
काठमाडौँ । भारतमा कोरोना युगको अन्त्य नभई अर्को बर्ड फ्लु नामक रोगले च्यापेको छ । यो भाइरसले आधा भन्दा बढी सङ्क्रमितलाई मृत्युको मुखमा पुर्याउने हुँदा कोरोना भन्दा पनि खतरनाक मानिएको छ ।
जबकि कोरोनाबाट सङ्क्रमित व्यक्तिको जम्मा मृत्यु दर ३ प्रतिशत मात्रै छ । तसर्थ, भारतको धेरै राज्यलाई बर्ड फ्लुको बारेमा सतर्क गरिएको छ। भारत सरकारका अनुसार राजस्थान, मध्य प्रदेश, हिमाचल प्रदेश, केरलामा बर्ड फ्लुको पुष्टि भएको छ।

बर्ड फ्लु, जसलाई एभियन इन्फ्लुएन्जा भनिन्छ, यो अत्यधिक सङ्क्रामक र कोरोना भन्दा बढी घातक छ । इन्फ्लूएन्जाका ११ भाइरसहरू छन् जसले मानिसहरूलाई सङ्क्रमित गर्छ। तर ती मध्ये केवल ५ मानिसहरूका लागि घातक हुन सक्छन्।
यी हुन् H5N1, H7N3, H7N7, H7N9 र H9N2। बर्ड फ्लु पन्छीहरूको मार्फत मात्र मानिसमा फैलिन्छ।
बर्ड फ्लु अहिलेसम्म विश्वमा चार पटक ६० भन्दा बढी देशहरूमा महामारीको रूपमा फैलिएको छ। २००३ देखि यो फ्लुले हरेक वर्ष कुनै न कुनै देशमा घातक साबित भइरहेको हुन्छ । बर्ड फ्लु भाइरसको सबैभन्दा ठुलो समस्या भनेको यसको भाइरस हावाबाट फैलिन्छ। द्रुत उत्परिवर्तन पनि हुन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा यसको सङ्क्रमण फैलने घटना कम भए पनि , चरा र पशु मार्फत यो फ्लु मानिसहरू माझ फैलिन्छ ।

यही कारणले पनि हामा्रे छिमेकी मुलुक भारतमा फ्लुले तहल्का मच्चाइरहेको समयमा नेपालमा पनि यसको प्रत्यक्ष असर पर्नेमा विज्ञहरू सजग भएका छन् । यो फ्लु हावाको मार्फत फैलने हुँदा नेपाल र भारतबिच खुला सिमाना छ । यसले भारतसंग जोडिएका जिल्ला हुँदै फ्लुको महामारी नेपालमा पनि प्रवेश गर्ने सक्ने परिकल्पना पशु विज्ञहरूले गरेका छन् ।
कस्तो छ नेपालको तयारी ?
यससंगै कृषि तथा पशुपक्षी मन्त्रालयले बर्डफ्लू सम्बन्धी तराईका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले मातहतका सात वटा सीमा नाका कार्यालयलाई बुधवार पत्र पठाउँदै उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरे कुखुराजन्य वस्तुको आयातमा रोक लगाउँदै उच्च सतर्कता अपनाउन नाकामा रहेका क्वारेनटाइन कार्यालयलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।

नेपालमा भारतको हिमाञ्चल प्रदेशबाट बर्डफ्लू भित्रने सम्भावना उच्च रहेकोले भारतबाट भित्रिने कुखुराजन्य प्रजातिका वस्तुको आयातमा रोक लगाइएको छ । मन्त्रालयले सीमा नाका कार्यालयसँगै मन्त्रालयले तराईका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।
प्रवक्ता घिमिरे अनुसार सरकारले मात्रै नभई जनताले पनि लुकाएर ल्याइएका कुखुरा नष्ट गर्ने, अहिले कारोबार नै बन्द गर्ने जस्ता क्रियाकलाप गर्ने आवश्यक भएको बताउँछन् । साथै मन्त्रालयले देशभर कतै ठुलो परिमाणमा कुखुरा मरे वा शङ्कास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ ।
मन्त्रालयले काँकडभिट्टा, वीरगन्ज, भैरहवा, कृष्ण नगर, नेपालगन्ज, कैलाली तथा गड्डाचौकी नाका , प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन र आवश्यक परे प्राविधिक तथा अन्य स्रोत साधनको प्रयोग र थप जनशक्ति माग गर्न विशेष निर्देशन दिएको हो ।
मन्त्रालयले भारतबाट कुखुरा आयात गर्ने व्यवसायीलाई समेत उच्च सतर्कतामा रहन आग्रह गरेको छ । नेपालमा बर्डफ्लू सङ्क्रमण भित्रन नदिन केही समय कुखुरा आयातमा रोक लगाइएको जनाउँदै व्यवसायीलाई समेत सतर्कता अपनाउन आग्रह गरिएको प्रवक्ता घिमिरे जानकारी दिए ।

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्