शिक्षा र प्रविधिबाट शक्तिशाली र सम्पन्न कुनै २ वा ३ राष्ट्रहरू बिचको आपसी मनमुटाबका कारण निम्तिने युद्धमा आफूलाई सहयोगी वा उपयोगी देशको पक्षमा साथ दिएर हुने युद्धलाई साधारणता विश्वयुद्ध भनिन्छ । विश्व इतिहासमा दुई पटकसम्म विश्वयुद्ध भएको छ भने तेस्रो विश्वयुद्धको अनुमान र परिकल्पना गरिरहेको विश्वमा रुघाखोकीको विकसित तथा उत्परिवर्तन हुँदै १०४° र सोभन्दा माथिको ज्वरो सँगै श्वासप्रश्वास प्रक्रियामा अवरोध सृजना गर्ने नोबेल कोरोना कोभिड-१९ को भाइरसले २०२० को सुरुवात देखि २०२१ को जनवरीसम्म ९ करोड भन्दा बढी व्यक्तिलाई सङ्क्रमित गर्दै सामाजिक दुरी, स्यानिटाइजर तथा मास्क सहित लकडाउन र निषेधाज्ञाका कारण व्यापार व्यवसाय जस्ता दैनिक व्यवहार समेत कुण्ठित गरेर घरमै बस्दा अरबौँ मानिसको जनजीवन लथालिङ्ग र बर्बाद बनाई दिएको छ ।

कोरोनाले समग्र मानव जीवनलाई नकारात्मक प्रभाव पार्दै विगत १ वर्षमा  महामारीको रूपले मृत्यु भएका २० लाख भन्दा बढी अधिकांश दीर्घ रोगी तथा कुनै न कुनै पुरानो रोगका मानिसहरू रहेका छन् । भने मरेका धेरै मान्छेहरूमा पछि जाँच गर्दा कोरोना पुष्टि गरेको भनेर स्वास्थ्यकर्मीहरूको अध्ययनले बुझाउँदा विश्वव्यापी रूपमा कोरोना हाउगुजी र स्वास्थ्य क्षेत्रको सबैभन्दा ठुलो आतंक सिर्जना भयो भनेर प्राकृतिक चिकित्सा, आयुर्वेद तथा होमिप्याथिक क्षेत्रका केही स्वास्थ्यकर्मी र शिक्षाविद् हरूले प्रचारप्रसार र दाबी गरिरहेका छन् ।
 साथै तिनीहरूले मेडिकल साइन्सका डाक्टरहरूलाई माफियाको कमिसनको चलखेलका लागि समग्र संसारलाई डर त्रास देखाएर रोग प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउने र रोगी बनाई लुट्ने षड्यन्त्रमा लागेको आरोप समेत लगाएका छन् भने मेडिकल साइन्सका केही डाक्टरहरूले त्यसको खण्डन गर्दै तिनीहरूलाई कारबाही गर्न समेत सरकारलाई सचेत गराएका छन् ।

हुन त नेपालमा प्राकृतिक चिकित्सा, आयुर्वेद, होमिप्याथिक तथा मेडिकल साइन्स क्षेत्रका डाक्टरहरू नभएको होइन । यस महामारीकै एक समयमा विश्व समुदायले नेपालीको घरमा उपलब्ध दैनिक खाद्य सामग्रीमा नै रोग प्रतिरोधात्मक शक्ति रहेको अध्ययनले पुष्टि गर्दा नेपालमा सङ्क्रमितको सङ्ख्या नगण्य मात्रामा रहेको बेला सरुवा रोगको अध्ययन अनुसन्धान गरेको शिक्षाविद् तथा डाक्टरहरूसँग सल्लाह नगरी विश्व स्वास्थ्य सङ्गठनको निर्देशनमा ३ महिना पुरै देशव्यापी लकडाउन गर्दा अधिकांश नेपालीको दैनिक जनजीवन रोगले भन्दा भोकले अस्तव्यस्त र बर्बाद भयो । सरकार यस्तो विश्वव्यापी संक्रमणकालमा जनताबाट कर उठाउन र शैक्षिक तथा अन्य नीतिगत निर्णयका कारण केही खुकुलो गरेपछि सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गयो । त्यसपछि कतै खुकुलो कतै कडा निषेधाज्ञा तथा कर्फ्यु गर्दा भोकले भन्दा रोगले मर्नु जाति भनेर लुकी छुपी तथा राजनीतिक शक्तिको आडमा काठमाडौँ प्रवेशले आज उपत्यकामा दैनिक ५०० को हाराहारीमा नयाँ सङ्क्रमित फेला परेको अवस्था छ ।

यसले झनै मानवीय दैनिक व्यवहारलाई धकेलिएको छ । तर अहिलेको सङ्क्रमणमा घरमै बसेर सरकारी तलब खाने शिक्षक, निजामती कर्मचारी, वकिल, सांसद जस्ता जनप्रतिनिधि, मन्त्री, प्रधानमन्त्री तथा राष्ट्रपति लगायतका सङ्गठित पेशाकर्मीले अन्य सेवासुविथा सहित पुरै तलब पाउने तर निजी क्षेत्रका असङ्गठित मजदुरले रोजगारी गुमाउनुका साथै जीवन गुजाराका लागि आवश्यक स्रोत साधन जुटाउन समेत आधारभूत जीवन निर्वाहको सुनिश्चितता नहुँदा समाजमा दिनप्रतिदिन सामाजिक असमानता जस्ता समस्या निम्तिने अवस्था छ । तर सरकार यस्तो संक्रमणकालमा आवश्यक नीतिगत योजना ल्याउनु भन्दा आन्तरिक कलह र विकास निर्माणको नाउँमा नीतिगत भ्रष्टाचारमा रुमलिएको छ ।

आफ्नो शैक्षिक तथा सामाजिक जिम्मेवारी बहन गर्न नसक्ने अवस्थामा रहेका र समाज परिवर्तनका संवाहक भनिने शिक्षक समेत यस्तो संक्रमणकालमा थप सेवा सुविधा लिन मै व्यस्त छ । हुन त शिक्षकले राष्ट्रका लागि आवश्यक सबै प्रकारका जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्दछ । आफ्नो सेवालाई निरन्तरता दिन नसक्ने यस्तो विश्वव्यापी सङ्क्रमणमा पूरा तलब लिनुको सट्टा आधारभूत जीवन निर्वाह भत्ताको व्यवस्था गर्न शिक्षकले आफू लगायत घरमै बसेर नियमित सरकारी तलब खाने निजामती कर्मचारी, वकिल, सांसद जस्ता जनप्रतिनिधि, मन्त्री, प्रधानमन्त्री तथा राष्ट्रपति को नियमित तलब आधारभूत जीवन निर्वाह भत्तामा गाभ्न वा स्थानान्तरण गर्न गराउन र संक्रमणकालमा अग्र पङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, प्रहरी तथा सेनाको कार्यक्षमता अभिवृद्धि गर्न भत्ता सहितको व्यवस्था गर्न गराउन मार्ग निर्देशन वा दबाब दिनुपर्ने प्रमुख सामाजिक कर्तव्य हो । यसमा शिक्षकको महानता प्रस्तुत हुन्छ ।

जीवन रहेपछि सिकाइको महत्त्व रहन्छ । स्वास्थ्य भन्दा ठुलो शिक्षा हुन सक्दैन । स्वस्थ शरीरले स्वस्थ शिक्षा तथा सिकाई ग्रहण गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न, बाल विकास शिक्षक र विद्यालय कर्मचारीहरूको तलब वृद्धि लगायतको माग तथा सरकारको घरीघरी नयाँ नीतिका कारण अस्तव्यस्त बनेको छ सम्पूर्ण शिक्षा क्षेत्र । शिक्षण सिकाइलाई विद्यालयमा सीमित गर्न नसक्ने अहिलेको संक्रमणकालमा वैकल्पिक सिकाईमा समेत बहुमत विद्यार्थीको पहुँच हुँदैन । पाठ्यक्रम घटाएर वैकल्पिक सिकाई मुख्य शैक्षिक सत्रमा गणना नगरी परीक्षण तथा निःशुल्क रूपमा दिने व्यवस्था गरी सबैको पहुँच पुर्‍याउनु पर्छ अन्यथा यसले भविष्यमा देखा पर्ने स्वास्थ्य सँगै शिक्षा लगायत मानिसको दैनिक जीवन झन्झन् कष्टकर हुने समस्यालाई  निराकरण गर्न आवश्यक नीतिगत योजना बनाउन शिक्षासँग आबद्ध सम्पूर्ण व्यक्ति सम्मिलित बृहत् शैक्षिक योजना सहित सम्पूर्ण व्यक्तिलाई साक्षर र शिक्षित बनाउन महानता प्रस्तुत होस्।

-सत्यराम कासिछ्वा,भक्तपुर -९, सुर्यमढी