सम्माननीय प्रधानमन्त्री, शिक्षामन्त्री एवं उच्चस्तरमा रहनुभएका सम्पूर्ण व्यक्तित्वहरूलाई हजुरहरूले नै दुर्गम ठान्नुभएको कर्णाली प्रदेशको जुम्ला जिल्लाबाट म पोखरा विश्वविद्यालय अन्तर्गत एभरेस्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरमा सिभिल इन्जिनियरिङ अन्तर्गत तेस्रो वर्षमा अध्ययनरत एक विद्यार्थी बाल गोपाल देवकोटा दुवै हातका दश औँला जोडेर नमस्कार अनि हार्दिक नमन व्यक्त गर्दछु।

विश्व नै कोरोनाको आगोले दनदनी बलिरहेको बेला नेपाल पनि कोरोनाबाट अछुत हुन सकेन। न त सगरमाथाले नै रोक्न सक्यो न त स्वयम्भू, पशुपतिनाथले नै । ढिलै भए पनि नेपालमा कोरोनाको आगो दिन दुई गुणा रात चौ गुणा जसरी फैलँदै गयो ‌। नेपालमा कोरोना भाइरस पुष्टि भए पछि चैत ११ गतेबाट लागू भएको लकडाउन आंशिक रूपमा खुले पनि करिब चार महिना पुग् नलाग्दा पनि जारी नै भएको हजुरहरूलाई अवगत नै छ। लकडाउन केही सामान्य भएदेखि कलकारखाना, सङ्घसंस्था,यातायात, बजारहरू जस्ता विभिन्न क्षेत्रहरू खुलिसकेका छन् तर विश्वविद्यालय र विद्यालयहरू भने खुल्न सकेका छैनन् । मुलुकका धेरैजसो विद्यालयहरू क्वारेनटिन बनाइएका छन् ।

यति बेला विश्वकै शैक्षिक क्षेत्रले पनि अत्यन्तै विकराल र भयावह परिस्थितिको सामना गर्नु परिरहेको छ। नेपाल पनि त्यसबाट अछुतो छैन। आज विश्वभरका सम्पूर्ण विद्यालय, कलेज र विश्वविद्यालयहरू बन्द रहेका छन्। अन्य मुलुकमा वैकल्पिक माध्यमहरूबाट पठनपाठन सुचारु भए।विश्वका धेरै देशहरूले पनि यो कठिन समयमा आफ्ना विद्यार्थीहरूसँग शैक्षिक सम्पर्क कमजोर नहोस् भन्नका लागी भर्चुअल क्लास रुम, अनलाइन क्लासमार्फत अध्ययन अध्यापन गराइरहेका छन्। किनकि विकसित चेत भएका प्रायः सबै देशहरूले जस्तोसुकै अप्ठ्यारोमा पनि शिक्षाको नियमिततालाई अत्यन्तै महत्त्व दिएका छन्। तर नेपालमा त्यो भने सम्भव भएको देखिँदैन।

विद्यालय कलेजहरू बन्द भएका कारण कतिपय विद्यार्थीहरू विशेष गरी छात्राहरू घरेलु तथा अन्य हिंसाको सिकार हुनु परिरहेको तथ्य पनि हजुरलाई थाहा नै छ होला। सबै विश्वविद्यालयहरूका नियमित वार्षिक परीक्षाहरू रोकिएका छन्। जसका कारण परीक्षा तयारीमा रहेका हजारौँ विद्यार्थीहरू आफ्नो शैक्षिक भविष्य के हुने हो भन्ने मनोवैज्ञानिक दोधारमा परेका छन् त्यस अन्तर्गतको एक प्रतिनिधि पात्र म पनि हो ।

यस्तो बेलामा विद्यार्थीहरुलाइ कसरी शैक्षिक क्रियाकलापहरूमा व्यस्त बनाइराख्ने भन्ने सन्दर्भमा विशेष ध्यान दिनु पर्ने हो तर विश्वविद्यालय र हाम्रा कलेजहरूले कानमा तेल हालेर बसिरहेका छन्। हामी विद्यार्थीले गुहार माग्दै बोलेको न सरकारले सुन्छ न विश्वविद्यालयले सुन्छ न त त्यसका आङ्गिक एवं सम्बन्धन प्राप्त कलेजहरू सञ्चालन गरिरहेका उच्च व्यक्तित्वहरुलेनै “मरेका मान्छे राखिने मुर्दा घर जसरी सुनसान देखिन्छन् विश्वविद्यालय अनि त्यसका आङ्गिक एवं सम्बन्धन प्राप्त कलेज र त्यहाँका सञ्चालकहरू। “

काठमाडौँ विश्वविद्यालयले लकडाउन भएदेखि आन्तरिक परीक्षाको मूल्याङ्कन गरी रिजल्ट निकाल्ने र भर्चुअल क्लास रुम, अनलाइन क्लासमार्फत शैक्षिक क्यालेन्डरलाई कुनै असर नपर्ने गरेर नियमित कक्षाहरू सञ्चालन गरिरहेको छ र त्यो प्रभावकारी पनि देखिएको छ। के त्रिभुवन, पोखरा, पूर्वाञ्चल, मध्यमाञ्चल, सुदूर पश्चिमाञ्चल जस्ता विश्वविद्यालय हरूले यस्तो गर्न सक्दैनन् र? विश्व बजारमा भर्चुअल क्लास रुम, अनलाइन क्लासमार्फत पढाइ भइरहेको काठमाडौँ विश्वविद्यालयको सर्टिफिकेट चल्ने अनि अरू विश्वविद्यालयको नचल्ने पनि कहीँ कतै हुन्छ र? मूल्याङ्कन गर्नलाई अरू सेमेस्टर र वार्षिक परीक्षा हरु बाकि छँदै छन् के १ सेमेस्टर वा १ वार्षिक परीक्षा आन्तरिक मूल्याङ्कन बाटै रिजल्ट निकाल्दा पहाड खस्ने अनि जमिन नै भासिने हुन्छ र ? यदि यो कुरा पनि सम्भव नभए “मामा नहुनु भन्दा कानो मामा हुनु नै बेस ” भने जसरी पठनपाठन सुचारु नभएर एक वर्ष ग्याप हुनुभन्दा मजस्ता धेरै निम्न वर्गीय विद्यार्थीहरूले ऋण नै काटेर भए पनि भर्चुअल क्लास रुम अनि अनलाइन क्लासमार्फत उपस्थिति हुँला। के अब त्यो पनि सम्भव छैन र ? विश्वविद्यालय र कलेजहरू के पैसा असुल्ने भाडा मात्र हुन् र ? मुलुकमा आपतविपत आइपर्दा सोच्नु पर्ने बेला भएको छैन र? यदि यस्तो होइन भने हजुरहरूलाई के कुराले रोकेको छ? हुन्छ भने हुन्छ भन्दिनुस् हुन्न भने हुन्न भन्दिनु म जस्ता लाखौँ विद्यार्थीहरूको भविष्य अन्धकारमा पारेर हामीलाई यता न उताको नपारी दिनुहोस्। चार वर्षमा सकिने कोर्स ५ वर्षमा सकिन्थ्यो अब यस्तै पारा हुने हो भने ६ वर्षमा पनि सकिन गाह्रो हुन्छ।

पोखरा , मध्य पश्चिमाञ्चल अरू विश्वविद्यालय अझै पनि नेतृत्व विहीन भएका छन् । यो अवधिमा प्रशासनिक एव शैक्षिक गतिविधि शून्य रहेको छ। शैक्षिक क्यालेन्डर ध्वस्त भएको अवस्था छ ।वैकल्पिक शैक्षिक योजना पनि आधिकारिक रूपमा लागु हुन सकेको छैन ।विद्यार्थीले के बुझ्न जरुरी छ भने भोलि यो वा त्यो बहानामा हाम्रो ६ महिने सेमेस्टर २ महिने मात्र हुनेछ ।नेतृत्व एव पदपूर्ति नगर्ने अनि १-२ महिनाको सैद्धान्तिक कक्षाको भरमा परीक्षामा होमिनु पर्ने जटिलता विद्यार्थीले भोग्नुपर्ने ? कुलपतिको एव सहकुलपतिको गल्तीको सिकार विद्यार्थी बन्नु पर्ने देखिन्छ। १-२ महिना कक्षा सञ्चालनको भरमा परीक्षा सञ्चालन हुन्छ के यसरी नै शैक्षिक गुणस्तर उँभो लाग्छ होला त ?

सरकार लाई मन लागेको गर्न पाउने हो दुई तिहाइ मा.? अनि अब ल त्यो त छोडौँ गल्ती भयो होला अब सुधार्नु हुन्छ होला आशा छ तपाईँ जस्तो जान्नेबुज्ने प्रधानमन्त्री बाट अब विश्वविद्यालय को हालत हेरौँ अझै कस्तो हुन्छ। विश्वविद्यालयहरूमा विगत महिनौँ बाट न उपकुलपति छ, न रजिस्ट्रार,न परीक्षा नियन्त्रक,न डिनहरू सबै रिक्त भएका छन् अनि कुलपति को नाता ले तपाइले उपकुलपति नियुक्ति गर्नु पर्ने हैन र? म नियुक्ति गर्न सक्दैन असक्षम छु भन्ने लाग्छ भने म असक्षम छु भनिदिनुहोस् हामी वैकल्पिक बाटो खोजौला। यसरी चप्प लागेर लाखौँ विद्यार्थीहरूको भविष्यसँग खेलबाड नगरी दिनु होस् अहिलेका विद्यार्थी पछि देश विकासका मेरुदण्ड नै हुन्।

प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहनुभएको हजुरले बेसार,अदुवा तातोपानीको सल्ला सुझाव दिन ठिकै हो ती कुरा पछि सोचौला र समाजमा आलोचनात्मक हुने कुराहरू पनि नगरी दिनुहोस् बरु अहिले विश्वविद्यालय सोचिदिनुस्। सबैलाई अहिले विश्वविद्यालयहरू टुहुरो लाग्दै छन् ।

” कि लिपुलेकमा भारतीयले वर्षौँदेखि बाटो खन्दै गर्दा हजुरले थाहा नपाए जसरी विश्वविद्यालयमा रिक्त रहेका पदहरू हजुरलाई थाहा छैन र? “

अब यसै पत्रबाट हजुर र हजुरका शिक्षामन्त्रीले थाहा पाउनु भयो होला भन्ने आशा छ । अझै पनि कानमा तेल हालेर सुने पनि नसुने झैँ गरेर नबसी दिनुहोस् ।

केही दिन अघि शिक्षामन्त्री ज्यु को अभिबेक्तिले परीक्षा को छलफल स्वयम् विश्वविद्यालयले विद्यार्थीहरूका लागि हाल परीक्षा नलिई अर्को सेमेस्टरमा पढाइ सुरु गर्न सक्ने बारे विश्वविद्यालयहरुले गृहकार्य गरिरहेको जानकारी गराउनु भएको थियो तर अहिलेसम्म पनि विश्वविद्यालयहरूले केही निर्णय गर्न सकेका छैनन्। के अब ढिलो भएन र ? अझै कति ढिलो गर्ने? कि परीक्षा हुन्छ भन्नुपर्‍यो कि हुँदैन भन्ने निर्णय जतिसक्दो चाँडो गरिदिनु पर्‍यो र मजस्ता विभिन्न विद्यार्थीहरू अन्यौलता परेका छन् अन्योलबाट मुक्त गराई दिनु पर्‍यो।

यसरी अघि बढ्ने हो भने विद्यार्थीको भविष्य डामाडोल अनि भद्रगोल नै हुने देखिन्छ विद्यार्थीको मात्र नभई मुलुकको नै भविष्य अन्धकार हुने कुरामा दुई मत छैन। कोरोना र लकडाउनले गर्दा १ वर्ष नै लस त हुनेछैन भन्ने कुराले मजस्ता धेरै विद्यार्थीहरूको मन मुटु पिरोलिरहेको छ। यदि यस्तो भयो भने विद्यार्थीहरूलाई आफ्नो पठनपाठन व्यवस्थापन गर्न निकै कठिन हुने देखिन्छ। खाइ नपिई ऋण, जोहो गरेर सहरमा कोठा भाडामा लिएर पढिरहेका लाखौँ विद्यार्थीहरूको सपना चकनाचुर हुने देखिन्छ। एक सेमिस्टर त खेर गयो गयो अब अर्को सेमिस्टर पनि खेर जाने हो कि भन्ने कुराले म जस्ता अनेकौँ विद्यार्थीहरू पिर मानेर अत्तालिँदै आ कुल व्याकुल भई यताउति भौतारि रहेका छौ।

“अर्थतन्त्र लगायत अन्य क्षेत्रहरूको ग्याप वा असरहरू त २/४ वर्षको मिहिनेतबाट रिकभर गर्न सकिएला। तर शिक्षा क्षेत्रमा पर्ने नकारात्मक असर वा प्रभावले विद्यार्थीहरूको मात्रै भविष्य बिग्रँदैन, यसले सिङ्गो समाज र राष्ट्रको समग्र संरचनालाई नै दीर्घकालसम्म चोट पुर्याहि रहन्छ। यसरी नै शिक्षण संस्थाहरू बन्द राखेर पठनपाठन ठप्प गर्ने हो भने भविष्यमा शिक्षा क्षेत्र र मुलुकको विकासमा ठुलो क्षति हुने देखिन्छ । “

तसर्थ भविष्यमा शिक्षा क्षेत्र र मुलुकको दिगो विकासमा भई परि आउने ठुलो दुर्घटनाबाट बच्न र बचाउनको लागि अहिले नै नेपाल सरकारले दीर्घकालीन उपायहरू अपनाएर बन्द भएका विद्यालय,कलेज र विश्वविद्यालयहरूको पठनपाठन के कसरी सुचारु गर्न सकिन्छ त्यता तिर ध्यान दिनु हुन विनम्र अनुरोध गर्दछु।

धन्यवाद,
उही हजुरको विद्यार्थी
बाल गोपाल देवकोटा।