ट्रिनिडाड एन्ड टोबागोमा आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म गर्ने निर्णय गरिएको छ ।

यसअघि कोरोना भाइरसका कारण प्रतियोगिता अनिश्चित बनेको थियो । आयोजकले प्रतिस्पर्धा खाली रंगशालामा गराउने निर्णय गरेको छ भने खेलाडीहरुको तलब ३० प्रतिशतसम्म कटौती गरिनेछ । ३० हजार डलर माथि तलब हुने खेलाडीको ३० प्रतिशत कटौती गर्दा २० हजार भन्दा माथिको १० प्रतिशत तलब काटिनेछ । त्यसभन्दा कम तलब हुनेको कटौती गरिनेछैन ।

प्रतियोगिताका लागि खेलाडीहरु १ अगस्टसम्म ट्रिनिडाड पुगिसक्नु पर्नेछ । त्यसपछि खेलाडीहरु क्वारेन्टिनमा बस्नु पर्नेछ । आयोजकले विदेशी खेलाडीको स्वास्थ्य र अन्य प्रोटोकलका लागि स्वास्थ्य सल्लाहकार समिति गठन गर्नेछ ।

प्रतियोगिताको अघिल्लो सिजनमा नेपालका सन्दीप लामिछानेले पनि खेलेका थिए । यो सिजनको भने ड्राफ्ट हुन बाँकी छ ।