काठमाडौं । २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय गैर सरकारी संस्था महासंघले माल्यार्पण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार पुरानो बानेश्वरमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पूर्वमन्त्री एवम् राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङ, पूर्वमन्त्री एवम् राप्रपा नेता विक्रम बहादुर थापा, राप्रपाका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडा लगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेता तामाङले पृथ्वीनारायण शाहको दुरदर्शी शैलीको जति व्याख्या गरेपनि कमै हुने उल्लेख गरे । शाहकै कारण नेपाल एकीकरण भएको पनि उनले बताए । त्यस्तै पूर्वमन्त्री विक्रम बहादुर थापाले राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक विदा दिन नसकेकोमा दुख लागेको बताए । समग्र राष्ट्रलाई नै एकीकरण गर्ने महान व्यक्तित्व शाहलाई पटकपटक स्मरण गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस्तै राप्रपाका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडाले भोको पेटले राष्ट्रियता बलियो हुन नसक्ने उल्लेख गरे । पछिल्लो समय जनताले कोरोनाको भ्याक्सिन र खाना नपाएर समस्या झेलिरहेकाले यसको समाधान हुनुपर्ने पनि उनको भनाइ थियो । त्यस्तै राष्ट्रिय गैर सरकारी महासंघकी अध्यक्ष कुन्ती देवी पोखरेलले पछिल्लो समय नेताहरुको कार्ल मार्क्सलाई ढोग्न जाने गरेको तर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई बिर्सिएकोमा आपत्ति जनाइन । शाहको जन्मजयतन्तीको अवसरमा पनि सरकारले कुनै कार्यक्रम आयोजना नगरेको उनले बताइन । भ्रष्टाचार, धर्मको प्रचार र बलात्कारका घटनालाई रोक्न एक भएर अघि बढ्नुपर्ने पोखरेलको भनाइ थियो ।