काठमाडौं । आजबाट मौसममा केही सुधार आउने बताइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार निरन्तर पर्दै आएको झरीमा सुधार आउनेछ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

हिजो र अस्ति देशभरि नै झरी परेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा आज पनि ठूलो पानी पर्ने संभावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । तर हिजोअस्तिको जस्तो लगातार झरीको संभावना भने हुनेछैन् ।

महाशाखाका अनुसार सुदूरपश्चिमबाट मौसम खुल्दै गएको छ । तर देशभरिकै मौसम पूर्णरुपमा खुल्न भने समय लाग्नेछ । आज दिउँसो केही बादल लाग्ने बताइएको छ । बादल लागेपनि निरन्तर वर्षा भने हुनेछैन् । शनिबारदेखि मौसममा पूर्ण रुपमा सुधार आउने महाशाखाले जनाएको छ ।