काठमाडौं । सरकारले सातवटै प्रदेशमा कोरोना भाइरस (कोभिड १९)को उपचारका लागि भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा २-२ जिल्ला छनोट गरेर भेन्टिलेटर र आइसीयू बेड निर्माण गर्नका लागि २-२ करोड बजेट निकासा गरेको संसदीय ससमितिलाई जानकारी दिएको छ ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले प्रत्येक प्रदेशका २-२ जिल्लामा ४ भेन्टिलेटर र १० आइसीयू बेड निर्माण गर्नका लागि बजेट निकासा भएको जानकारी दिएका हुन् ।

ती अस्पतालमा भेन्टिलेटर र आइसीयू बेड संचालन गर्ने चिकित्सक पनि पठाउने तयारी रहेको उनले जानकारी दिए । कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएको प्रदेश २ मा २३ जना विशेषज्ञ चिकित्सकलाई पठाउन लागिएको पनि पोखरेलले जानकारी दिए । काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङको कामलाई स्थानीय तहको समन्वयमा अगाडि बढाउन लागिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै संक्रमण बढी भएका ठाउँमाट्रेसिङ गर्नेका लागि मुलुकभर एक हजार ७५ टीम पठाइएको छ ।

काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिने र कन्ट्याक्ट ट्रेसिङको कामलाई मन्त्रालयले तीव्रता दिइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ । आगामी ४० दिनमा ५० हजार व्यक्तिमा कन्ट्याक्ट ट्रेसिङ काठमाडौं उपत्यकामा मात्रै गरिन लागेको पोखरेलले उल्लेख गरे । काठमाडौं उपत्यकामा ६ हजार आइसोलेसन बेड बनाउने तयारी भइरहेको पनि उनको भनाइ थियो ।

यसैगरी आइसोलेसन सेन्टरको जिम्मा प्रदेश सरकारको जिम्मामा दिइएको छ । होम आइसोलेसन, संस्थागत आइसोलेसन र अस्पताल आइसोलेसन निर्माण गरिएको छ । लक्षण नभएकालाई होम आइसोलेसनमा राखिने, होम आइसोलेसनमा बस्न नसक्नेलाई संस्थागत आइसोलेसनमा राखिने र त्यहाँ लक्षण देखिएमा अस्पताल लैजाने व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ ।