काठमाडौं । माउन्टेन टेलिभिजन कालोसूचीमा परेको छ । प्रेस काउन्सिल नेपालले माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राखेको हो । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको चरित्र हत्या गर्ने गरी समाचार सामाग्री प्रसारण गरेको र पटक पटक काउन्सिलको निर्देशनलाई अवज्ञा गर्दै जालसाँझी र झुठा विवरण पेस गरेको भन्दै काउन्सिलले उक्त टेलिभिजनलाई कालो सूचीमा राखेको हो ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदिप पाण्डेको तर्फबाट साउन २ गते दर्ता भएको उजुरी र उक्त उजुरीको आधारमा प्रसारित सामाग्री अनुगमन गर्दा तथ्यगत पुष्टि बेगर एकोहोरो, अशिष्ट एवम् अमर्यादित रुपमा सार्वजनिक शिष्टाचार र व्यक्तिको मर्यादामा प्रतिकूल असर पर्ने गरी सम्प्रेषित उक्त सामाग्री पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) प्रतिकूल सामाग्री के, कसरी सम्प्रेषण हुन गएको हो ? भनी स्पष्टीकरण सोधेको थियो ।  उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै फेरि उजुरीकर्ताले लिखित प्रतिक्रिया पेश गरेका थिए ।

उनको उजुरीपछि काउन्सिलले टेलिभिजनलाई स्पष्टीकरण सोधेको थियो तर काउन्सिलको यो कुरालाई टेलिभिजनले अवज्ञा गरेका कारण क्षमा याचनाको आदेश दिएको थियो । तर यो आदेश पनि अस्विकार गरेपछि टेलिभिजन कालोसूचीमा परेको हो ।