रङ्गिन चस्मा लगाएर
असत्यको पदचाप पछ्याउँदै
मानव सभ्यताको पाठ पढ्न बिर्सिएर
हिंस्रक मानसिकता बोकेका राक्षसी प्रवृत्तिहरूमा
नैतिकता र इमानदारिता को खडेरी परेकाहरूमा
खै कहिले पलाउलान् ?


सकारात्मक सोचका पालुवाहरू !
अरूको रोदनमा अट्टाहस हाँसो हाँसेर
दरिद्र सोचाइहरूमा रमाएर
छुद्र बोली बोल्दै
भतभती पोली रहेका घाउहरूमा नुन चुक छर्दै
वचनका तिखा तिखा वाण हान्ने ती जिब्रोहरूबाट
खै कहिले निस्किएलान् ?
महझैँ गुलिया शब्दहरू !!

अन्यायको अँध्यारो सुरुङबाट
उद्दारको प्रतीक्षामा थर-थरी काँप्दै
सहारा मागी रहेका हातहरूलाई
गरिबीले थकित भएकाहरूको आर्तनादलाई
सुमधुर सङ्गीत सम्झिँदै आनन्द मान्नेहरूले
खै कहिले हटाउलान् ?


वर्गीयताको तुलोमा जोखिने विभेदहरू !
मेहनत रोपी पौरख फलाउनेहरूमाथि
रजाइँ गरेर
हीनताबोधको हिलो छ्याप्दै
ठालु पल्टिनेहरूले
आत्मीयतालाई कुल्चिँदै अस्वस्थ प्रतिस्पर्धामा
धनको गुलियो वरिपरि
फनफनी घुमिरहेकाहरूले
खै कहिले चढ्लान् ?
विवेकका अग्ला अग्ला शिखरहरू !!

मुकुन्द कृष्ण थापा
खोटाङ