काठमाडौं । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले शुक्रबार काउन्सिलको बोर्ड बैठकसमक्ष राजीनामा बुझाएका हुन् । काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति काउन्सिलको बैठक बसेको थियो ।

३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । २०६२/०६३ को आन्दोलनपश्चात प्रेस काउन्सिलको सदस्यका रूपमा नियुक्त श्रेष्ठलाई सरकारले पटक पटक सदस्यमा नियुक्त गरेको थियो । काउन्सिलको पदावधि ४ वर्षको हुने व्यवस्था छ । श्रेष्ठको ४ वर्षे कार्यकाल आउँदो असोज १२ मा सकिँदै छ ।

‘तीन वर्षदेखि पदीय हिसाबले कार्यकारी भूमिका निर्वाह गरेको अवधि तपाईं–हाम्रा निम्ति कठिन थियो । प्रेस काउन्सिल मात्र होइन, समग्र पत्रकारिता जगतको स्वतन्त्रताको जगेर्ना र हित प्रवद्र्धनमा सुरुदेखि नै सङ्घर्ष गर्दै आउनुपरेको क्षण अत्यन्तै रोमाञ्चक र चुनौतीपूर्ण रह्यो ।’ श्रेष्ठले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

श्रेष्ठको राजीनामासँगै काउन्सिलको कार्यवाहक अध्यक्षमा अब गोपाल बुढाथोकी चयन भएका छन् । उनी विगतदेखि नै काउन्सिलको सदस्य रहँदै आएका थिए । बैठकले प्रेस काउन्सिल ऐन, २०४८ बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो । उनले आजै पदभार ग्रहण गर्नेछन् । उनी साँघु साप्ताहिकका सम्पादक हुन् ।