
काठमाडौं । इस्तानबुलमा विगत एक दशककै सबभन्दा भयानक सुक्खा परेपछि ४५ दिनमा पानी सबै सकिने देखिएको छ ।
बढ्दो शहरीकरणका कारण बनाइएका बाँधहरूले गर्दा सुक्खाको स्थिति आएको र १ करोड ७० लाख मानिस बस्ने शहरको जलस्रोत सुकेको बताइएको छ ।
शहरको प्रमुख जलस्रोतका रूपमा रहेको ओमर्ली बाँधको जलस्तर विगत १५ वर्षमा सबभन्दा तल छ । पानी नपरेकाले गर्दा उक्त बाँधमा २० प्रतिशत मात्र पानी छ ।
राजधानी अंकाराका मेयर मन्सुर याभासले बाँध र जलभण्डारमा ११० दिनलाई पुग्ने पानी मात्र रहेको बताएका छन् ।
टर्कीका अन्य दुई ठूला शहर इजमिर र बुर्साका बाँधको पानी पनि क्रमशः ३६ र २४ प्रतिशतमा झरेको छ ।
परिस्थिति भयानक बनेपछि मस्जिदहरूलाई पानी परोस् भनी प्रार्थना गर्न अनुरोध गरिएको छ ।
तर देशका जलभण्डारमा पानीको मात्रा लगातार घट्दै गएको छ । नोभेम्बर महिनामा वर्षा ४९ प्रतिशतले घटेको थियो र त्यपछि औसतभन्दा कम पानी परेको छ ।
टर्कीले प्रतिवर्ष प्रतिव्यक्ति १३ सय ४६ क्युबिक मिटर पानी मात्र उत्पादन गर्छ । यसले गर्दा यो पानी कम भएको (वाटर स्ट्रेस्ड) मुलुकमा पर्छ ।
एजेन्सी

जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउन सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्