काठमाडौँ । नेपालमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे पश्चात् तरङ्गित बनेको राजनीतिक स्थितिलाई मलम लगाउन या झन् पेट्रोल खन्याउन नेपाल आई प्रधानमन्त्री निवासमै पुगी ओलीको अन्तरवार्ता लिएका जी-न्यूजका प्रधान-सम्पादक सुधीर चौधरी यस बेला नेपालमा आलोचित निकै मन नपराइएका भारतीय नागरिक बनेका छन् । कारण उनको गत मङ्गलवार सगरमाथाको फेदमा पुगी सर्वोच्च शिखर सगरमाथा भारतले दाबी गर्नुपर्छ भन्ने अभिव्यक्ति ।

यही मङ्गलवार प्रसारण भएको सोही भिडिओमा सगरमाथाको फेदमै बसेर यसले भारतीयलाई राष्ट्रवादको नयाँ उचाइमा लैजाने र राष्ट्रवादको अलग भाव ल्याउने जस्ता दुष्प्रचार गरेका थिए ।

No description available.
नेपालमा प्रधानमन्त्री ओलीको अन्तरवार्ता लिन आएका सुधिर चौधरी, सगरमाथाको रिपोर्टिङमा

जसपश्चात् नेपालको माहौल निकै गरम भइरहेको छ । प्रधानमन्त्री ओलीसँगको अन्तरवार्तामा राम्रै प्रतिक्रिया पाएका जी न्यूज र चौधरीको सगरमाथाको नाम नै परिवर्तन गर्नुपर्ने अभिव्यक्ति सुनिसकेपछि सामाजिक सञ्जाल लगायत थुप्रै नेपाली मिडियाहरू यसको विरुद्धमा उत्रेका छन् ।

भलै उनले गएरातीको अर्को डिएनए संस्करणमा प्रचारित समाचारमा नेपाली दर्शकको मन दुखाउन नचाहेको भन्दै माफी मागे तर पनि सगरमाथाको नाम ‘माउन्ट सीक्दर’ राख्नुपर्ने भन्ने उनको किटान उस्तै रहेको छ । प्रधानमन्त्री ओलीको अन्तर्वार्ता प्रसारण गरेको भोलिपल्टै जी-न्यूजमा विश्वको सर्वोच्च शिखर सगरमाथालाई भारतीय नाम ‘माउन्ट सीक्दर’ राख्नुपर्ने भन्दै चौधरीले ट्विटरमा (#Indiaformtsikdar) अभियान समेत सञ्चालन गरिसकेका छन् ।

No description available.
चौधरीले संजालमा सगरमाथाको नाम फेर्ने चलाइएको ह्यासट्याग

‘माउन्ट एभरेस्ट नेपाल र तिब्बतको बिचमा छ र यहीँ नै रहन्छ, यसलाई कसैले खोस्न सक्दैन, यसको नाम चाहिँ परिवर्तन हुनुपर्छ’, चौधरीले भने, ‘चुनाव हुन्छ र सरकार आउँछन् जान्छन्, तर भारत र नेपालबिचको सम्बन्धमा हार्दिकता हुनुपर्छ।’

उनले यसरी माफी नै मागी सके पनि सगरमाथाको नाम भने परिवर्तन गर्ने अडानमै उनि रहेका छन् ।

जानकारहरू के भन्छन् ?

यसमा जानकारहरूको भने छुट्टाछुट्टै राय छ । एक प्रतिष्ठित च्यानलका प्रधान सम्पादक सुधीर चौधरीका बारम्बारका यस्ता दुष्प्रचारको रिपोर्ट र हेपाई प्रवृत्ति नेपालका लागि भन्दा पनि भारतकै लागि बढी नकारात्मक असर पुग्ने विषय भएको एक पत्रकारिता क्षेत्रका जानकार बताउँछन् ।

त्यति बेलाको प्रणाली अनुसार अनुसन्धान गर्ने भनेको पहाड चढेर नाप्ने हैन । अङ्क गणितीय माध्यबाट नाप्ने हो

उक्त च्यानल भारतीय प्रधानमन्त्री मोदीको इशारामा चल्ने हुँदा उनले जेजस्तो भन्छन्, चौधरीले त्यस्तै गर्ने भएकाले हामीले खासै महत्त्वपूर्णका साथ हेर्नुपर्ने आवश्यकता नरहेको साहित्यकार तथा विचारक याहुती बताउँछन् ।

मङ्गलवार प्रचारित डिएनए कार्यक्रममा चौधरीले सगरमाथाको उचाइ पत्ता लगाउने ब्रिटिस सर जर्जे एभरेस्ट नेपालमै नआएको भन्ने कुरालाई खण्डन गर्दै याहुतीले भने, ‘भूगर्भ विद्हरूले त्यति बेलाको प्रणाली अनुसार अनुसन्धान गर्ने भनेको पहाड चढेर नाप्ने हैन । अङ्क गणितीय माध्यबाट नाप्ने हो । भू-गर्भ विद् विज्ञान अनुसार त्यो बेला हिसाब गरेर चुचुराहरू नाप्ने गरिन्थ्यो । उनले थपे त्यस कारण त्यति बेलाका सबै हिमालहरू पौराणिक अङ्क गणितीय माध्यमबाट नापिएका थिए । जुन नाप्न सोलुखुम्बु नै आउनु पर्ने होइन । यो उतै बाट नाप्ने हो ।

सोही कारण आम मानिस जो-भूगर्भ शास्त्र जानेका छैनन्, तिनीहरूमाझ भ्रम फैलाई दुई देश बिच विवाद सिर्जना गराउने काम चौधरीले गरेको उनको भनाई छ । उनले यस्ता प्रोप्रोगान्डा विषयहरूमा रिपोर्ट बनाउने काम सधैँ गर्दै आएका कारण खासै महत्त्वको विषय दिन नहुने बताए ।

झगडा गर्न तर्फ भन्दा पनि जर्गनातिर लाग्नुपर्छ

त्यस्तै अर्को लेखक सञ्जीव उप्रेती भने यो लफडा नै बेकार भएको जिकिर गर्छन् । उनले यसै विषयमा केहि फरक मत राख्दै भने, ‘पहिले नेपाल भारत जस्ता कुने देश नभएको अवस्थामा ती पहाडहरू त्यहि अव्यवस्थित थिए ।’

‘पछि गएर देशहरूको निर्माण भएपछि हामीले नामकरण गरेर ठोकुवा गरेका कुरा हुन्, उनले भने, ‘विश्वमा वातावरण बिग्रँदै गएको अवस्थामा हामीले त्यसको सुरक्षा गर्ने तथा जोगाउनुका साटो द्वन्द्व फैलाएर केहि मिल्दैन।’ र यस्तो विवादमा धेरै लागी रहनु जरुरत पनि छैन ।

कोरोनाले विश्वमा आक्रान्त फैलाई रहेको बेला तथा हजारौँ मानिसहरू विचलित भइरहेको अवस्थामा सगरमाथाको नाम कसले राखेको थियो, नाप कसले गरेको थ्यो तिर लाग्नु स्वाभाविक नहुने उनको धारणा छ ।

भइरहेको नामलाई हटाएर अर्को नाम फेर्नुपर्छ भन्नु बेवकुफ वाला कुरा

त्यस्तै अर्को एक इतिहास सम्बन्धी जानकार राख्ने साहित्यकार उज्ज्वल प्रसाई बताउँछन् , ‘हामीले सधैँभरि जानेको नाम सगरमाथा हो । बाबुराम आचार्यले नामकरण गरेको यो नाम नै नेपालको लागी उपयुक्त नाम भएको उनको दाबी छ ।’

प्रसाई भन्छन्, विश्वमा धेरैले एभरेस्ट भनेर पनि चिन्छन् त्यसमा पनि कुनै आपत्ति छैन । तर अहिले आएर त्यो भइरहेको नामलाई हटाएर अर्को नाम फेर्नुपर्छ भन्नु नै एक बेवकुफ वाला कुरा हो ।

“कसले के भन्यो ? र पहिला प्रमाणित कसले गर्यो ? भन्ने खोतल्दै गयो भने इतिहासमा अर्को एक जनाको पनि नाम आउन सक्ला भन्दै प्रसाईले भने, ‘ यो बेला आएर नाम परिवर्तन गर्नुपर्ने संजालमा अभियान चलाउनु केवल एक पित पत्रकारिताको जल्दो उदाहरण हो ।”

चोमोलोङमा वा झोमोलोङ पनि सगरमाथाको नाम

विश्वलाई नेपाल भनेर चिनाउन सगरमाथा भने पुग्छ। नेपाल र सगरमाथा पर्यायवाची शब्द हुन् । सगरमाथा आरोहण विश्वको हरेक व्यक्तिको चाहाना हो ।

हामी नेपाली धेरै भाग्यमानी छौँ । किनभने संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा नेपालमा छ । केहि समय अघि मात्रै नेपाल र चीनले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर भएको घोषणा गरेका छन्। नयाँ उचाइ यसअघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ।

नेपालले यो चुचुराको नाम सगरमाथा राख्नुभन्दा धेरै पहिले तिब्बतीहरूले चोमोलोङमा वा झोमोलोङमा भनेर नाम राखेका थिए । तिब्बती भाषामा चोमोलोङमा भनेको संसारकी आमा स्वरूपकी देवी भनिएको हो । तिब्बतीहरू आज पनि चोमोलोङमालाई आमा सम्झेर असाध्य माया र श्रद्धा गर्छन् ।

इतिहास र नामकरण

त्यो बेला यो सगरमाथा संसारको सबैभन्दा अग्लो पहाड हो भन्ने कुरा कसैलाई थाहा थिएन । तर सन् १८५२ मा बेलायतको ट्रिगोनोमेट्रिक सर्भेले सगरमाथालाई संसारको सबैभन्दा अग्लो पहाड भनेर पत्ता लगायो । यो कामका मुख्य व्यक्ति बेलायती नागरिक सर जर्ज एभरेस्ट थिए । उनी भारतमा रहेको इस्ट इन्डिया कम्पनीको सर्भे विभागमा काम गर्थे ।

उनी रिटायर्ड भएर बेलायत गए । अनि सन् १८६५मा उनको सम्मानमा उनकै नाममा सगरमाथालाई एभरेस्ट नामा कारण गरियो । जर्ज एभरेस्ट सन् १८६६ मा बेलायतमा बिते । एभरेस्ट नाम राखिनुभन्दा पहिले युरोप र अमेरिकामा हाम्रो सगरमाथाको नाम ‘पिक १५’ थियो । तर, जर्ज एभरेस्टको नाममा माउन्ट एभरेस्ट रहेपछि भने यो पहाड संसारभरि प्रसिद्ध भयो । अहिले पनि हाम्रो यो सगरमाथालाई संसारले माउन्ट एभरेस्ट भनेर चिन्दछ । हामी विदेश गयौँ र माउन्ट एभरेस्टको देश भन्यो भने सबैले चिन्दछन् ।

High-altitude drone captures rare view of Mount Everest in 2020 | Mount  everest, Everest, National geographic adventure

नेपालले यो सबैभन्दा अग्लो माउन्ट एभरेस्ट वा झोमोलोङमा पहाडको नाम सगरमाथा भनेर राख्यो । इतिहासकार इतिहास शिरोमणि बाबुराम आचार्यले माउन्ट एभरेस्टको नाम सगरमाथा राखेका हुन् ।

सोही कारण नाम सगरमाथा होस् वा चोमोलोङमा वा एभरेस्ट जे भए पनि हाम्रो सगरमाथा चुचुराले संसारको सबैभन्दा अग्लो चुचुरा हो । जुन नेपालीको सान रहनेछ ।

तसर्थ , प्रतिनिधि सभा विघटन पश्चात् उथलपुथल भइरहेको राजनीति र वैशाखमा हुने भनिएको मध्यावधि चुनावका लागी चाहिने लोकप्रियता र प्रधानमन्त्रीको खस्कँदो समर्थकको झुन्डलाई हेर्दा बालुवाटारमा आमन्त्रित गरेरै अन्तरवार्ता दिएको र प्रधानमन्त्रीकै पहलमा सगरमाथाको फेदमा पुगेर भिडिओ रिपोर्ट बनाइएको हो भने त्यसमा धेरै रहस्यमय छ ।

तर सामान्य सगरमाथाको फेदमा पुगेर चौधरीको असान्दर्भिक कुरालाई मात्रै बुझ्ने हो भने त्यसमा कुनै आश्चर्यको विषय छैन । एक दिन कसैले पत्रकार आएर हाम्रो हो भन्दैमा सगरमाथा उतै उडेर जाँदैन । त्यहि स्थानमा रहिरहन्छ ।

यसर्थ नेपालमा थुप्रै समस्या भइरहेको बेला सगरमाथाको नामकरणको कुरालाई तन्काउँदै ठुलो पार्नुपर्नेमा कुनै आशय नभएको इतिहासकारहरु वर्णन गर्दछन् ।