काठमाडौँ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रहेका भानुभक्त ढकालले मन्त्री मण्डल पुनर्गठन पछि आज नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण लगत्तै मन्त्रालयले राखेको स्वागत कार्यक्रममा नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ढकालले मन्त्री बदलिए पनि सरकार र सरकारको नीति नबदलिएकाले लक्ष्यमा केन्द्रित भएर ढुक्कसँग काम गर्न निर्देशन दिएका छन्

उनले आफू कुनै अतिरिक्त लाभ र सुविधामा लालायित हुने व्यक्ति नभई सधैँ काम र परिणाममा विश्वास राख्ने भएकाले त्यसै अनुसारको सहयोग गर्न आग्रह गरे ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले अपवादबाहेक निर्णय कार्यान्वयन र समयमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।

उनले निर्वाचन घोषणा भइसकेको अवस्थामा फरक आस्था र राजनीतिक रङको आधारमा मन्त्रालयको काम, अनुशासन र सेवा प्रवाहमा असर पर्न नदिने तर्फ सजग हुन मन्त्रालय मातहतका कर्मचारीलाई आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले यसअघि कानुन, न्याय तथा संसदीय मामिला र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारी समाली सकेका छन् ।

मन्त्री ढकाललाई स्वागत गर्दै मन्त्रालय र मातहत रहेका विभाग तथा निकाय प्रमुखहरूले संस्थाको संस्थागत परिचय र संक्षिप्त कार्य प्रगतिबारे जानकारी गराए ।