काठमाडौं । आज (शुक्रबार) वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका २३ जना नेपालीको शव स्वदेश ल्याइएको छ ।

जसमा कतारदेखि २० वटा, कुवेतबाट २ र युएईदेखि १ वटा शव बोकेर आएको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको विमानस्थलले जानकारी दिएको छ । यसरी उद्धार गरेर ल्याइएका शव आफन्तलाई जिम्मा लगाइएको विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले जनाएका छन् । कोरोना भाइरसका कारण ४ महिनादेखि विभिन्न कारणले विदेशमा शव रोकिएका थिए ।

कोरोना भाइरसको महामारीका कारण गत चैत्र ११ बाट अन्तर्राष्ट्रिय उडान बन्द भएका थिए । जसका कारण विदेशमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउन सकिएको थिएन । अहिले जहाज चार्टर गरेर भएपनि विदेशमा अलपत्र नेपालीको शव स्वदेश ल्याउन थालिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।