काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको रक्षाका लागि जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्ने बताएका छन् ।

माघे संक्रान्ति/माघी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्ण पालना र संरक्षण अनिवार्य रहेकामा जोड दिएका हुन् ।

उनले भनेका छन्, ‘सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षा गरेको संविधानको रक्षाका लागि जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नुपर्दछ ।’

उनले माघे संक्रान्ति/माघी पर्वका अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको उनले उल्लेख गरेका छन् ।

‘‘यहाँका हरेक समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रितिरिवाज र धार्मिक एवं सांस्कृतिक चाडहरु छन् । हाम्रो देश सामाजिक सद्भाव र सौहार्दताका लागि विश्वकै नमुना राष्ट्र हो । विभिन्न समुदायमा मौलिकताका साथ मनाइने चाडहरु नेपालीका साझा चाडपर्व हुन्,’’ उनले शुभकामना सन्देशमा भनेका छन् ।