कोरोना महामारीले एक वर्ष पार गरेको छ । गत वर्षको डिसेम्बरको मध्यतिर चीनको वुहान सहरबाट सुरु भएको कोरोना यतिबेला विश्व महामारीका रुपमा फैलिरहेको छ ।

विश्व मानव समुदाय एक भाइरसका कारण मरणासन्न अवस्थामा पुगेको छ । संसारका कुनैपनि कुरा असम्भव नदेख्ने मानव एक भाइरससँग पराजित भएको छ ।

एक भाइरस, जसले विश्व हल्लायो

विश्वमा नयाँ र खतरनाक भाइरस उत्पति भएको यो पहिलो घटना भने होइन । विगतमा यस्ता घातक भाइरसहरु उत्पति भएका थुप्रै उदाहरणहरु छन् ।

विगतमा बर्ड फ्लु, इबोलाजस्ता भाइरसहरुले विश्वलाई केही समय त्रासदी अवस्थामा राखे तर तिनको आयु भने त्यति लामो भएन । ती भाइरसहरु क्षणभरमै उत्पति भए र क्षणभरमै पत्तासाफ भए । जसका लागि मानव समुदालयले महत्वपूर्ण भूमिका खेलेको छ । नयाँ भाइरसको उत्पतिसँगै उसले नयाँनयाँ खालको अध्ययन र अनुसन्धानबाट नयाँ औषधिको आविष्कार गर्यो र यस्ता खतरनाक भाइरसको अन्त्य भयो ।

यी सबै विगतमा दर्ज भएका कुरा हुन् । विश्वलाई आफ्नो वशमा राख्ने सक्षमता भएको मानव समुदाय पछिल्लो समय भने एक भाइरससँग नराम्रोसँग थलिएको छ । उसको सारा मेहनत, सारा सक्षमता र सारा लगानी एक भाइरसको काबुमा छ ।

उसले जतिबेला पनि उसको (मानव समुदाय) अस्तित्व समाप्त पार्न सक्छ । यो भूमरीमा रुमल्लिएको मानव समुदाय एक जञ्जिरमा फसेको छ । महामारीमा फसेको छ । उसका लागि एक भाइरस नै जीवनको निर्णायक बन्ने देखिएको छ ।

तस्विर: विश्वमा कोरोना

जतिबेला कोरोना भाइरसको नाम पनि सुनिएको थिएन । मानिसहरु आफ्नै यात्रामा थिए । आफ्नै गन्तव्यमा हिँडिरहेका थिए । सबैका आफू अनुकूलका क्षमता थिए, आफूअनुकूलका योजना थिए अनि आफूअनुकूलको कार्यशैली थियो । सबै आफ्नो कर्म, मर्म र धर्ममा रमाइरहेका थिए । अधिकांश मानव समुदायले आगामी दिनमा यस्ता घातक महामारीको सामना गरौंला भनेर विरलै सोचेको थियो ।

तर गत वर्षको डिसेम्बरमा चीनको वुहान सहरमा नयाँ भाइरस फैलिएको कुरा बाहिर आयो । त्यसपछि मानव समुदायले तय गरेका ती यात्राहरु, ती गन्तव्यहरु र ती योजनाहरु क्षणभरमै बन्द कोठामा सीमित भए ।

एक भाइरसले उसका आकांक्षा र मनोकांक्षाहरु एक घरको बन्द कोठामा सीमित गरिदियो । अब उसका लागि नयाँ नयाँ सोच, यात्राहरु र योजनाहरु सोच्ने फुर्सद कहाँ रह्यो र अब त उसका लागि घरभित्रको बन्द कोठा प्यारो लाग्न थाल्यो ।

आफूमाथि जाइलाग्ने र आफूमाथि आइलाग्नेहरुका लागि उसले गह्न भएर सोच्न थाल्यो । यति सोचिरहँदा भाइरसको यो आहाल देखेर ऊ एउटै निष्कर्षमा पुग्यो । कि जीवनमा के नै छ र हामी अरुभन्दा केही कदम अघि बढ्न चाहन्छौं ।

अरुभन्दा हरेक कुरामा हामी बढी हुन चाहन्छौं । आखिर यो सब के का लागि रहेछ यो सब त हाम्रो आडम्बरका कारण रहेछ । यो सब हाम्रो जीवनका लागि व्यर्थ रहेछ ।

आखिर यो आडम्बरले एक भाइरसका सामू हामी एकाकार भइरहेका छौं । एक भाइसले हामीलाई विश्व नियाल्नेदेखि बन्द कोठामा सीमित बनाइदिँदो रहेछ । हामी यति धेरै प्रतिस्पर्धा, यति धेरै तछाडमछाड कसका लागि र के का लागि गर्छौं ?

सुरुवाती चरणमा विकराल रुप नलिएपनि मध्यम चरणमा भने यसले विश्वलाई नै बन्धकमा राख्यो । संक्रमितको संख्या बाहिँरिरहेका बेला मृत्यु हुनेहरुको संख्या भने दर्ता भएको थिएन । तर जब भाइरसबाट मृत्यु हुनेहरुको संख्या उकालो लाग्न थाल्यो तब विश्व त्रसित बन्यो । शक्ति र पुँजीका हिसाबले आफूलाई शक्तिशाली ठान्ने देशहरुको वर्तमान अवस्था एक भाइरसले थिलथिलो बनाइदिएको छ ।

संक्रमित संख्या र मृतक संख्या पुँजीपति देशहरुमा नै बढी छ । जसको पहिलो उदाहरण हो संयुक्त राज्य अमेरिका । अमेरिका यतिबेला कोरोना भाइरसबाट संक्रमित र मृतकको गणनामा पहिलो नम्बरमा छ ।

त्यहाँ दैनिक संक्रमित र मृतकको संख्यामा नयाँ रेकर्ड कायम भएको पाइन्छ । त्यस्तै भारत, रसिया, फ्रान्स, ब्राजिल लगायतका देशहरुमा यसको प्रभाव कायमै छ । आफ्नो उत्पतिको एक वर्ष बितिसक्दा पनि यसले रुपधारण गरेको छैन ।

बरु झन नयाँ स्वरुपमा देर्खा पर्न थालेको छ । जसका कारण विश्व फेरि एकपटक त्रसित अवस्थामा देखिएको छ ।

नेपालमा कोरोना भोकदेखि शोकसम्म

विश्व यात्रामा निस्किरहेको भाइरसले नेपाललाई पनि अछुतो राखेन । नेपालमा पनि यसले प्रभाव जमाएरै छाड्यो । सुरुमा एक जनामा कोरोना संक्रमण देखिँदा सारा देश नै बन्द गरियो । जसलाई नाम दिइयो–‘लकडाउन ।’ देश नै बन्द भएपछि आर्थिक क्षेत्र कसरी सक्षम हुन्थ्यो यसले देशको अर्थतन्त्रमा आहाल परिवर्तन ल्याइदियो । देशभरका उद्योगधन्दा र कलकारखानाहरु बन्द भएका थिए ।

ती उद्योग तथा कलकारखानाहरुमा ज्याला, मजदुरी गर्ने कर्मचारीहरुले अनायासै काम, दाम र माम छोड्नुपरेको थियो । उनीहरु विवश थिए । यो भाइरसले ल्याइदिएको विकराल रुप थियो । भाइरसबाट बच्ने मुख्य माध्यम भनेकै सामाजिक तथा भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजर लगाउने थिए ।

सोही भाइरसबाट बच्न कतिले रोजगारी गुमाए, कतिले परिवार गुमाए त कतिले ज्यानै गुमाए । त्यसको लेखाजोखा गरिसाध्य छैन । जतिबेला देशमा बन्दाबन्दी (लकडाउन) गरिएको थियो । अलिकति आर्थिक स्थिति राम्रै भएकाहरु धमाधम गाउँतिर पस्न थाले ।

पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी

सहर त रोग, भोक र शोकको जननी रहेछ भन्ने उनीहरुलाई त्यतिबेलाचरितार्थ भयो । अन्तत: उनीहरुको सुख, शान्ति र प्रगतिका लागि गाउँ नै उत्तम बन्यो । सहरहरु सुतेको अवस्थामा थिए । सुनसान । अरुबेला सडकमा खाली ठाउँ नै नहुने सहरको अवस्था त्यतिबेला भने खुलमखुल्ला थियो ।

बाहिर हिड्न र बाहिर निस्किन प्रतिबन्ध थियो । आफैंलाई आफैंले रोगी बनाउन मानिस बाहिर निस्किने कुरै भएन । सबै बन्द कोठाभित्र (एकान्तवास) मा बस्न बाध्य भए । करिब साढे ६ महिनासम्म नेपाल लकडाउनमा नै आहाल बन्यो ।

यो अवधिमा नेपालको अर्थतन्त्र धराशयी त बन्यो नै त्यसमा पनि कोरोना संक्रमण अत्याधिक मात्रामा बढ्यो । संक्रमित र मृतकको संख्यामा निरन्तर वृद्धि हुन थाल्यो । सहरमा रोजगारी गुमाएकाहरु अलपत्र अवस्थामा थिए । उनीहरुका लागि सडकको गास र सडकको बास नै प्यारो थियो । कसैले गास दिए खाने नदिए भोकै बस्ने बासको त ठेगाना नै भएन । जहाँ निन्द्रा लाग्छ उतै पल्टियो ।

यस्ता मानिसहरुलाई मनकारी मनहरुले केही मात्रामा राहत वितरण गर्ने महान अभियान सुचारु गरे । जसका कारण सडकमा अलपत्रहरुको गास र बासको समस्या केही मात्रामा समाधान भयो । सहरमा अलपत्र भएका तर आर्थिक समस्याका कारण घरसम्म पुग्न नसकेकाहरुका लागि मनकारी मनहरुले निशुल्क घरसम्म पुर्याउने महान काम गरे ।

जसको प्रशंसा जति गरेपनि कमै हुन्छ । यसबीचमा संक्रमणबाट कतिको मृत्यु भयो । जस-जसको संक्रमणका कारण मृत्यु भयो उनीहरुको परिवारमा शोकको अवस्था आयो ।

फेरि नयाँ कारोना भाइरस, त्रसित विश्व

विश्वमा फेरि नयाँ प्रकारको कोरोना भाइरस देखा परेको छ । बेलायतबाट सुरु भएको यो भाइरसले पनि विश्व परिक्रमा गर्ने तयारी थालेको छ ।

यसलाई वैज्ञानिकहरूले VUI-202012/01 नाम दिएका छन् । यसलाई भेरियन्ट ‘अन्डर इन्भेस्टिगेसन ‘ भनिएको छ । वैज्ञानिकहरूले भेरियन्टको बारेमा अधिक जानकारी खोजी गर्दै छन् । जसबाट यसको (म्यूटेशन) उत्परिवर्तन खतरनाक कति हुन्छ भन्ने परिक्षणकै क्रममा रहेको छ ।

यो भाइरस विगतको भाइरसभन्दा झन खतरनाक भएको बताइएको छ । यसले पनि विश्वलाई केही मात्रामा त्रास दिन थालिसकेको छ । एक भाइरसको निदान नहुँदै अर्को भाइरसको आगमन हुन थालेको छ । यसले आफ्नो विश्व परिक्रमा बढाउने धेरैको आँकलन छ ।

विश्व खोपमै निर्भर

कोरोना महामारीबाट क्षतविक्षत भएको विश्वको अवस्थालाई खोपको आविष्कारले केही मात्रामा हौसला प्रदान गरेको छ । पुँजीगत हिसाबले शक्तिशाली देशहरुले कोरोना खोप पहिले नै खरिद गरिसकेका छन् । हालसम्म विश्वमा ३ प्रकारका कोरोना खोप आविष्कार भएका छन् ।

कोरोना खोप

यी खोपहरु कोरोना नियन्त्रणका लागि प्रभावकारी मानिएको छ । फाइजर बायोन्टेक, मोडर्ना र अक्सफोर्ड युनिभरर्सिटीको एस्ट्राजेनेका । यी खोपहरु क्रमश ९५ प्रतिशत, ९४.५ प्रतिशत र ९० प्रतिशत प्रभावकारी मानिएको छ ।

भाइरसको रोकथाम तथा नियन्त्रणका लागि खोपले गति लिन थालेपछि विश्वको निर्भरता खोपमा नै आकर्षित हुन थालेको छ । यसले केही मात्रामा भएपनि कोरोनालाई नियन्त्रण गर्नेमा विश्व विश्वस्त छ ।

जनस्वास्थ्यका मापदण्ड अझैं पालना भएका छैनन् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना नभएको बताएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले केही मानिसहरुले अझैं पनि जनस्वास्थ्यका नियमहरु उल्लंघन गरिरहेको जीएनएन नेपाललाई बताए ।

‘गत वर्ष यतिबेला एउटा पनि संक्रमण फेला परेको थिएन । अहिले २ लाख ६० हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । हाल ५ हजार ७ सय जना अझैं कोरोना पोजेटिभ छन् । हाल कोरोनालाई बेवास्ता गर्नाले नयाँ संक्रमित र मृतकको संख्यामा वृद्धि भइरहेको छ ।’ गौतमले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा .जागेश्वर गौतम

हालसम्म पनि कोरोना संक्रमण र मृत्युदर बढ्नुमा जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना नगरिनु नै मुख्य समस्या भएको गौतमले बताए । ‘मन्त्रालयको मापदण्डअनुसार केही मात्रामा नियम पालना भएको तर जति आवश्यक हो त्यो मात्रामा नियम पालना भएको छैन् । यसलाई अझ बढाउनुपर्छ ।’

हाल नयाँ खालको कोरोना भाइरस आएको छ नि यो कति हानिकारक छ भन्ने प्रश्नमा उनले भने, ‘नयाँ भाइरस भएपनि, पुरानो भाइरस भएपनि क्वारेन्टिन गर्ने, आइसोलेसन गर्ने विधि उहीँ हो ।

त्यसो भएको हुनाले भाइरस कुन जातको हो भनेर हेर्नुभन्दा पनि त्यो भाइरसबाट कसरी बच्ने त्यो महत्वपूर्ण कुरा हो ।’