काठमाडौं । राष्ट्रिय गैर सरकारी संस्था महासंघले २९९ औँ पृथ्वी नारायण शाह जन्म जयन्तीको अवसरमा माल्यार्पण कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर पृथ्वी जयन्ती मनाउन लागिएको हो । 


नेपाल एकीकरण गरेका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो । १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा चार दर्जन बढी साना साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए।


भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ। सोही कारण पनि महासंघले शाहको इतिहास र योगदानलाई सम्झिँदै उनको सम्मानमा माल्यार्पण कार्यक्रम आयोजना गरेको अध्यक्ष कुन्ती पोखरेलले बताइन् । भोलिको कार्यक्रममा राजधानीको गौशाला चोकमा सरकारी तथा गैर सरकारी संस्थाका सदस्यहरू भेला भई पुरानो बानेश्वरसम्म र्‍याली गर्नेसमेत योजना रहेको अध्यक्ष पोखरेलले बताइन् । 


साथै र्‍याली टुङ्गिएपछि माल्यार्पण समारोह गरी कार्यक्रम समापन हुनेछ ।