काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा ६० प्रतिशत अंक ल्याउनेलाई लाइसेन्स दिने व्यवस्था हुने भएको छ ।

सरकारले लाइसेन्सको ‘ट्रायल’ परीक्षा दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभार दिइने ब्यवस्था मिलाउन लागेको हो ।

हाल लाइसेन्स परिक्षा पास गर्न प्रयोगात्मक परीक्षाका सबै प्यारामिटरमा सतप्रतिशत अंक ल्याउनुपर्छ । ट्रायल दिँदा एउटा मात्रै गल्ती भयो भने परीक्षामा फेल गराइन्छ ।

अब प्रयोगात्मक परीक्षाका गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइनेछ भने सजिला प्याराममिटरलाई कम अंकभार छुट्याइनेछ ।

त्यसका आधारमा पूर्णाङ्कमा कम्तिमा ६० अंक प्रतिशत ल्याउनेलाई चालक अनुमतिपत्र दिने व्यवस्था गर्न लागिएको मन्त्रालयले बताएको छ ।