विश्वमा कोरोनाको लहर बढेसँगै हालसम्म १ करोड ९२ लाख ९३ हजार १ सय १७९ जनामा कोरोना सङ्क्रमण भइसकेको छ । जसमा ७ लाख १८ हजार ३२६ जनाको मृत्यु भइसकेको छ भने १ करोड २३ लाख ८५ हजार ५३१ सङ्क्रमित निको भैसकेका छन् ।

भारतमा सङ्क्रमितको बढ्दो चाप

हाल विश्वमा सबैभन्दा बढी सङ्क्रमित हुने देशहरूमा पहिलो अमेरिका , ब्राजिल सँगै भारत समेत रहेको छ । बिबिसीका अनुसार पछिल्लो बिस दिनमा भारतमा करिब १० लाख सङ्क्रमित थपिएका छन् । जुन अहिले सम्ममा सङ्क्रमण वृद्धिदर अमेरिका र ब्राजिलको भन्दा बढी हो। अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० देखि २० लाख पुग्न ४२ दिन लागेको थियो र ब्राजिलमा २७ दिन लागेको थियो। भारतमा परीक्षणको दायरा बढाएसँगै सङ्क्रमण हुनेहरूको सङ्ख्या पनि निकै व्यापक रूपमा बढेको पाइन्छ ।

विश्वभरि कोभिड १९ का कारण मृत्यु हुने देशमध्ये भारत शीर्ष पाँचौँ स्थानमा छ । यससँगै सङ्क्रमितहरूको सङ्ख्या २० लाख नाघ्ने मध्येमा भारत तेस्रो देश बनेको छ । विशेष गरी दक्षिण भारतको आन्ध्र प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ । बिबिसीको अनुसार भारतमा १.३ अर्ब जनसङ्ख्यासँग तुलना गर्दा मृतकको सङ्ख्या धेरै नभएको भारतीय विज्ञहरूले जनाएका छन् । सँगसँगै भारतका केही राज्यमा प्रति १० लाख मानिसमध्ये ४०,००० जनाको परीक्षण गरिएको छ भने अन्यत्र ६,००० परीक्षण मात्रै गरिएको छ। दक्षिण भारतको आन्ध्र प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बढिरहेको छ।

भारत सरकारको कोरोना सङ्क्रमित डाटा सम्बन्धी हिचकिचाहट

भारतीय विज्ञहरूको अनुसार समुदायमा सङ्क्रमण पुग्यो भन्यो भने सरकारी नीतिको असफलता भन्ने अर्थ लाग्ने भएकोले सरकारले कटु सत्य डाटा प्रदान गर्ने हिचकिचाएको बताउँछन् । अहिले पनि भारतका आसाम, दिल्ली, महाराष्ट्रमा लगातार सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै छन् । जहाँ नेपाली कामदारहरू प्रचुर मात्रामा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ८५ प्रतिशत कोरोना केश प्रवासी कामदारहरू विशेष गरी भारतबाट आएको पाइन्छ । तर भारत सरकारले भने राजनीतिक पकड खुस्कने डरले सही डाटा सार्वजनिक नगरेको भारतकै विज्ञहरूले बताउँछन् ।

नेपालमा असर

भारतमा सङ्क्रमितको सङ्ख्या बढेसँगै नेपालमा पनि सङ्ख्या बढ्ने निश्चित नै भएको छ । भारतमा दर्जनौँ नेपालीहरू पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमितहरू थपिएसँगै भारतबाट नेपालीहरू आउने क्रम पनि जारी छ । नेपालीहरूको बाक्लो उपस्थिति रहेका भारतीय राज्यहरूमै कोरोना सङ्क्रमण उच्च देखिएको छ । जसले गर्दा नेपालीहरूमा सङ्क्रमणको जोखिम पनि बढ्दै गएको छ ।

नेपालमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा परेको आर्थिक असर

दिल्लीमा पानी पर्दा काठमान्डुमा छाता ओढ्नुपर्छ भन्ने भनाई अहिले आएर यसको अर्थ सिद्ध भएको पाइन्छ । भारतमा दिनानुदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दा नेपालमा सागसब्जी देखि लिएर सुनसम्मको भाउ बढेर आकाश चुलिएको छ । बर्सेनि नेपालले गरेको कुल अन्तर्राष्ट्रिय व्यापारको परिमाण १५ खर्ब हुन्छ । त्यसमध्ये झन्डै १० खर्ब रुपैयाँको व्यापार भारतसँग भएको नेपाल राष्ट्र ब्याङ्कको प्रतिवेदनले देखाउँछ। नेपालले आयात गर्ने कुल परिमाणको लगभग दुई तिहाइ अनि नेपालबाट निर्यात हुने कुल परिमाणको पनि दुई तिहाइ भारतसँगै हुन्छ। साथै जलविद्युतदेखि लिएर उत्पादनमूलक क्षेत्रमा भारतीय लगानीउल्लेखनीय छ। तर कोरोनाको कारण सबै ठप्प भएपछि भारतसँग सामाजिक र आथिर्क दुवै हिसाबबाट नेपाली मारको चपेटामा नै परेको पाइन्छ ।