काठमाडौं ।  अमेरिकाको तल्लो सदनबाट ऐतिहासिक रुपमा दोस्रोपटक महाभियोग प्रस्ताव पारित भएपछि ट्रम्पले शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने बताएका छन् । उनले गत साता संसद् भवनमा भएको हुलदंगालाई आफ्नो अभियानमाथिको आक्रमण समेत भने । 

जबकी, गत साता संसद् घेराउ गर्नका लागि ट्रम्पले नै आफ्ना समर्थकहरुसँग आग्रह गरेका थिए । हुलदंगाका क्रममा ५ जना मारिएपछि अहिले यही विषयलाई लिएर अमेरिकाको तल्लो सदनबाट उनीविरुद्ध महाभियोग प्रस्ताव जारी भएको छ । तर, ह्वाइट हाउसको आधिकारीक ट्वीटर एकाउन्टबाट पोस्ट गरिएको नयाँ भिडियोमा उनले शान्त रहनका लागि अपिल गरेका छन् । सबै अमेरिकीहरु एक भएर अघि बढ्नुपर्ने धारणा उनले राखेका छन् ।

 ‘मेरा वास्तविक समर्थकहरुले कहिल्यै राजनीतिक हिंसालाई मलजल गर्दैनन् । मेरा वास्तविक समर्थकहरुले कहिल्यै कानूनको अवज्ञा वा अमेरिकी झन्डाको असम्मान गर्दैनन् । मेरा वास्तविक समर्थकहरुले कहिल्यै अन्य अमेरिकीहरुलाई चिन्तित बनाउने वा धम्की दिने गर्दैनन्,’ ट्रम्पले भने । 

जनवरी ६ मा संसद् भवनमा आक्रमण गर्न आएकाहरुले राजनीतिक वृत्तमा दशौं लाख अमेरिकीहरुलाई आक्रोशित बनाएको उनले बताए । यस आक्रमणमा संलग्नहरुलाई न्यायको कठघरामा ल्याउने काम हुने उनले बताए । जो बाइडेनको सपथको समय वासिङटन डिसीमा हजारौंको संख्यामा नेशनल गार्डहरु परिचालन गरिनेतर्फ इंगित गर्दै ट्रम्पले कुनै दुर्घटनामा बिना शान्तिपूर्वक सत्ता हस्तान्तरण हुने कुराको सुनिश्चितता गरिएको बताए । तल्लो सदनबाट महाभियोग प्रस्ताव पारित भएको दुई घण्टापछि यो भिडियो जारी भएपनि ट्रम्पले महाभियोगबारे केही उल्लेख भने गरेनन् ।  

२० जनवरीमा ट्रम्प स्वत पदमुक्त हुनेछन् । राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यही दिन पद तथा गोपनियताको सपथ लिनेछन् । 

एजेन्सी