काठमाडौँ। बिजुली बारम्बार जान थालेपछि हाल उपभोक्तामा पुनः लोडसेडिङ फर्किने त्रास बढेको छ । यसैबीच सर्वसाधारण उपभोक्ताले पछिल्ला दिनमा जतिबेला पनि झ्याप–झ्याप विजुली जान गरेको बताई रहेका बेला नेपाल विद्युत प्राधिरणले भने लोडसेडिङ गर्दै नगरेको प्रतिक्रिया दिएको छ ।

आझ प्राधिकरणले उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको दावी गरेको छ । तर उपभोक्ताले भने गत वर्ष भन्दा यस वर्ष पटक पटक विजुली जाने गरेको गुनासो पोखी रहेका छन् ।

प्राधिकरणले विज्ञप्ती निकालेर विद्युतको माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्षको मंसिरमा ३ सय ४७ पटक ट्रिपिङ भएको जनाएको छ । प्राधिकरणले काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत अवरोध बताएको छ ।

जबकी गत वर्षको मंसिरमा ५ सय ७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत आपूर्ति बन्द भएको प्राधिकरणले दावी गरेको छ । प्रणालीमा माग अनुसार आपूर्तिका लागि पर्याप्त विद्युत रहेकाले घोषित–अघोषित रुपमा विद्युत कटौती नगरिएको प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् । उनले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नु पर्र्नेलगायतका प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत कटौती भएको हुनसक्ने बताएका छन् ।

यसै विषयमा शाक्य भनछन् ‘अहिलेसम्मको डाटा हेर्दा गत वर्षको पुसमाभन्दा यस वर्ष ट्रिपिङ कम भएको देखिन्छ, विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ ।’ ‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प वत्ति जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्यो भन्ने बुझेर डराउनु पर्ने जरुरी नै छैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ ।’ उनले थपे । उनले ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्त सार्नेलगायतका काम निरन्तर भइरहेको बताए।

साथै उनले विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङको समस्या समाधान गर्न विद्युतको मागलाई ध्यान दिएर फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने कामलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम भइरहेको बताउदै मर्मत सम्भारमा लाग्ने समयलाई घटाएर जतिसक्दो छिट्टो विद्युत आपूर्ति नियमित गर्न प्राधिकरण क्रियाशील रहेकाे जनाएका छन् ।