काठमाडौं । स्थानीय सरकारले कोरोना भाइरसको महामारीका कारण ठप्प अवस्थामा रहेका शैक्षिक संस्थाहरु खोल्ने तयारी थालेको छ । महामारीका कारण आम विद्यार्थीहरुको शैक्षिक भविष्य धरापमा परेका कारण स्थानीय सरकारले अब शैक्षिक संस्थाहरु खोल्ने तयारी गरेको हो । जसअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाले साउन १५ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । सरकारले अपनाएको स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण पालना गरी साउन १५ बाट विद्यालय खोल्ने तयारी भएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए ।

‘सङ्घीय सरकारले कुनै निर्देशन पठायो भने अलग पाटो हो, नभए साउन १५ गतेबाट विद्यालय खोल्ने निर्णय भएको छ,’ उनले भने, ‘विद्यालयमा सुरक्षा सावधानी अपनाएर सञ्चालन गर्नुपर्ने सर्वपक्षीय रूपमा सुझाव आएकाले पढाइ सुरु गर्ने निर्णय गरेका हौँ ।’

कोरोना भाइरसका कारण हाल स्थानीय सरकारले सार्वजनिक विद्यालयहरुलाई क्वारेनटाइनको रुपमा प्रयोग गर्दै आइरहेका छन् । गाउँपालिकाले क्वारेनटाइनका रुपमा सञ्चालन गरेका विद्यालयहरुलाई सेनिटाइज गरेपछि मात्रै विद्यालय खुलाउने तयारी भइरहेको छ ।