बझाङको मष्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झना कामी मिति २०७७ असोज ७ गते बुधबार साँझ साढे ५ बजे घरबाट गाई र गोरु गोठभित्र बाँध्न निस्केकी थिइन् । तर उनी कहिले पनि फर्किनन् । किनकी बलात्कारीले बलात्कारपछि उनको हत्या गरिदिएको थियो । सुन्दानै क्रुर लाग्ने उक्त घटनाले फेरी एकपटक हाम्रो समाजको तितो यथार्थ उजागर गरेको छ।

बलात्कार जस्ता जघन्य अपराध हामीले दिनदिनै सुनिरहेका छौँ। वास्तवमा यस्ता दानवीय प्रकृतिका घटनाहरु सुन्दा हामी आक्रोशित हुन्छौं तर नियमनकारी निकाय मुकदर्शक भएर बसेको अनुभुति हुन्छ । समाजमा पछिल्लो समय लगातार बलात्कार जस्ता अपराधहरु बढेका छन् । आज देशमा छोरीचेलीको सुरक्षाको विषयलाई लिएर पुनः एक पटक मात्र होईन बारम्बार घोत्लिएर सोच्नुुप्रर्ने भएको छ । किनकी यी घटनाक्रमले के देखाउँछ भने हाम्रा छोरी चेलीहरु कहिकतै सुरक्षित छैनन् ।

निर्मला पन्तले न्याय नपाउँदै हजारौं चेलीहरु बलातकृत भएका छन् र यो क्रम आजको दिनसम्म पनि चलिरहेको छ । जो एकजना अभिभावक आफ्नो छोरीको सुरक्षालाई लिएर कहीँकतै ढुक्क हुन सक्दै सक्दैन किनकि विद्यालयमा, कार्यस्थलमा जताततै महिलाहरु असुरक्षित छन् । यस्ता घटनाले समाजमा पुनः यस्ता खाले प्रश्न आएका छन् –

के यो समाज बाङ्गा बलिया पुरुषहरुको मात्र हो त ?

आधा आकाश ढाक्ने भनिने मातृत्वको कुनै अस्तित्व छैन ?

अस्तित्व छ भने किन आज महिलाहरु पुरुष समान स्वतन्त्र जीवन वाच्न सकिरहेका छैनन् ?

समानताको नारा लगाएर नथाक्ने कम्युनिष्ट सरकारले जनमुखी र परिणाममुखी नतिजा दिन किन सकिरहेको छैन ?

बलात्कार जस्तो जघन्य अपराध गर्ने अपराधीलाई वास्तवमा कडा कानुनी दायरामा ल्याउनैपर्छ । आज कोही कतै ढुक्क हुनै सकिरहेका छैनन् । यस्तो त्रासमा मानिस कसरी स्वतन्त्रपूर्वक बाँच्न सक्छ र र एक सक्षम नारी आज समाजका कुनैपनि क्षेत्रमा आफूलाई सुरक्षित अनुभूति गर्न सक्दिनन् किनकि यहाँ विभिन्न उमेर समूहका बालिका बलात्कृत भएका छन् । बलात्कारीले उन्मुक्ति पाउने दृष्टान्तले गर्दा घटना घट्नुको सट्टा उल्टो बढेको पाउन सकिन्छ ।

यो वर्ष देशभरी १ हजार १ सय ३७ बलात्कारका घटना प्रहरीमा पुगेका छन् । अघिल्लो वर्ष १ हजार ८१ वटा बलात्कारका घटना भएका थिए । यो तथ्यांकले हरेक दिन देशमा तीन भन्दा धेरै बलात्कारका घटना हुने गरेको देखाउँछ।

समाजमा घट्ने सामाजिक समस्या यी यस्ता जघन्य आपराधिक क्रियाकलापलाई दीर्घकालीन निराकरणको लागि राज्य वास्तवमै निकै जिम्मेवार बन्नुपर्छ । कानुनी रुपमा घटनालाई दुरुत्साहन गर्नको लागि कानुन निर्माण कार्यान्वयन गरिरहेको छ । तर परिणाम झन् झन् बढिरहेको छ । त्यसो भए हामीले पुनः कठोर व्यवहारिक समय सान्दर्भिक दिशामा अगाडि बढ्नुपर्छ र बलात्कारीलाई मृत्युदण्ड सम्मको कठोर सजाय दिनुपर्छ भनेर व्यापक जनदबाब आइरहेको हुन्छ । तर नेपालको कानुनी प्रावधानमा मृत्युदण्डलाई पूर्णरुपमा बन्देज गरिएको छ । जसको कारण मृत्युदण्ड सम्मको कानुनी दायरा बनाउन सकिँदैन । मौजुदा कानुनमा बलात्कारीलाई अधिकतम जन्म कैद सजाय व्यवस्था गरेको छ तर यति मात्रैले हुदैन भन्ने स्पष्टरुपमा परिणम आईसकेको छ ।

विश्वमा बलात्कारीलाई सजाय गर्ने देशअनुसार फरक फरक तरिका रहेको छ । जसअन्तर्गत चीनमा बलत्कारीलाई फाँसी दिएर सजायँ दिइन्छ । इरानमा पनि फाँसी दिईन्छ । उत्तर कोरियामा गोली हानेर सजाय दिइन्छ । अफगानिस्तानमा बलात्कार भएको चार दिन भित्र गोली हानेर मारिन्छ, जसअन्तर्गत पीडितको हातबाट सजाय दिइन्छ । त्यस्तै साउदी अरबमा बलात्कारीलाई त्यहाँको सरिया कानुन अन्तर्गत सार्वजनिक स्थानमा घाँटी रेटी वा ढुंगाले हानेर मारेर सजाय दिइन्छ । इजिप्टमा सार्वजनिक स्थानमा बलात्कारीलाई फाँसी दिइन्छ। भारतमा जेल र फासी दुबै दिने कानुन भएको छ ।विश्वमा नेपाल बलात्कार हुने देशको १०६ औं स्थानमा पर्दछ ।

भनिन्छ परिवार मानिसको पहिलो पाठशाला हो । जीवनको मार्ग निर्देशन पनि । तर परिवारमा हामीले नैतिकता, आचरण, बानी व्यहोरा छोराछोरीलाई सिकायौ र आफु पनि कति नैतिकवान छौ भन्ने कुरा प्रमुख रहन्छ । छोराछोरीको दृष्टिकोणमा आमाबुबा आदर्श प्रेरणाको श्रोत भएकोले आमाबुबा पनि नैतिकवान असल हुनुपर्छ ।

वास्तवमा नेपालमा पनि बलात्कार जस्ता जघन्य अपराधमा दोषीलाई कडा कानुनी सजाय दिनुपर्छ भन्नेमा कसैको दुईमत छैन । विश्वमा जहाँ कडा कानून रहेका देशहरु छन् त्यहाँ वास्तवमा बलात्कारको संख्या पनि धेरै कम पाउन सक्छौँ । यसबाट के स्पष्ट हुन्छ भने कानूनी दायरा कमजोर भएको कारणले समाजमा दिनप्रतिदिन यस किसिमका अमानवीय घटना घटिरहेका छन् । बलात्कार भन्ने कुरा नेपालको मात्र समस्या होइन । यो विश्वकै जटिल समस्याको रुपमा रहेको छ । अनुपातमा कहीँ धेरै होला कतै थोरै होला तर बलत्कार जताततै भइरहेको छ ।

नेपालमा भर्खरै एसिड सम्बन्धी एउटा बलियो कानुन बन्यो जो वास्तवमा कोसेढुङ्गा नै सावित भएको मान्नुपर्छ र बलात्कारको केसमा पनि सरकारले एउटा ऐतिहासिक निर्णय लिने बेला कदापि ढिला गर्नुहुँदैन । किनकी सदन र सरकारमा राम्रो वातावरण भएको सरकारले चाहेमा बलात्कार जस्तो विषयमा एउटा ऐतिहासिक कदम चाल्न सक्छ तर दुर्भाग्य हाम्रा दिदी बहिनी बलात्कृत भईरहेका छन् तर सरकार जनताका समस्या सुन्नै चाहँदैन । हामी युवाहरुले कडा कानून निर्माणको लागि चौतर्फी रुपमा दबाब सिर्जना गर्नुपर्छ ।

नेपालले संयुक्त राष्ट्रसङ्घको मानव अधिकार घोषणा पत्रमा गरेको मृत्युदण्ड विरुद्धको हस्ताक्षरबाट बाहिरिएर यस्ता जघन्य आपराधिक क्रियाकलापलाई निराकरण गर्नको लागि मृत्युदण्ड सम्मको कानुनी प्रक्रियामा अगाडि बढ्नुपर्छ ।