काठमाडौं । नेपालमा ट्राफिक नियम पालना नगर्दा दैनिक सवारी दुर्घटनाहरु हुने गरेका छन् ।

विशेषगरी सहरी क्षेत्रमा दैनिक सवारी दुर्घटनाहरु बढने गरेका छन् ।

यस्तो दुर्घटनाको मुख्य कारण ट्राफिक नियमको पालना नगर्नुलाई मुख्य रुपमा हेर्ने गरिन्छ ।

यस्तो नियमले पैदल यात्रुलाई र सवारी चालकलाई अलमलमा राखेको पाइन्छ ।

काठमाडौं उपत्यकामा त ट्राफिक दुर्घटनाहरु झनै बढिरहेको अवस्था छ ।

सवारी साधन र पैदल यात्रुहरुको सहजताका लागि उपत्यकामा प्राय ठाउँमा ट्राफिक बत्तीको व्यवस्था गरिएको हुन्छ ।

सहरका मुख्य सडकहरुमा जेब्रा क्रसको पनि व्यवस्था छ ।

सामान्य नियमअनुसार ‘रातो बत्तीमा रोकिने, पहेँलोमा तयारी अवस्थामा रहने र हरियोमा हिड्ने’ सबैलाई अवगत नै हुन्छ ।

अपवादका रुपमा यो नियम बुझेर पनि पालनामा भने कुनै अवस्थामा समस्या आउन सक्छ ।

सवारी साधनका लागि जेब्रा क्रस गर्नुभन्दा अघि हरियो बत्ती बलेको हुन्छ तर जब सवारी साधन जेब्राक्रसमा पुग्नेबित्तिकै रातो बत्ती बल्यो भने यस्तो अवस्थामा के गर्ने ?

हामीले ट्राफिक प्रहरीसँग यो विषयमा कुरा गरेका छौं ।

ट्राफिक प्रहरीका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार,

‘यस्तो अवस्थामा सवारी जुन ठाउँमा छ त्यही ठाउँमा रोकिनुपर्ने हुन्छ ।

ट्राफिक बत्ती कतिबेला रातो बल्छ, कतिबेला हरियो बल्छ भन्ने विषयमा ट्राफिक प्रहरीले इसारा गरिरहेको हुन्छ’, उनले भने, ‘यस्तो अवस्थामा अगाडि बढ्न मिल्दैन ।’

त्यस्तै महानगरीय प्रहरी प्रभाग, गौशालाका प्रहरी सहायक निरीक्षक (असई) कमलदेव यादवका अनुसार,

बाटो क्रस गर्दा पैदल यात्रु र सवारी दुवैको हकमा यो नियम लागू हुन्छ । उनले भने, ‘यदि यात्रुका लागि ट्राफिक बत्ती हरियो बलिरहेको छ भने यात्रुले सहजै बाटो क्रस गर्न पाउँछन् ।

त्यसको ठ्याक्कै सवारी साधनमा पनि यही नियम लागू हुन्छ’, उनले भने, ‘तर दुबैको हकमा बाटो क्रस गर्दैगर्दा रातो बत्ती बल्यो भने सोही ठाउँमा नै रोकिनुपर्ने हुन्छ ।

अन्यथा यस्तो अवस्थामा सो घटनाको जिम्मेवार सम्बन्धित व्यक्ति नै हुनुपर्ने हुन्छ ।’