
- “बालबालिका कोभिड-१९ बाट विरलै संक्रमित हुन्छन् भन्ने भ्रम महामारी अवधि भरि नै व्याप्त रहेको पाइएको छ, जुन सत्य होईन” – युनिसेफ
- जाडो मौसममा कोरोना भाइरस ज्यादा समय बाँच्ने र अहिले देशमा हुने गरेका प्रदर्शन र भिडमा ठुला व्यक्तिहरू संसार डुल्ने हुँदा त्यसको असर सिधा बालबालिकाको स्वास्थ्यमा पर्ने
- बालबालिकालाई समयमै खोप लगाउनुहोस्। जसले गर्दा उनीहरू धेरै सङ्क्रामक रोगहरूको जोखिमबाट टाढा रहन्छन् ।
काठमाडौँ । उसै पनि बालबालिकाहरूको हेरचाह सबै मौसममा उत्तिकै गर्नु पर्दछ तर यो जाडोको मौसममा भने सावधान हुनु आवश्यक छ। यदि उनीहरूको हेरचाहमा थोरै पनि लापरबाही गरियो भने उनीहरूले स्वास्थ्य सम्बन्धीको धेरै समस्याहरू सामना गर्नुपर्ने हुन्छ । अर्थात् यदि जाडो मौसममा बच्चाहरूलाई विशेष ध्यान दिईएन भने उनीहरु चाँडै नै बिरामी हुनेछन् ।
(बालविशेषज्ञहरुको अनुसार बच्चाहरूलाई सर्दीमा चिसोले समातेमा निमोनिया, टाइफाइड जस्ता रोगले समात्ने बढी जोखिम हुन्छ। )
बाल विशेषज्ञ डा. सुनिल राजा मानन्धरका अनुसार बालबालिकाहरूमा कोभिड -१९ को खतरा नभए पनि विश्वमा कोरोनाको दोस्रो प्रकारको लहरले उनीहरूलाई भेटिएका केसहरू छन् । जाडो मौसममा कोरोना भाइरस ज्यादा समय बाँच्ने र अहिले देशमा हुने गरेका प्रदर्शन र भिडमा ठुला व्यक्तिहरू संसार डुल्ने हुँदा त्यसको असर सिधा बालबालिकाको स्वास्थ्यमा पर्न जान्छ ।
उनी भन्छन्, ठुला व्यक्तिहरू भिडभाड स्थानमा डुलेर घर पुग्ने र बालबालिकालाई अङ्कमाल गर्ने, काखमा राख्ने जस्ता गतिविधि गर्नाले पनि बालबालिकाहरू अहिले कोरोना, निमोनिया, ज्वरो, खोकी जस्ता बिमारीको सिकार भएको प्रशस्त उदाहरणहरू छन् । सोही कारण डा. मानन्धर बाहिर जे जस्ता क्रियाकलापमा सहभागी भए पनि घरमा पुगे पछि भने साबुन पानीले हात धोएर, आफूलाई स्यानिटाइज गरेर मात्रै बालबालिकाको सम्पर्कमा आउनु जरुरी रहेको बताउछन्।
बालबालिका हरू नाजुक हुने भएकाले बालविशेषज्ञहरु उनीहरूको हरेक खाना, सरसफाइ, हेरचाह र पोषण लगायतका कुराहरूमा विशेष होसियार पुर्याउनु पर्ने सल्लाह दिन्छन् ।
बाल विशेषज्ञका अनुसार बच्चाहरूलाई स्वस्थ राख्न गरिनु पर्ने महत्त्वपूर्ण कुराहरू
- तपाईंको बालबालिकालाई समयमै खोप लगाउनुहोस्। जसले गर्दा उनीहरू धेरै सङ्क्रामक रोगहरूको जोखिमबाट टाढा रहन्छन् भने कुनै पनि रोगले चाँडो समात्दैन ।
- चिसोको बेलामा बच्चाको टाउको र खुट्टाहरू सधैँ ढाक्ने लुगा लगाइदिनुहोस् । ताकि उनीहरूलाई चिसोले सजिलै पकड्न नसकोस् ।
- बच्चाहरूलाई स्कुल र घरमा सफा बस्न प्रेरित गर्नुहोस् ।
- बच्चाहरूमा, दीर्घकालीन चिसो, निमोनिया भइसकेको पनि हुन सक्छ। यसैले बच्चाको ख्याल गर्नुहोस् र समय पूर्व नै उपचार गराउनुहोस्।
- यदि बच्चा नवजात छ भने, उसलाई रोग प्रतिरोधात्मक क्षमता कायम राख्न स्तनपान गराउनुहोस्। किनभने आमाको दूधले नवजात शिशुलाई सबै रोगबाट जोगाउन सक्छ।
- बच्चाहरूको आहारसँग कुनै लापरबाही गर्नु हुँदैन । स्कुल जाने बच्चाहरूलाई पौष्टिक खाना प्रदान गर्नुहोस् ।
- चिसोबाट बचाउन तातो पानीमा नुहाइदिने, फलफूल र तरकारीहरू पूर्ण रूपमा प्रदान गर्ने, झोलिलो खाने कुरा दिने , जहिले पनि न्यानो लुगाका साथै दिनभरि जुत्ता लगाइ दिने गर्नुहोस् ।
- यदि तपाइको बालबालिकालाई सधैँ सर्दी र खोकीले ग्रस्त पारेको छ भने , उनीहरूलाई फ्लु खोप लगाइहाल्नु पर्दछ ।
- जाडो मौसममा हामी कम पानी पिउछौँ भने बालकालीकालाई पनि कम दिन्छौँ । तर यसको ठिक उल्टो यो मौसममा उनीहरूलाई मनतातो पानी मात्रा मिलाएर पिलाइ राख्नु पर्दछ ।

बालबालिकालाई यी लक्षण भएमा तुरुन्त डाक्टरकोमा देखाउन लग्नु पर्दछ
- छिटो सास बढेमा वा सास फेर्न समस्या भएमा
- छालाको रंगमा परिवर्तन भएमा
- लगातार ज्वरो र खोकीको साथ फ्लु भएमा
- शरीरमा विभिन्न राता ठेउलाहरू आएमा
- खान र पिउने वा खाना नखाने समस्या भएमा
- आवश्यक भन्दा बढी चिड्चिडापन बढेमा
- धेरै खोक्ने तथा घ्यारघ्यार गरेमा
- रोएको बेला आँसु नआएमा
युनिसेफले के भन्छ ?
त्यस्तै कोभिड- १९ को महामारी दोस्रो वर्षमा प्रवेश गर्नै लाग्दा युनिसेफद्वारा प्रकाशित एक नयाँ प्रतिवेदनले बालबालिकामा पार्ने असरमा वृद्धि हुन सक्ने चेतावनी दिएको छ।
युनिसेफले सङ्क्रमित बालबालिकामा देखिएका लक्षणहरू मध्यम भए पनि सङ्क्रमणको क्रम वृद्धि भइरहेको र बालबालिकाको हरेक कुराहरूमा असर गरिरहेको हुँदा सावधानी अपनाउन आग्रह गरेको छ ।
युनिसेफका कार्यकारी निर्देशक हेनेरिटा फोरले बालबालिका कोभिड-१९ बाट विरलै सङ्क्रमित हुन्छन् भन्ने भ्रम रहेको हुँदा यो झुट भएको दाबी गरेका छन् । यो सुरुवाती अवस्था मात्रै भएकाले बालबालिका कोभिड-१९ बाट सङ्क्रमित हुन तथा सङ्क्रमण फैलाउन सक्ने प्रस्ट युनिसेफले पनि पारेको छ ।
यो संकट जति लम्बिँदै जान्छ,त्यति नै बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण तथा सु-स्वास्थ्यमा गहिरो असर पार्दछ । सोही कारण सुरु देखी नै बालबालिकाको हुर्काइ र हेरचाहमा ख्याल गर्नु अभिभावकको जिम्मेवारी हुन आउँछ ।
सरुवा रोग विशेषज्ञ डा.शेर बहादुर पुनका अनुसार पनि बालबालिकालाई चिसो र भाइरसबाट बचाउन अपनाउनु पर्ने उपायहरू ( अडिओमा)

बस्नेत जीएनएन नेपालकी संवाददाता हुन् ।
प्रतिक्रिया दिनुहोस्