काठमाडौं । बाँकेको बैजनाथ गाउँपालिका ५ जिगाँउमा हिजो साँझ फोर्स गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ५ प ६९२६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु २ ख ४४८० नम्बरको फोर्स गाडीले पछाडीबाट ठक्कर दिएको हो । गम्भीर घाइते भएकी मोटरसाइकलमा पछाडी सवार कैलालीको टिकापुर नगरपालिका १ की ३७ वर्षीया देवी लम्सालको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

कैलालीकै टिकापुर नगरपालिका १ घर भएका ४६ वर्षीय रेशमलाल लम्सालको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र फोर्स गाडी चालकलाई प्रहरी चौकी सम्झनाचोकले नियन्त्रणमा लिएको छ ।

यस्तै सप्तरीको बोदेबरर्साइन नगरपालिका ५ सत्रुधनचोकमा हिजो बेलुकी ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकल चालक स्थानीय २३ वर्षीय सुजित यादवको घटनास्थलमै मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार २३ वर्षीय टुनटुन भन्ने धमेन्द्र यादवलाई उपचारका लागी धरानतर्फ पठाइएको छ । मानराजाबाट बरर्साइनतर्फ जाँदै गरेको स १ त ४६९३ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको अनटेष्ट मोटरसाइकलाई ठक्कर दिएको हो । सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने ट्याक्टर चालक फरार रहेकोले खोजी भइरहेको छ ।