
काठमाडौं । नेपालका विभिन्न कुना काप्चासम्म पुगेको दूरसञ्चारको विकल्पमा रहेको एकमात्र ल्याण्डलाइन फोनको बजार खुम्चिँदो क्रममा छ । आधुनिक मोबाइल फोनको निरन्तर पहुँच बढ्दै गएपछि ल्याण्डलाइन फोनको बजार खुम्चिदै गएको हो ।
मोबाइल फोन सानो छरितो, तथा देशभर सबै स्थानमा प्रयोग गर्न सकिने सुविधाले ल्याण्डलाइन जडान गर्ने नयाँ ग्राहक घट्दै गएको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले जनाएको छ ।
विगत एक बर्षमा ल्याण्डलाइन प्रयोगकर्ताको सङ्ख्या १२ हजारभन्दा बढीले घटेको दुरसञ्चार प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
गत बर्ष जेठमा ६ लाख ७७ हजार ३ सय ९३ ल्यान्डलाइन ग्राहक रहेकोमा यो वर्षको बैशाखसम्म आइपुग्दा यो संख्या ६ लाख ६४ हजार ८ सय ६३ मा सीमित भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको बैशाखसम्मको तथ्याङ्कअनुसार तीन करोड ७८ लाखभन्दा बढी मोबाइल सिमकार्ड वितरण भइसकेका छन् ।
कुनै समयमा निकै चर्चामा रहेको ल्याण्डलाइन फोन हाल भने सरकारी कार्यालय तथा निजी क्षेत्रका केही कार्यालयमा मात्र प्रयोग भएको पाइन्छ । यसरी ल्याण्डलाइन फोनको प्रयोग कम हुँदै जाने हो भने एक दिन ल्याण्डलाइन फोन लोप हुने अवस्था नआउला भन्न सकिदैन ।


प्रतिक्रिया दिनुहोस्