काठमाडौं । नेपालको नक्सा इतिहास त्यति लामो छैन। नेपालले आफैं नक्सा बनाएको ४५ वर्ष मात्रै भएको छ । त्यसअघि भारतीय पक्षले बनाइदिएका नक्सा प्रयोगमा आउने गरेका थिए । नेपाल सरकारले पहिलो पटक २०३२ सालमा अन्तर्राष्ट्रिय सीमासहित नक्सा जारी गरेको नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओली बताउँछन् ।

त्यो नक्सा ४ विकास क्षेत्र र ७५ जिल्लासहितको थियो । विभागको प्राविधिक टोलीले लिम्पियाधुरासहित नक्सा बनाएको ओलीको दाबी छ । ‘हामीले लिम्पियाधुरासहितको नक्सा तयार गरेका थियौं’, उनी भन्छन्, ‘तर, भारतसँगको सीमा फाइनल नभएको भन्दै कालापानीसम्म पु¥याएर रोकियो ।’

उनका अनुसार लिपुलेक र कालापानीबीच क्षेत्र खाली नै राखिएको थियो । सीमा नमिलेको भन्दै विरोध भएपछि चोसो मेटाइएको उनी बताउँछन् । त्यो नक्सा बनाउने स्थलरुप नापी महाशाखामैै उनी कार्यरत थिए । ओलीसहितका प्राविधिकको टोलीले नै त्यो नक्सा बनाएको थियो ।

उनका अनुसार त्यो नक्सा पहिलो पटक हिमाल क्षेत्रको निरीक्षण ‘इन्फेक्सन’ गरी चीनतिरको सिमाना २०३६ सालमा मिलाएको हो । २०३७ सालमा पाँच विकास क्षेत्र भएकोमा त्यहीअनुसार नक्सा बन्यो । प्रत्येक जनगणनाताका पनि नयाँ नक्सा निकालिने गरेको उनी बताउँछन् ।

२०३२ सालअघि भारतमै नक्सा बनाइन्थ्यो । त्यो पनि गोप्य हुन्थ्यो । जनतालाई नक्साका विषयमा थाहा नै हुँदैनथ्यो । एटलसमा पनि २०२३–२४ सालमा अमेरिकाले राखिदिएको थियो । ओली भन्छन्, त्यो बेलासम्म नक्सा गोप्य नै हुन्थ्यो । २०३२ पछि मात्रै हो यो बाहिर आएको ।’ त्यो बेला विभागका महानिर्देशक अर्जुनबहादुर बस्नेत थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।