काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

यस चाडले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक, सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास राष्ट्रपतिले व्यक्त गरेकि छिन् ।

यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्बर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्‌भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरिन् ।

प्रचलित पर्वहरूका विविधता हाम्रा बहुमूल्य सम्पत्ति : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपालका प्रचलित पर्वहरूका विविधता हाम्रा बहुमूल्य सम्पत्ति भएको चर्चा गर्दै विविधताबीच सुदृढ एकता र सहिष्णुताको यस पुँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले थारू समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघे सङ्क्रान्तिका अवसरमा शुभकामना सन्देश दिदैँ राष्ट्रको सुदृढ एकताको जगमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर रहेको चर्चा गरेका छन् ।