काठमाडौं । प्रचण्ड-नेपाल समूहको नेकपा विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय न्युज च्यानल जी न्युजले माफी माग्नुपर्ने माग राखेको छ ।

संगठनले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री र जी न्युज दुवैले माफी माग्नुपर्ने माग राखेको हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएको भोलिपल्ट जी न्युजले विश्वको सर्वोच्च शिखर सगरमाथामाथि भारतीय दावी हुनुपर्ने भन्ने रिपोर्ट सार्वजनिक गरेको थियो ।

‘हामी चौधरी र उनको संचारसंस्थालाई यसखालको भ्रामक र तथ्यहीन सामग्री समाचार सम्प्रेषण नगर्न र तत्काल माफी माग्न आग्रह गर्दछौं,’ अखिलको विज्ञप्तिमा भनिएको छ,’यससँगसँगै संविधान लत्याएर प्रतिगमनको बाटोमा हिँडेका प्रधानमन्त्री ओलीलाई सत्ता टिकाउने नामम स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानमा गम्भीर आँच पुर्‍याउने व्यक्ति र संस्थाहरुसँग रहस्यमय र अपारदर्शी भेट र साँठगाँठ नगर्न चेतावनी दिन चाहन्छौं ।’

जी न्युजका सम्पादक सुधीर चौधरीले सगरमाथामा भारतको पनि दावी हुनुपर्ने बताएका थिए । भारतीय टेलिभिजन जी न्युजको ‘डीएनए’ कार्यक्रममा काठमाडौंदेखि सगरमाथाको बेसक्याम्पसम्मको भिडियो डायरी प्रसारण गर्दै चौधरीले यस्तो दावी गरेका थिए ।

चौधरीले सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएकाले उनैको नामबाट यसको नामाकरण हुनुपर्ने समेत बताएका छन्।

उनले भनेका थिए, ‘माउन्ट एभरेस्टमा भारतको पनि दावी हुनुपर्छ, आज म यहाँ भन्न चाहन्छु कि माउन्ट एभरेस्टसँग भारतको के सम्बन्ध छ, वर्ष १८५२ मा राधानाथ सिक्दर, उनी पहिलो व्यक्ति थिए जसले माउन्ट एभरेस्टको उचाइ नापेका थिए, र सर्भे अफ इन्डिया डिपार्टमेन्टले सिकदरलाई त्यो काम दिएको थियो ।’

राधानाथ सिकदर बंगालका प्रख्यात गणितिज्ञ भएको बताउँदै चौधरीले उनले नै सगरमाथाको पहिलो पटक उचाइ नापेको दावी गरेका छन् ।

माउन्ट एभरेस्ट कहिल्यै नदेखेका जर्ज एभरेस्टको नामबाट यसको नामाकरण गरिनु जायज नभएको भन्दै उनले यस्तो दावी गरेका थिए । चौधरी हेलिकप्टरमार्फत बेसक्याम्प नजिक पुगेका थिए ।