सरकारले प्रत्येक वर्षको भदौ २५ गते एसिड आक्रमणविरूद्ध जागरण दिवसका रूपमा मनाउने निर्णय गरेको छ । एसिड आक्रमणका पीडितसँग २०७७ भदौ २५ गते प्रधानमन्त्रीले गरेको छलफलका आधारमा सो ऐतिहासिक निर्णय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए।

उनका अनुसार नेपाल सरकारले एसिड आक्रमणको कसुर सजाय र सुनवाइसम्बन्धी प्रचलित कानुनलाई संशोधन गर्ने भएको छ । भने एसिडको उत्पादन, निर्यात, आयात, बिक्रीवितरण र प्रयोगलाई नियमन गर्न नयाँ कानुनको मस्यौदा १५ दिन भित्र बनाउने छ।

त्यस्तै एसिड आक्रमणमा परेकाहरुलाई तत्कालै नजिकको अस्पतालमा उपचारको व्यवस्था मिलाउने र त्यसको सबै खर्च सरकारले नै व्यहोर्ने निर्णय गरेको छ।

साथै मन्त्रिपरिषद्ले त्रिवि शिक्षण अस्पताल, बीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर बर्न अस्पताललाई जिम्मेवार अस्पतालको रूपमा तोक्ने निर्णय पनि गरेको छ ।

एसिड आक्रमण पीडितलाई उच्च शिक्षासम्म अध्ययन गर्ने व्यवस्था सरकारले मिलाउने र क्षमता विकाससम्बन्धी तालिमका अवसरहरू लिन चाहनेलाई प्राथमिकताका साथ अवसर दिलाइने छ।