एजेन्सी । प्रहरी हिरासतमा एक २३ वर्षीय युवकको मृत्यु भएको घटनाको विरोधमा बुधवार राति बेल्जियमको राजधानी ब्रसल्समा सयौँ मानिसहरूले हिंसात्मक प्रदर्शन गरेका छन्।

हुलदङ्गा भएको स्थानमा खिचिएको भिडिओमा राजा फिलिपको राजदरबारतिर फर्किरहेको गाडीमा प्रहार समेत भएको छ ।

प्रदर्शनकारीहरूले एउटा प्रहरी कार्यालयमा आगो लगाइदिएको बताइएको छ। उनीहरूले सडकमा तोडफोड पनि गरेका थिए।

किन भयो प्रदर्शन ?

गत शनिवार प्रहरीले पक्राउ गरेका एक युवकको हिरासतमै मृत्यु भएपछि मानिसहरू आक्रोशित भएका हुन्। प्रहरीका अनुसार बुधवार ब्रसल्स(नोर्थ प्रहरी कार्यालयनजिकै झन्डै ५०० मानिस भेला भएका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरी हिरासतमा मृत्यु हुने व्यक्तिको नाम इब्राहिम बी हो।

शनिवार साँझ कोरोनाभाइरस नियन्त्रणका लागि लागु गरिएको उपाय उल्लङ्घन गरेको आशङ्कामा एउटा समूहलाई रोक्ने प्रयास गर्दा ती व्यक्ति पहिला भागेको प्रहरीले बताएको छ।

नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा लगेपछि उनी अचेत भएका र उनलाई स्थानीय अस्पतालमा लगिएको प्रहरीको भनाइ छ। शनिवार राति १०स्२२ बजे पक्राउ परेको एक घण्टा जतिमा नै उनको मृत्यु भएको थियो।

उनको मृत्युको कारण स्पष्ट छैन। तर त्यसबारे अनुसन्धान सुरु भएको ब्रसल्सको सरकारी वकिलको कार्यालयले जनाएको छ।

ती व्यक्तिको मृत्युबारे छानबिन हुनेपर्ने माग राख्दै प्रदर्शनकारीहरू अनुसन्धान केन्द्रस्थित प्रहरी चौकीसम्म गएका थिए। तर पछि उनीहरूको प्रदर्शन हिंसात्मक भयो।