बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बढ्दो कोरोना भाइरससँग जुध्नका लागि नयाँ उपायहरूलाई केही समय लाग्ने बताएका छन्।

आफ्नो ब्रिफिङमा प्रम जोनसनले कोरोनाका कारण बेलायत ‘गम्भीर क्षणमा’ रहेको बताउँदै संक्रमण र सोका कारण हुने मृत्युमा भइरहेको वृद्धिले आफ्ना योजनाहरू महत्वपूर्ण भएको बताए।

उनले आवश्यक परेमा आफू थप प्रतिबन्धहरू लगाउन नहिच्किचाउने पनि बताए। 
त्यसैगरी प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भालान्सले भने- ‘अहिले यो हाम्रो नियन्त्रणमा छैन।’

‘यहाँ यो समयमा सन्तुष्ट हुनुपर्ने कुनै कारण छैन’, उनले थपे।

यो भनाइ बेलायतमा ७ हजार १ सय ८ संक्रमित थपिएको र सोका कारण ७१ जनाको मृत्यु भएको अवस्थामा आएको छ।

गत साता जोनसनले  राति १० बजेपछि पब, बार र रेष्टुरेन्टहरू बन्द गर्नुपर्ने र विवाह समारोहमा १५ जना भन्दा बढी मानिसहरू उपस्थित हुन नपाउने प्रतिबन्धको घोषणा गरेका थिए।

त्यसयता, स्थानीय लकडाउनहरू लागु भएका छन्।

डाउनिङ् स्ट्रिटमा भएको प्रेस भेटघाटमा आगामी अवस्थाको बेलायतले आत्मविश्वासका साथ सामना गर्ने बताए। मार्च महिनाको भन्दा राम्रो तयारीमा रहेकाले आत्मविश्वासका साथ खडा हुने दाबी उनको दाबी छ।