काठमाडौंं । नेपाल भारत संयुक्त आयोगको छैठौँ बैठक बिहीबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदै छ ।

तीने दिने सो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भोलि (बिहीबार) बिहान नयाँ दिल्ली प्रस्थान गर्दै छन् ।

नेपाल भारत सम्बन्धको समग्र आयामबारे छलफल गर्ने र आगामी बाटो तय गर्न सक्ने हैसियतमा रहेको नेपाल भारत संयुक्त आयोगको पहिलो र दोस्रो बैठकपछि यसले खासै गति लिन सकेको थिएन ।

यस्तो छ कार्यसूचि

बिहीबारदेखि नयाँ दिल्लीमा सुरु हुने नेपाल भारत संयुक्त आयोगको छैठौं बैठकमा सीमा समस्या, इपिजी प्रतिवेदन, सन् १९५० को सन्धि र कोभिड नियन्त्रणमा सहयोग आदान प्रदानलगायतका विषयमा छलफल हुने भएको छ ।

परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल भारत संयुक्त आयोगको बैठकमा सङ्घीय सांसदबाट स्वीकृत भएको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग समेटिएको नक्साबारे पनि गम्भीरतापूर्वक छलफल हुने र समस्यालाई बल्झाई रहने भन्दा पनि समाधान गर्ने दिशातर्फ छलफल अघि बढ्ने जानकारी दिए ।

परराष्ट्र मन्त्री ज्ञवालीले कोभिड–१९ विरुद्धको नेपालको सङ्घर्षमा भारत सरकारले सहयोग गर्दै आइरहेको र आफ्नो भ्रमणका क्रममा कोभिड–१९विरुद्धको खोपको उपलब्धताबारे पनि थप छलफल हुने जानकारी दिए ।