काठमाडौं । सरकारले आजबाट लकडाउन खुकुलो गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन जारी भएको र केही खुकुलो मात्र भएको स्पष्ट पारिसकेका छन् । उनले लकडाउनको पूर्ण पालना गर्न समेत आग्रह गरेका छन् ।

दैनिक जीविकोपार्जनमा चुनौती बढेपछि सरकारले लकडाउन केही खुकुलो बनाएको हो । कोरोना भाइरसको रोकथामका लागि लकडाउन गरेको ८३ दिनपछि अत्यावश्यक सेवाबाहेक तोकिएका क्षेत्र सञ्चालनको अनुमति दिइएको छ ।

निजी सवारी जोर बिजोर प्रणाली अनुसार सञ्चालनको अनुमति दिइएको छ । उद्योग, कलकारखाना सावधानी अपनाएर सञ्चालन गर्न दिइएको छ । भौतिक पूर्वाधार निर्माणको अनुमति दिइएको छ । आजबाट निर्माणसम्बन्धी कलकारखाना र उद्योगहरु पनि सञ्चालनमा आउनेछन ।

शैक्षिक संघसंस्थाहरु अझै सञ्चालनको अनुमति दिइएको छैन । सरकारले वैकल्पिक शिक्षा प्रणाली सुरु गरिसकेको छ । आजबाट सिकाई प्रणाली आरम्भ गरिएको हो ।

के के सञ्चालन गर्न पाइने ?
१. स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनकसमेत)
२. सबै प्रकारका कृषि पशुपंक्षी व्यवसाय (उत्पादनदेखि विक्रिवितरणका सबै श्रृङ्खला)
३. उद्योग, व्यापार, व्यवसाय, डिपार्टमेन्ट स्टोर्स ।
४. सबै प्रकारका ढुवानी ।
५. पैदल आगमन ।
६. साईकल र मोटरसाईकल (चालकमात्र रहनेगरी)
७. काठमाण्डौ उपत्याकाको हकमा काठमाण्डौ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्रै जोर विजार प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन (चालकबाहेक थप २ जना मात्रै सवार हुन पाउने गरी) ।
८. फोहोरमैला व्यवस्थापन ।
९. विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रशारण, हुलाक सम्बन्धी सेवा ।
१०. बैंक तथा वित्तिय संस्था, सहकारी र बीमा सेवा ।
११. नर्सरी र वनजन्य उद्यम ।
१२. विकास आयोजना (निजी क्षेत्रबाट प्रवद्र्धितसमेत)
१३. निर्माण कार्य (निजी समेत)
१४. नदि तथा खानीजन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र विक्रि वितरण ।
१५. रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा ।
१६. क्वारेन्टिनका लागि तोकिएका होटल र यातायातका साधन ।
१७. सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तिय संस्थाहरु (विहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म २ सिफ्टमा सञ्चालन गर्ने)
१८. सार्वजनिक तथा जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसार पोसार गर्न प्रयोग गरिने सवारी साधन (सीटको एक लहरमा एकजना मात्रै राख्ने, सबै यात्रुले अनिवार्य मास्क प्रयोग गर्ने, स्यानिटाईजरको व्यवस्थापन गर्ने, सवारी साधनलाई दैनिक निसंक्रमित गर्ने)
के के सञ्चालन गर्न नपाइने ?

१. विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र लगायत शैक्षिक संस्थाहरु ।
२. अनुमतिप्राप्त बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरु ।
३. तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवात जावत ।
४. सबै प्रकारका सभा, गोष्टी र सेमिनार ।
५. सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन ।
६. सिनेमा हल, पार्टी प्यालेस, डान्सबार लगायतका मनोरञ्जन स्थलहरु ।
७. सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडिया घर ।
८. स्पा, सैलुन तथा ब्यूटी पार्लरहरु ।
९. स्विमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब ।
१०. सपिङ मल ।
११. समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति ।
१२. सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल ।
१३. यात्रुवाहक सार्वजनिक सवारी साधन (पर्यटक सवारी साधनसमेत)
१४. काठमाण्डौ उपत्यकाको हकमा काठमाण्डौ उपत्यकाभित्र र अन्यको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणाली सञ्चालन हुने निजी सवारी साधनबाहेक अन्य गाडीहरु नचलाउने ।