काठमाडौँ। फेब्रुअरी अन्तिममा नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्ने भएको छ । कतारको शीर्ष डिभिजन क्लबहरुसँग मैत्रिपूर्ण खेलको तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जानकारी दिएको छ ।

नेपालले क्लबका लागि प्रस्ताव गरेको छ तर, कुन क्लबसँग खेल्ने भन्ने भने केही दिनमा टुङ्गो लाग्नेछ । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटका लागि अहिले नेपाली टोली बन्द प्रशिक्षणमा व्यस्त छ । अभ्यासमा व्यस्त नेपाली टोलीले विश्वकप छनोटको छैठौं खेल मार्च २५ चाइनिज ताइपेइसँग खेल्नेछ भने त्यसको ५ दिन पछाडि अर्थात् ३० मार्चमा अस्ट्रेलियाको सामना गर्नेछ ।

विश्वकप छनोटको अभ्यासमा रहेको नेपाली टोलीमा अहिले ४४ जना खेलाडी छन् । सुरुमा ५८ जना बोलाइए पनि पहिलो चरणको छनोटबाट १४ जना खेलाडीलाई बिदा गरेसँगै अहिले ४४ जना बाँकी छन् ।

नेपालका मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा दिएसँग कार्यवाहक मुख्य प्रशिक्षकको जिम्मेवारी बाल गोपाल महर्जनले पाएका छन् । उनकै नेतृत्वमा टोलीले अभ्यास गरिरहेको छ । यसअघि कार्तिकमा नेपालले महर्जनकै नेतृत्वमा बंगलादेशसँग २ मैत्रिपूर्ण खेल खेलेको थियो ।