हेल्लो सुमन ! हिजोको तिम्रो डान्स त बवाल थियो । कङ्ग्राचुलेसन ! सरूले मुसुक्क हाँस्दै भनी ।

थ्याङ्क्यू सरू’ सुमनले पनि हँसिलो अनुहार पार्दै भन्यो ।
सुमन र सरू सहपाठी थिए । कलेजको वेलकम प्रोगाममा नव आगन्तुक विद्यार्थीको तर्फबाट सुमनले दमदार नृत्य प्रस्तुत गरेको थियो । सुमनको बोली र व्यवहार दुबै राम्रो थियो । पढाइमा पनि उत्तिकै तेज । पातलो अग्लो शरिर, गोरो अनुहार । अझ उसको हाँसेर बोल्ने बानीले त कलेजका धेरै केटीहरू मोहित हुन्थे । कलेजमा सबै साथीहरूसंग समान व्यवहार गर्ने ऊ छोटो समयमै सबैको प्रिय बनेको थियो । केटा हुन् कि केटी उसको व्यक्तित्वमा अनुरक्त नहुने कोही थिएनन् ।

सुमनको पुर्ख्यौली घर स्याङ्जा थियो । स्याङ्जाको घरमा हजुर बुवा र हजुरआमा मात्रै बस्थे । बाबा दिल्लीमा जागिरे भएकाले उनीहरू पनि बाबासंगै थिए । दिदीको विवाह भैसकेको थियो । सुमनले प्लस टुसम्म दिल्लीमै पढ्यो । प्लस टु सके लगत्तै ऊ नेपाल आयो । उसले अब म नेपालमै बसेर पढ्छु भनेर जिद्धि गर्यो । उसको जिदका अगाडि कसैको केही लागेन । नेपालको शिक्षाप्रति उसले अनौठो मोह देखाएको थियो । ऊ खुल्ला आकाशमा स्वतन्त्र भएर रम्न चाहन्थ्यो या साच्चै नेपाली माटोको माया थियो ? उसको लक्ष्य के थियो ? कसैलाई थाहा थिएन । घरको एउटा छोरा संगै राखेर पढाउन आमाबाबुले सक्दो कोसिस गरे तर मनाउन सकेनन् । सुमनले नै जित्यो । उसले काठमाडौं गएर शंकरदेव कलेजमा बी.बी.ए मा भर्ना भयो । उसको पढाइ शंकरदेवमा र बसाइ भने कीर्तिपुरमा थियो ।

सुमन बिहान कलेज जान्थ्यो भने दिउँसोको समयमा डान्स तथा सङ्गीत सिक्दै थियो । ड्रामा र एक्टिङ पनि उसका रूचिका विषय थिए । बाबा आमाले सधैं पढाइ, पढाइ भनेको भएर पनि ऊ नेपाल बसेर स्वतन्त्र रूपमा आफ्ना इच्छा पूरा गर्न चाहन्थ्यो । नेपाल मै पढ्ने तीव्र लालशाका पछि सायद यही कुरा हुनुपर्छ उसको मनमा । तर परिवारलाई ऊ पढाइको कुरामात्र गरेको थियो । “सुमन तिमी अरूभन्दा एस्ट्रा छौ, यू आर गुड व्वाय ।” अर्जुन सरले धाप मार्दै पटपक पटक भनेका थिए । सरको त्यो कुराले ऊ फुरूङ्ग हुन्थ्यो । हिजोको वेलकम प्रोग्रामको डान्समा साथीहरुबाट पाएको तारिफले ऊ मख्ख थियो । कलेजमा बीबीए फस्ट सेमेस्टरमा ५० जना विद्यार्थी थिए तर कक्षामा रेगुलर आउने भने ३० जतिमात्र हुन्थे । कक्षामा सर भएका बेला सबै चुपचाप बस्थे । सुमनलाई पढ्ने बेलामा खासखुस कुरा गरेको पटक्कै मन पर्दैनथ्यो । नबुझेको कुरा ऊ धक नमानी सोध्थ्यो त्यसैले पनि सरहरूले मन पराउँथे । सरू, निरज र सुमन एउटै बेञ्चमा बस्थे । सरूको घर गैडाकोट थियो । ऊ घरकी एक्ली छोरी थिई । निरज पाल्पाबाट पढ्नैका लागि काठमाडौं आएको थियो । तीन जनाको दोस्ती खुब जमेको थियो । गुण, रुप र पढाइ सबैमा उम्दा सुमन त झन् सबैको प्यारो थियो ।

माघको चिसो ज्यादै बढेको थियो । बिहान अबेरसम्म सिरक छोड्न मनै नलाग्नी ! राति पिसाब लागेपनि उठ्न अल्छी गरेर सुतिरहने उसलाई कलेजको छ बजेको क्लासले भने तह नै लगाएको थियो । कोठामा उसलाई उठाउने कोही थिएन । कहिले काहीँ त ऊ १० बजेसम्म उठ्दैनथ्यो । साथीहरूको कल आउँदा पनि मोबाइल अफ गरेरै सुत्थ्यो । कहिले कलेज आउँदा पहिलो पिरियड छुटिसक्थ्यो । जाडोमा छिटो उठ्न नसक्नुले उसका धेरै कक्षाहरू छुटेका थिए । छुटेको कक्षाको नोट भने सरूले बनाइदिन्थी । ढिलो उठ्ने बानी उसले परिवर्तन गर्नै सकेको थिएन । बागबजारको अद्वैत मार्ग, एकदमै साँघुरो र व्यस्त सडक, बिहान तरकारी व्यापारीले गर्दा झन व्यस्त देखिन्थ्यो । उनीहरू सडक छेवैको क्याफेमा गए । कफी पिउँदै उनीहरू गफै गफमा सुमनलाई अल्छी भन्दै जिस्काउन थाले । उसले यो मेरो खराब बानी हो भन्दै साथीहरूको कुरामै सहमती जनायो ।

“सुमन भोलि शनिबार नगरकोट जाऊँ न !”सरूले भनी । निरजले पनि त्यसमा उकास्यो ।“को को जाने हो र ?” सुमनले सोध्यो । “ हामी चारजना जाऔँ न,अञ्जुलाई पनि भनौँ ।” सरूले भनी । सुमनको अन्यमनस्कता देखेर सरूले फेरि जिस्काउँदै भनी “तिमीलाई अपहरण गर्न लाने त हैन नि किन टोलाएको हँ ?” सरूको कुराले सुमन झसङ्ग भयो ।“ सबै जाने भए जाऊँ न त ।” उसले सहमती जनायो । यतिबेला कलेजमा चौथो घण्टी बजिसकेको थियो । भोलिबिहान ७ बजे रत्नपार्कमा भेट्ने बाचा गर्दै उनीहरू कक्षातिर लागे ।

आज ऊ सात नबज्दै रत्नपार्क आइसकेको थियो तर अरु साथीहरू भने आइपुगेकै थिएनन् । रत्नपार्कमा निकै चहलपहल बढिसकेको थियो । ट्याम्पो वाला कराउँदै थिए– त्रिपुरेश्वर, कालीमाटी, कलङ्की । अर्को खलासीले भन्दै थियो–अनामनगर, थापागाउँ, बानेश्वर । सुमनले सोच्यो–“सायद दुई घण्टा पनि निदाउँदैन होला यो शहर ! कति दुःख गर्न सक्छ मान्छे ! न घाम न पानी, न दिन न रात, केही पर्वाह छैन । आफूलाई मेसिन जस्तै बनाएका मान्छेहरूले कति कमाउँलान् ? ऊ त्यसै त्यो भीडमा एकछिन हरायो । ३-४ बजेदेखि व्यस्त रहने यो पार्क र मान्छेको सक्रियता हेर्दा आफू अल्छी भएको महसुस पनि भयो उसलाई ।

“सरी सुमन हामीले ढिला गर्यौं” सरूले भनी । उनीहरू तिनैजना संगै आएका थिए । उनीहरूले ट्याक्सी रिजर्व गरेर नगरकोट गए । यो सबैकालागि नौँलो अनुभूति थियो । कलेजमा हाई हेल्लो मात्र भएको उनीहरू बिच अब भने आत्मीयता बढ्दै थियो । सरू सुमनसँग अलि बढी नजिक हुन खोज्दै थिई । सुमनलाई भने यो बिषयमा ख्यालै थिएन । ऊ सबैलाई उस्तै व्यवहार गर्थ्यो । ट्याक्सी आफ्नै गतिमा अगाडि बढ्दै थियो । “मलाई त टाउको दुख्यो । कस्तो वाक् वाक् लागिराछ ।” एक्कासी सरूले भनी । अञ्जुले टाउको समाइदिदै भनी “औषधी खानुपर्छ नि हिड्ने बेलामा ” सरूले टाउको ढल्काएर आँखा चिम्ली । घरिघरि सरूको टाउको सुमनको काँधमा पुग्थ्यो । त्यतिबेला ऊ लाजले मुख रातो बनाउँथ्यो । साच्चै ऊ केटीभन्दा बढी लजाउँथ्यो । कस्तो अबोध अनुहार ! अनि निश्छल व्यवहार ! अञ्जुले मनमनै सोची ।

उनीहरू सहजै नगरकोट पुगे । टलक्क टल्किएको हिम श्रृङ्खला र मन्दिरै मन्दिरको शहर काडमाडौंको दृश्य साच्चै लोभ लाग्दो थियो । सुमनले पार्कको वरिपरि नियाल्यो । दुनियासँग वेमतलव प्रेमिल जोडाजोडी देखेर सुमन विस्मय र लज्जाले भुतुक्क भयो । त्यसपछि ऊ टावरबाट तल झर्यो । उनीहरू पनि दुईदूई चार भएर त आएका थिए तर उनीहरू केवल भर्खरै चिनजान र सम्पर्कमा आएका साथीहरू मात्र थिए, प्रेम जोडी थिएनन् । यहाँका दृश्यले सुमन वेहद् लज्जा र असहजतामा आइसकेको थियो । त्यति नै बेला निरजले जिस्काउँदै भन्यो “धन्न हामी जोडी भएर आएछौँ है ! नत्र त लाजै हुँने रैछ ।’ सुमनले केही रिसाए झैँ गरी निरजको मुखमा पुलुक्क हेर्यो । ठट्टा गरेको है साथीहरू भन्दै निरजले आफूलाई सच्यायो । चौरमा बसेर गफ गर्दै पकौडा, बदाम, आलु चिप्स चकलेट आदि खाएपछि निरजले एकछिन नजिकै यसो दृश्यवलोकन गर्न जाने आग्रह गर्यो । सुमनले घाम तापेर त्यही बस्ने भनेपछि निरज र अञ्जु घुम्न निस्किए । सुमन एक्लै कसरी छोड्ने ? म यतै बस्छु भनेर सरू त्यही बसी ।

“आई लभ यू सुमन !” सरूले बिस्तारै सुमनको हात समातेर भनी । आफ्नो हातबाट सरूको हात हटाउँदै उसले भन्यो ,“के भनेको सरू ? तिमी यस्तो कुरा नगर न ! मेरो मनमा यो विषयमा कुनै सोच छैन अहिले । ” “हाहाहा ! तिमी डरायौ है ? मैले त जोक पो गरेको ।” सरूले हाँस्दै भनी । सुमनले लामो सास फेर्दै भन्यो– ,“यस्तो कुरामा पनि जोक गर्छन् त ?” “सरी सुमन नरिसाऊ न । बरू भन जीवनमा के बन्ने लक्ष्य छ तिम्रो ?” सरुले भनी । “मलाई अभिनयमा रूची छ, हेरौँ समयले कत्तिको साथ दिन्छ ।” उसले भन्यो । “ए ! तिम्रो नेपालमै बस्ने विचार छ त्यसोभए ?” सरूले उत्सुक हुँदै सोधी ।

उसका कुरा सुनेर सुमनले एकछिन रोकिएर बिस्तारै भन्यो,“ हो सरू ! म सकेसम्म यतै बस्छु । बाहिर जाने इच्छा छैन ।” सुमनका कुरा सुनेर सरूले भनी, “मलाई त बी.बी.ए. जोइन गर्ने मनै थिएन । बाबाको करले मात्र एड्मिट गरेकी हुँ । यहाँ पढेर नि के गर्नु छ र ? राम्रो जागिर पाइँदैन । पाएपनि स्यालरी निकै कम छ । हाम्रो लाईफ स्टाईल सोचेजस्तो हुँदैन । दुःख गरेर पढ्नी आखीर कमाउनैका लागि त हो नि । बरू उमेर छदै कमाउन सकियो भने बुढेसकालमा दुःख गर्नु पर्दैन । मैले आएल्स क्लास जोइन गरिसकेकी छु । राम्रो नम्बर आयो भने अस्ट्रेलिया जाने मन छ ।” सरूले आफ्नो लक्ष्य स्पस्ट बताई । तर उसका कुराले सुमनलाई खासै प्रभाव पारेन ।

सरू ! नेपालमा पनि धेरै सम्भावनाहरू छन् । हामी यही बसेर पनि धेरै काम गर्न सक्छौँ । अर्को कुरा आफ्नो देशमा परिवारसंगै बसेर काम गर्दा कम पैसा पाएपनि सन्तुष्टि मिल्छ । आफ्नो माटो भनेको आफ्नै हो । म त यतै बस्छु ।

“ सरू ! नेपालमा पनि धेरै सम्भावनाहरू छन् । हामी यही बसेर पनि धेरै काम गर्न सक्छौँ । अर्को कुरा आफ्नो देशमा परिवारसंगै बसेर काम गर्दा कम पैसा पाएपनि सन्तुष्टि मिल्छ । आफ्नो माटो भनेको आफ्नै हो । म त यतै बस्छु ।” उसले पनि आफ्नो कुरा बतायो । त्यो दिन उनीहरूले एक अर्काको परिवार र जीवनको लक्ष्यमा केन्द्रित भएर लामो कुराकानी गरेका थिए । यसबाट उनीहरूले एकअर्काका बारेमा धेरै जान्ने अवसर पनि पाए । घण्टौँ बितेको पत्तै भएन ।

“ए सुमन ! अब फर्किने होइन ?”अञ्जु टाढैबाट कराउँदै आई । “जो चोर उसैको ठूलो स्वर ! तिमीहरू कै कारणले त ढिला भएको हो नि !” सरूले तुरून्त जवाफ फर्काई । “अब घर जाऊँ है , निकै ढिला भइसक्यो ।” सुमनले भन्यो । साथीहरू फर्किन हतार मानेको देखेर निरजले ट्याक्सी खोजेर ल्यायो । सबै रमाइलो कुराकानी गर्दै नगरकोटलाई विदाई गर्दै फर्किए ।

समय बित्दै गयो । पहिलो सेमेस्टर पनि सक्कियो । सरूको आएल्सको रिजल्ट आएको थिएन । अर्को हप्ताबाट दोस्रो सेमेस्टरको पढाइ सुरू हुँदै थियो । यहि मौकामा ऊ घर गई । आफूले आएल्सको परीक्षा दिएको र राम्रो नम्बर आए अस्ट्रेलिया जाने कुरा गरी । यो कुरामा आमा सहमत भइनन् । सरूले जिद गरेपछि विवाह गरे पठाउने सर्त आमाले राखिन् । आमाको मन न हो ! छोराछोरी जति ठूला भएपनि सानै देख्ने । घरको जेठो सन्तान थिई ऊ । धेरैबेर सम्झाई फकाई तर आमा एक्लै जाने कुरामा सहमत भइनन् । भाइ कक्षा १० मा पढ्दै थियो । ऊ यो विषयमा खासै बोलेन । सरू सानैदेखि अलि जिद्धी स्वभावकी थिई । आफ्नो निर्णय सकेसम्म बदल्दैनथी । उसले मनमनै सोची विवाह गरेरै भएपनि म जानेछु ।

एकदिन घरमै हुँदा मामाले विवाहको कुरा लिएर आए । उसले केटाका बिषयमा केही कुरा नसुनी अस्वीकार गरिदिई । केटा धनगढीको थियो । भाञ्जीले कुरा नसुनेपछि के कुरा अगाडि बढाउनी भनेर मामा फर्किए । आमा बावुले कर गर्न पनि सकेनन् । एकहप्ता यसै बित्यो । दोस्रो सेमेस्टरको पढाइ सुरू भयो । सरू काठमाडौं फर्किई

शनिबारको दिन थियो सरूले सुमनलाई फोन गरेर कीर्तिपुर आउँदैछु भनी । सुमनलाई चोकमा लिन बोलाई । दुबैजना कोठामा गए । कोठामा सामान लथालिङ्ग देखेर सरूले जिस्काउँदै भनी ! “केटाहरूको कोठा त हेर्न लायक हुँदैन ! साह्रै अल्छी छौ तिमी । सरूले सबै सामान मिलाएर कोठा सफा गरी ।

“केही काम थियो कि सरू” सुमनले सोध्यो । “एउटा कुरा सेयर गर्न मन लागिराथ्यो कलेजमा पनि टाईम नै नमिल्नी त्यसैले आज यतै आएँ म त । तिमी भन्दा नजिकको साथी अरू को छ र मेरो ?”सरूले अलि भावुक हुँदै भनी । “मेरो पनि त तिमीहरू बाहेक को छ र यो शहरमा ? के कुरा हो भनन ?” सुमनले सान्त्वना दिदै भन्यो ।

एउटा कुरा ! हामीले छ महिना प्रयोग गर्ने सामान त छ पटक हेछौँ । धेरै पसलमा गएर छान्छौँ । मिले नमिलेको लगाएर विचार पनि गछौँ । साथीलाई देखाएर सोध्छौँ – मलाई कस्तो देखिएको छ ? भने पूरै जिन्दगी बिताउँने जीवनसाथीको निर्णय छ घण्टा पनि नबुझी यति सजिलै कसरी गर्न सक्छौँ ?

“मेरो घरमा बिहेको कुरा चलिराछ । चिन्दै नचिनेको मान्छेसँग म कसरी विवाह गरौँ ? तिमी नै भन न ? मामाले पनि धनगढीको केटाको कुरा ल्याउनु भाथ्यो । मैले त सिधैं नो भन्दिएँ । अब मेरो रिजल्ट पनि आउँने बेला भयो । आमा विवाह नगरी विदेश जाने कुरामा असहमत हुनु भो । मैले उहाँको मन दुखाएर विदेश जानु पनि हुँदैन । मैले आफूलाई रोक्नपनि सक्दिन ।

एउटा कुरा ! हामीले छ महिना प्रयोग गर्ने सामान त छ पटक हेछौँ । धेरै पसलमा गएर छान्छौँ । मिले नमिलेको लगाएर विचार पनि गछौँ । साथीलाई देखाएर सोध्छौँ – मलाई कस्तो देखिएको छ ? भने पूरै जिन्दगी बिताउँने जीवनसाथीको निर्णय छ घण्टा पनि नबुझी यति सजिलै कसरी गर्न सक्छौँ ? न चिनजान छ, न कुनै गाढा सम्बन्ध ? म अन्जान मान्छेलाई जीवनसाथी बनाउन सक्दिन । उसले खुसी दिन सक्छ भन्ने के ग्यारेन्टी छ ? हाम्रो विचार नमिल्न पनि त सक्छ नि ! प्लिज सुमन केही आइडिया निकाल न ।” यति भन्दा उसका आँखा अश्रुपयोधि भइसकेका थिए ।

“ प्रकृतिको नियम अनौठो छ । संसारमा अरबौं मान्छे फरक अनुहार, फरक क्षमता, फरक मन, फरक विचार लिएर जन्मेका छन् । तिम्रो कुरा ठीकै हो सरू तर हाम्रो संस्कृति पनि त त्यस्तै छ नि । मेरो हजुर बुवाले एघार बर्षमै विवाह गर्नुभएको रे ! बुवाले अठार बर्षमा । हजुरआमा दश बर्ष र आमा पन्ध्र बर्ष हुनुहुन्थ्यो विवाह गर्दा उहाँहरूले नै भन्नुभएको । त्यतिबेला केटा केटी हेर्ने चलन थिएन । बावुले गरेको एकल निर्णयमा विवाह हुन्थ्यो । अझैपनि उहाँहरू हुनुहुन्छ । सम्बन्ध राम्रै छ क्यारे ! आजकल लब म्यारिज पनि दुई चार बर्षमै डिभोर्स भएका घटना हाम्रै अगाडि छन् ।एउटै हातका औंला पनि लामा छोटा छन्, एउटै पेटबाट जन्मेका दाजुभाइका बीचमा विचार मिल्दैन । अनि कसरी कल्पना गर्नु त ? फरक व्यक्तिबाट जन्मेको, फरक समाज र संस्कृतिमा हुर्केको व्यक्तिको मन पूर्ण रूपमा हामीसंग मिल्छ भनेर । विवाह त एउटा सम्झौता हो ,समझदारीका आधारमा सम्बन्ध अगाडि बढाउने । मन नमिलेपनि यो बन्धन बदल्न वा फिर्ता गर्न नमिल्दो रैछ । परिवार , आफन्त ,समाज , संस्कृति, मानवीय सम्बन्धको घेराभित्र जकडिएको छ मान्छे । दाम्पत्य सम्बन्धबाट सबै पूर्णरूपमा सन्तुष्ट छैनन् । सबैलाई कुनै न कुनै कुरा विझाएकै हुन्छ तर पनि मानव जीवन आफ्नो गतिमा अबिरल बगिरहन्छ, एउटा अथक नदी जस्तै । तिमीले हेर, बुझ, कुराकानी गर ,यो त सब गर्न पाइन्छ नि आजकल । संसारमा कोही मान्छे पनि पूर्ण र पर्फेक्ट हुँदैनन् । मान्छेमा केही न केही कमजोरी हुन्छ । अब तिमीले निर्णय गर्नुपर्छ । संसार विश्वासमा अडिएको छ । शङ्काले जीवन चल्दैन । हामी सबै यही प्रकृतिका अंश हौँ । मानिसले प्रकृतिको नियम बदल्न सक्दैन । त्यसलाई स्वीकार गरेरै अगाडि बढ्नुपर्छ ।

सरू सुमनको कुरामा पूर्ण सहमत हुन सकिन तर त्यसमा प्रतिवाद गर्न पनि चाहिन । ऊ त्यहाँबाट आफ्नो रूममा गई । एकमहिनामा उसको रिजल्ट आयो । सेबेन स्कोर आएको थाहा पाएर ऊ खुसी भई । घरबाट आमाले फोन गरेर बोलाइन् । ऊ हतार हतार घर गई । फेरि कुरा उही थियो विवाहको । भोलिपल्ट घरमा केटा र केटाको बाबु आए । कुराकानी भयो । केटाले भर्खर सिभिल इन्जिनियरिङ सकेको रैछ । केटा केटी गफ गर भन्दै उनीहरूलाई एकठाउँमा छोडियो । परिचयपछि सरूले अस्ट्रेलिया जाने कुरा गरी । केटाले नेपालमै बसेर काम गर्ने लक्ष्य भएको बतायो । दुःख गरेर पढेको विदेश जान होइन भन्ने उसको भनाइ थियो । सरूले विवाहमा असहमती जनाई । हाम्रो चाहना फरक छ त्यसैले विवाह हुन सक्दैन भनी । कुरा स्थगित भयो ।
एकदिन सरूले बिहानै सुमनलाई फोन गरी ।“ हेल्लो ! सुमन सञ्चै छौ ? सरी बिहान बिहानै डिस्टव गरेँ ।”

“हाई सरू ! ठीकै छ, के छ खबर ?, तिमीलाई कस्तो छ ? जान्छु पनि नभनी गइछौ घर ।” सुमनले भन्यो । “घरबाट फोन आएकाले हतारमा केही नभनी हिडेँ ।
सुमन… सुनन ! म एउटा कुरा भन्छु । मलाई विश्वास छ तिमीले मेरो मन बुझ्ने छौ ।” उसले भनी । सुमनले अलि डराएको आवाजमा भन्यो ,“ के हो भनन ।”
“ आई लभ यू सुमन ! प्लिज नो नभन है ! रियल्ली के ! तिमीलाई म पहिलो भेट पछि नै लाइक गर्थे तर एक्सप्रेस गर्न सकेकी थिइनँ । मेरो विवाहको कुरा चलेको तिमीलाई थाहा छ नि ?” रून्चे स्वरमा उसले भनी । सुमन झसङ्ग भयो । अलि रिसाएको पाराले भन्यो, “तिमी के भन्दैछौ मैले कुरा बुझ्नै सकेको छैन । मैले त तिमीलाई कहिल्यै त्यो दृष्टिले हेरिन । अर्को कुरा मैले विवाहको विषयमा सोचेको पनि छैन । अहिले मेरो क्यारियर बनाउने समय हो विवाहको होइन । प्लिज मसँग यस्तो कुरा नगर । यो विषयमा अब मलाई फोन नगर्नु सरू । मेरो पनि त आफ्नो लक्ष्य छ , जिन्दगी छ । तिमी विदेश गएर टन्न पैंसा कमाएर आरामको जीवन बिताउन चाहान्छ्यौ तर म यही माटोमा आफ्नो क्यारियर बनाउन चाहान्छु । मलाई पैसाको शोख छैन । अझ भन्ने हो भने तिम्रो र मेरो न विचार मिल्छ न मन नै ।”

“त्यसो नभन सुमन , सबै शर्त मिल्ने कोही पाँइदैन भनेर तिमीले नै भनेका होइनौ ? कम्तिमा तिम्रो बानी व्यवहार त राम्रो छ नि ! अरू कुरा म कम्प्रोमाइज गरौँला । संगै विदेश जाऊँ । पाँच बर्षपछि फर्केर आउँला हुँदैन ? अनि तिम्रो इच्छा पनि पूरा हुन्छ ।” उसले सुमनलाई सम्झाउँदै भनी । यति बेला ऊ एउटा परिपक्व व्यक्तिले झै कुरा गरिरहेकी थिई । सरू अलि जिद्धी स्वभावकी भएको कुरा सुमनले पनि बुझेको थियो । उसले साबधानीपूर्वक पछि भेटेर कुरा गरौँला भनेर फोन राख्यो । त्यस हप्ता सरू काठमाडौं फर्किन ।

सायद मेरो भाग्यमा यस्तै लेखेको छ । तिमी आएनौ भने घरबाट मेरो डोली होइन, लास जानेछ । तिमी जे चाहन्छौ त्यही गर .. तिमीलाई माया गर्ने …।

सरू सुमनतिर वनसाइडेड भएकी थिई । सुमनको यस को व्यग्र प्रतिक्षामा थिई ऊ । उसले सुमनको फोनको आशा गरी तर सुमनले फोन गरेन । यसबीच अञ्जुले फोन गरेर सुमन दिल्ली जान लागेको कुरा सुनाई । अञ्जुलाई सरूले सुमनलाई मन पराउँछे भन्ने कुरा थाहा थिएन । सुमन दिल्ली जान लागेको कुरा सुनेर उसलाई चिसो पस्यो । उसले धेरै सोची कि सुमन मेरै कुराले त जान लागेको होइन ? अहँ ! त्यसो हुँन सक्दैन । फोन नगरी मनले सुखै दिएन । उसले सुमनलाई फोन गरी । धेरै पटक घण्टी गयो तर उठेन । कोठा लक गरेर एक्लै बसी । एक घण्टा जति लगातार फोन गरेपछि बल्ल सुमन बोल्यो – “ हाई सरू के छ खबर ? म बाबालाई भेट्न दिल्ली जादै छु । सायद एक महिनाजति उतै बस्छु ।”

“कहाँ छौ अहिले ?” सरूले रून्चे स्वरमा सोधी ।
“म, बुटवल” सुमनले भन्यो । सुमनलाई मनमा कता कता डर लागिरहेको थियो । ऊ सरूका कुरा मुटु दह्रो पारेर सुन्दै थियो ।
सरूले रँदै भनी–“ तिमीलाई मेरो माया छैन है ? आखीर ममा के कमी छ त्यस्तो ? कि तिमीलाई जीवनसाथी नै चाहिदैन ? एकपटक विवाह गर्नै पर्छ , अहिले गरेर के भो र ? प्लिज ! सुमन कम व्याक एण्ड म्यारी मी । अरू म तिमीले जे भन्छौ त्यहि मान्छु । मेरो मायालाई तिरस्कार नगर ।”
“सरु मलाई कर नगर, मैले तिमीलाई एउटा असल साथीको रूपमा मात्र देखेको छु ।” सुमनले भन्यो ।
सुमनलाई बसका मान्छेले हेर्दै थिए । त्यसैले उसले धेरै कुरा गर्न चाहेन । सानो स्वरमा उसले तिमी विवाह गर । म तिम्रो कुरामा सहमत छैन भन्दै फोन काट्यो । सरूले फेरि धेरै फोन हानी तर उसले उठाएन । त्यसपछि त मोबाइल नै अफ गरेर बस्यो ।

बुटवलमा गाडी केहीबेर रोकिएपछि ऊ उत्रियो । बसबाट झरेर मोबाइल अन गर्दा सरूको लामो म्यासेज देख्यो । लेखिएको थियो –
“ सुमन विवाह नगर, ठीकै छ तर मलाई अन्तिम पल्ट भेट्न आऊ । म तिमीलाई अन्तिम पल्ट आँखाभरी, मनभरी हेर्न चाहन्छु । मेरो सिउँदोमा सिन्दुर अर्कैले सजाउला तर मनमा तिमी मात्र, तिमी हुनेछौ । सायद मेरो भाग्यमा यस्तै लेखेको छ । तिमी आएनौ भने घरबाट मेरो डोली होइन, लास जानेछ । तिमी जे चाहन्छौ त्यही गर .. तिमीलाई माया गर्ने …।”
सुमन पसिनै पसिना भयो । यो भूमरीबाट बाहिर निस्कने कुनै बाटो देखेन । कसलाई के भन्नु ? साथमा अरू कोही पनि थिएन । गाडी चल्न थाल्यो । उसलाई नै भने झै गरी गाडीमा त्यतिबेला ज्यादै चर्चित नेपाली गीत बजिरहेको थियो– ‘मेरो जीवनबाट जाने भए जाऊ तर अन्तिमपल्ट भेट्न आऊ ।’ सुमनको मनमा अनेकौं कुरा खेल्न थाले । उसले सोच्यो– “सरू जिद्धी छ उसले भनेजस्तै गरी भने म दोषी हुन्छु । मानवीय नाताले पनि मैले उसको जीवन रक्षा गर्नुपर्छ । बरू म भेटेर उसलाई सम्झाउँछु र नारायणगढबाट दिल्लीको बस चढ्छु ।” ऊ हठात् बस रोकाएर ओर्लियो । सरूलाई फोन गरेर नारायणगढ भेट्न बोलायो ।

असार महिना,साँझको बेला, नारायणी नदीले किनारका घरहरूलाई नै बगाउँने गरी उर्लीरहेको दृश्य डरलाग्दो थियो । शान्त र सङ्लो नदी अशान्त र धमिलो भएको थियो । नदीको यो चाला पुलबाट सयौं मान्छेले नियालीरहेका थिए । संसारै बगाएर लगुँला झैं गरी बहुलाएको थियो नदी । ठूला ठूला मुडा डुब्दै उत्रिदै बग्दै थिए । बजारतिर चहलपहल ज्यादै थियो । मानिसहरू आ–आफ्नो गन्तव्यमा पुग्न हतार देखिन्थे । गाडी र मान्छेका आवाजले बजारमा कोलाहल थियो । व्यस्त र अशान्त थियो शहर पनि ।

सरूले सुमनको प्रतिक्षा गरिरहेकी थिई । बस आएर उसकै नजिक रोकियो । त्यही बसमा सुमन आएको रहेछ । सुमनलाई देख्ने बित्तिकै सरू झम्टेर रोई । धन्न अध्यारोमा अरूले ख्याल गरेनन् । सुमनले सम्झाउँदै पर होटलमा गएर कुरा गरौँ भन्यो । पोखरा बसपार्क नजिकको एउटा होटलमा गए । अलि सेप्रेट क्याबिनमा बसे । सुमनले मम र कोक अडर गर्यो । मम सरूको फेभोराइट डिस थियो । अविश्राम रोदनका कारण सरूका आँखा सुन्निएका थिए । उसको आजको अनुहार ज्यादै मलिन र मायालाग्दो थियो । चञ्चल, हँसिली र नटखट सरू ऊबाट वेपत्ता भएकी थिई । उसलाई देख्दा लाग्थ्यो उसको छातिमा ठूलै आधीहुरी चलेको छ । टेवलमा मम र कोक आयो । सरू सधैं फेन्टा खान्थी । कोक देखे कराउथी तर आज त्यस्तो केही भनिन । “पहिला खाजा खाऊँ अनि कुरा गरौँला ल !” सुमनले भन्यो । बिहानदेखि उसले केही खाएकै थिइन । खासमा उसलाई खान मन नै थिएन तथापि केही नबोली बल गरेर खान थाली ।

“ अँ सरू ! भनन किन बोलाएकी मलाई ? अनि के हालत बनाको यस्तो ? तिमी कस्तो केटाकेटी जस्तो बनेको अचेल ? पहिला त तिमी स्ट्रोङ थियौ ,आज किन कमजोर कुरा गर्यौ ? हामी आफ्नो लक्ष्यमा अडिग हुनुपर्छ । यस्ता सामान्य कुरामा क्रेजी हुनुहुन्न । यो समय केरियर बनाउने हो, म्यारिज गर्ने होइन । तिम्रोभन्दा मेरो सपना फरक छ सरू । तिमी बुझ मलाई । तिमीमा कमजोरी छ भनेर मैले विवाह नगरेको होइन । मेरो बाबा आमाको विश्वास तोड्न सक्दिनँ म । त्यसैले मलाई माफ गर सरू ! म तिमीलाई अहिले विवाह गर्न सक्दिन ।”

सुमनका कुराबाटै थाहा भयो कि ऊ विवाह गर्ने पक्षमा छैन । सरूले मनमा सोचेकी थिई बोलाएर जसरी भएनी उसलाई सम्झाउँछु तर यो सम्भव देखिएन । केटाहरूले चाहे भने अनेकौं बहाना बनाएर फसाइ छाड्छन् तर हामी केटीहरूको चाहना सजिलै पन्छाइ दिन्छन् । कति स्वार्थी छन् हाम्रो समाजका पुरुषहरु ? नारीलाई आफ्नो प्रेम पाउन पनि कति गाह्रो ? के केटीहरूको मन हुँदैन ? मैले प्रस्ताव राख्नु गलत हो ? उसले आफैलाई प्रश्न गरी तर आफूलाई कतै दोषी भेटिन ।

विवाह आफूले माया गर्नेसँग होइन, आफूलाई माया गर्ने मान्छेसँंग गर्नु

एकछिन सोची र भनी,“ सुमन तिमीलाई माया गर्नु गल्ती नै हो भने पनि मैले यो गल्ती गरेँ र सँधै गरिरहने छु ।” ठीक छ अब तिमीलाई कर गर्दिन । म जे गर्छु, गर्छु मलाई यसै नै छोडिदेऊ । तिमी जाऊ र आफ्नो जीवन आफ्नै तरिकाले बाँच । तर सुमन जाँदाजाँदै तिमीलाई एउटा सल्लाह दिन्छु– विवाह आफूले मायागर्नेसँग होइन, आफूलाई माया गर्ने मान्छेसँंग गर्नु । तिम्रा सबै सपना पूरा होउन् । बेस्ट अफ लक ! गुडबाई” सरू सलले आँखा छोप्दै हठात् होटलबाट बाहिर निस्की ।


केही ठोक्किए झै ठूलो आवाज आयो सबै मान्छे उतै दौडिए । सुमनपनि बाहिर निस्क्यो । सरू रोडमा ढलेकी थिई । उसको टाउकोबाट भलभल्ती रगत बगिरहेको थियो । काठमाडौंबाट आएको बसले हानेको रहेछ उसलाई । सुमन आत्तियो । हतार हतार एउटा ट्याक्सीमा राखेर हस्पिटल पुर्यायो । ऊ बेहोस थिई । धन्न धेरै चोट भने लागेको रहेनछ । रिपोर्ट नर्मल आयो । पुलिस आएर एक्सिडेन्टको विवरण लिन थाल्यो । सरूको सुमनबाहेक कोही आफन्त त्यहाँ थिएनन् । सुमनसँग पुलिसले घाइतेसँगको नाता सम्बन्ध सोध्यो । एकछिन त ऊ अल्लमल्ल पर्यो ,के भनु के भनु भयो ।
पुलिसले फेरि दोहोर्यायो –“ हेल्लो ! भाइ उहाँ तपाइँको को हो ? कता टोलाएको ? चिन्ता गर्नु पर्दैन , ठीकै छ उहाँलाई ।”
सरूको मुख तिर हेर्दै सुमनले दृढ भएर भन्यो –“ए ! उहाँ, मेरो वाइफ हो ।” यतिञ्जेल सरूका आँखा खुलिसकेका थिए । ऊ टाउको हल्लाएर होइन भन्न कोसिस गर्दै थिई तर सुमनले ओठ माथि हात राखेर रोक्यो । शरीरमा भित्री चोट थिएन । अस्पतालको प्रक्रिया पूरा गरी सरू डिस्चार्ज भई । सुमनले सरूको दुबै हात आफ्नो हातमा राख्यो र भन्यो ,“ सरी सरू ! फरगिभ मी । आई लभ यू ! वील यू म्यारी मी ?”
दुबैका आँखामा आँसु भरिए । सरूले सुमनलाई कसेर अँगालोमा लिई ।