गण्डकी प्रदेश । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिज्ञप्ति जारी गर्दै १८ जनामा संक्रमण भएको जनाएको हो ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार गोरखाका १०, स्याङ्जाका ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका छन् ।

गोरखामा संक्रमण देखिएका १० जनामध्ये गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र ३१ वर्षीया एक महिला तथा बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका दुई जना पुरुष छन् । स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पूर्वी नवलपरासीको विनयत्रिबेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एकरएक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बाग्लुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।