काठमाडौं । सरकारको कदमले गणतन्त्रदेखि संघीयतासम्मको व्यवस्था धरापमा पारेको भन्दै राजनीति गर्माएको छ। यो व्यवस्था विपन्न वर्गको उत्थानका लागि सबैभन्दा बढी आवश्यक भनियो तर तिनै विपन्न जनता भने सर्दीले थरथर काँप्दै छन्। तिनैमध्ये एक हुन्, लक्ष्मीनिया मण्डवानन्कारकट्टी गाउँपालिका–४ की सुकुमबासी ७० वर्षीया लक्ष्मीनिया। उनलाई देशको राजनीति गर्मागर्मीभन्दा पनि भ्वाङ परेकोे ओढ्ने कम्बलको चिन्ताले सताएको छ। पुस लागेसँगै बढेको चिसो र एक सातादेखि परेको शीतलहरले कठ्यांग्रिएर मरिन्छ कि भन्ने डरले उनलाई सताएको हो।

‘गुर्दी (फाटेको लुगा जोरजार पारेर बनाइएको ओढ्ने) आइढ क जार काटैत एल छेली तेसरा साल सरकार कमर देलक (गर्दी ओढेर जाडो काट्दै आएको हामीले तीन वर्षअघि कम्बल पाएका थियौं),’ उनले भनिन्, ‘अखनी ओही कमरमे भुरेभुर भक फाइट गेलै (अहिले त्यही कम्बल भ्वाङै भ्वाङ भएर फाटेको छ)।’ जाडोका कारण कष्टकर जीवन बाँचिरहेको यहाँको विपन्न वर्गलाई मनकारीले तीन वर्षअघि कम्बल बाँडेका थिए। अहिले तिनै कम्बल ओढ्नै नमिल्ने गरी फाटेका छन्। कम्बल मात्र होइन, लक्ष्मीनियाको मन पनि फाटेको छ।

उनी भन्छिन्, ‘अतके सरकारके अपना स उबारे नै होइछै त गरिबके कथी देतै, भोट लैला एतै त दुनु औठा बाइर देबै (यहाँको सरकारलाई हामी गरिबको कष्ट बुझ्ने फुर्सद कहाँ छ, अब भोट माग्न आए दुवै औठाले छाप लगाइदिउँला)।’

यसै बस्तीकी सुकुमबासी प्रमिला मण्डलको परिवार घामपानी मुस्किलले छेक्ने छाप्रोमा बस्न थालेको बर्साैं भयो। बाटोछेउकै पाँच हात ऐलानी जग्गामा परालको छानोले बनाइएको छाप्रोमा प्रमिलाको परिवारका सातजना बस्दै आएका छन्। प्रमिलाको छाप्रोसँगै गाउँपालिका कार्यालय टाँसिएको छ। पछिया हावाको सिरेटोले नछेक्ने छाप्रोमा तीन महिनाको नातिलाई काखमा च्यापेर आफू थरथरी काँप्छिन्, प्रमिला। छोराछोरीको पनि उस्तै हालत छ । ती कसैका आङमा न्यानो लुगा छैन। मजदुरीमा अडिएको उनको परिवारको दैनिकी कष्टकर बनेको छ।

गाउँ विकास समितिबाट गाउँपालिका बन्यो। प्रधानबाट सरकार निर्वाचित भए। तीन वर्षमा धेरै परिवर्तन भयो, धेरै कुरा फेरिए। तर भूमिहीन सुकुमबासी लक्ष्मीनियाले कम्बल फेर्न सकेकी छैनन्। प्रमिलाले छाप्रो फेर्न सकेकी छैनन्। र, गुलावदेवीले जीवनको एक्लो सहारा छोराको उपचार गराउने हिम्मत जुटाउन सकेकी छैनन्। उनीहरूको छाप्रोभित्रको गरिबी उस्तै देखिन्छ। स्थानीय सरकार आयो तर आफूहरूले केही पनि राहत महसुस गर्न नपाएको उनीहरूको एकस्वर छ। अरूको मजदुरी गरेर जीविका चलाउँदै आएको कमाइ बिहानबेलुकाको छाक टार्दैमा सकिने उनीहरू सुनाउँछन् ।

नागरिक दैनिक