काठमाडौं । हिमालय एयरलाइन्सले जुन २० भित्रमा विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर्ड उडानको विवरण र भाडादर सार्वजनिक गरेको छ ।

हिमालयले सार्वजनिक गरेको भाडादर अनुसार कोलम्बो र मालेबाट काठमाडौंसम्मको भाडादर ३८० डलर तोकिएको छ । सो उडान जुन १६ (मंगलबार) हुनेछ । जुन १७ गते हिमालयको गन्तव्य ढाका, सिंगापुर र नोम पेङ छन् । ढाकाबाट काठामाडौं आउने यात्रुसँग हिमालयले १६५ डलर उठाउनेछ भने दुई स्थानबाट काठमाडौंसम्मको भाडादर समान ५२० डलर छ ।

जुन १८ मा हिमालयनले दमाम र क्वालालम्पुरबाट नेपालीलाई ल्याउँदै छ । दमामबाट आउन चाहनेले ४६५ र क्वालालम्पुरबाट आउन चाहनेले ३७२ डलर तिर्नुपर्नेछ । जुन १९ मा भने हिमालयनले पुरानै गन्तव्यबाट उडान भर्ने जनाएको छ ।

जसमा दमामको भाडादर ४६५ डलर कायम छ भने मालेबाट आउन चाहनेले अघिल्लो उडानभन्दा सय डलर बढी तिर्नुपर्नेछ । जुन २० मा हिमालयनले अबुधाबीबाट यात्रु ल्याउनेछ भने ढाकाबाट अर्को उडान गर्नेछ । आबुधाबीको भाडा ३६५ डलर तोकिएको छ । सोही दिन ढाकाबाट आउने उडानका लागि पुरानै दर तोकिएको छ ।