• नेपाल जस्तो कुपोषणबाट पीडित देशमा झन् चाँडो कोरोनाको नयाँ संस्करण फैलन सक्ने
  • नेपालमा यो भाइरस भित्रिसकेको अथवा भारतमा फैलँदै जाँदा नेपालमा फैलने सम्भावनालाई मध्यनजर राख्दै पहिलो लहरमा दोहोरिएका गल्तीहरूबाट नेपालले पाठ सिक्नुपर्ने
  • कोरोना भाइरसले केहि थिग्रिएको अर्थतन्त्र, मानिसहरूको मानसिक तनाव देखी देशका विकाशमै वाधा पुर्याइ कोरोनाको नयाँ भेरियन्टले गेम चेन्जरको भूमिकामा निभाउन सक्ने
  • जनस्वास्थ्यका मापदण्डलाई नजरअन्दाज गरी भइगरेका आमसभा र भिडका कारण उत्पन्न हुने रोगका भोगी सर्वसाधारण हुनु सक्ने
  • यो उत्परिवर्तित संस्करणले २०२० मा भन्दा २०२१ मा बढी मृत्यु निम्त्याउन सक्ने डर रहेको

काठमाडौँ । नेपालमा नोबेल कोरोना भाइरस (कोभिड १९ ) को डर कायमै रहेको बेला त्यसैको उत्परिवर्तित स्वरूपले पाइला टेकेको छ । अर्थात् सेप्टेम्बर २०२० मा बेलायतमा देखिएको कोरोनाकै नयाँ प्रकारको संस्करण (न्यु भेरियन्ट) नेपालमा पनि फेला परेको छ ।

भाइरस उत्परिवर्तन (म्युटेसन) भएपछि भाइरसको नयाँ स्वरूप देखा परेको हो । भाइरस डिएनए आधारित र आरएनए (राइबो न्यूक्लिक एसिड) आधारित हुन्छन् । कोरोना भाइरसको नयाँ संस्करण (सार्स सीओभी–२) आरएनए आधारित भाइरस हो । यी भाइरसले प्रत्येक वर्ष आफ्नो स्वभाव बदल्छ ।

यही अन्तर्गतको बेलायतमा देखा परेको नयाँ प्रकार पहिलेको भन्दा ७० प्रतिशतको गतिमा फैलिएको छ। यसलाई बी.१.१.७ नाम दिइएको छ । उक्त नयाँ ‘भेरियन्ट’ भाइरस बेलायतबाट आएका दुई पुरुषसहित (६७ र ३२ वर्षका) एक महिलामा (उमेर २८) मा देखा परेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार तीनमध्ये दुई जना सङ्क्रमणमुक्त भइसकेका छन् भने ६७ वर्षीय पुरुषमा लक्षण नदेखिएकोले होम आइसोलेसनमा बसी उपचार गरिरहेका छन्।

नेपालमा झन् खतरनाक

भलै तिनमध्ये दुई जना सङ्क्रमणमुक्त भैसकेका छन् । तर डर भने झन् वृद्धि भएको छ । नयाँ कोरोना भाइरसको भेरियन्ट ६० भन्दा बढी देशहरूमा फैली सकेको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ । त्यसलाई मध्य नजर गर्दै सरकारले बेलायतसंगको उडानमा रोक लगाइसकेको भएपनि अन्य देशमा प्रतिबन्ध लगाइएको छैन ।

उता भारतमा पनि नयाँ भेरियन्टका केशहरूमा वृद्धि भइरहदा खुला सिमाना मार्फत दैनिक सयौँ भारतीय र नेपाली नागरिकहरू आउजाउ गरिरहन्छन्, जसमार्फत पनि नेपाल जस्तो कुपोषणबाट पीडित देशमा झन् चाँडो कोरोनाको नयाँ संस्करण फैलन सक्ने क्याम्ब्रिज विश्वविद्यालयका भाइरलोजिस्ट रवि गुप्ता बताउँछन् ।

भाइरलोजिस्ट गुप्ताका अनुसार नयाँ प्रकारको कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता भएको व्यक्तिलाई चाँडो समात्ने र यो भाइरसले कुपोषण भएका व्यक्तिलाई तीन महिनासम्म प्रभावित पार्ने सक्ने भएको हुँदा नेपाल जस्ता गरिब मुलुकमा यो भित्रिनु भनेको देशको विनाशतर्फ धकेलिनु हो ।

नयाँ प्रकारको भाइरससँग डराउनु पर्ने चार कारण

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नयाँ प्रकारको कोरोना भाइरस देखी डराउनु पर्ने चार कारण छन् । एक यो भाइरसमा अघिल्लो भाइरसभन्दा ७४ प्रतिशतसम्म बढी फैलने क्षमता हुनु । दुई बेलायतमा अधिकांश सङ्क्रमितमा यही नयाँ स्वरूपको भाइरस हुनु । तीन धेरै लामो समय टिकिरहनु । चार अहिले बनेका कोरोना विरुद्धका भ्याक्सिनले नयाँ भेरियन्टलाई प्रभाव पार्छ या पार्दैन थाहा नहुनु ।

नेपालमा यो भाइरस फैलन सम्भावनामा डा. पुन भन्छन् , ‘युकेमा सेप्टेम्बरको अन्त्यबाटै नयाँ कोरोनाको भेरियन्ट फैलिएको र त्यसपछिका महिनामा थुप्रै मानिसहरू यहाँ भित्रिएको हुँदा फैलीसकेको हो या फैलने स्थितिमा छ भन्न सजिलो छैन । यद्यपि थाहा नपाई यो भाइरस नेपालका समुदाय स्तरमा फैलिसकेको सम्भावना पनि हुन सक्छ ।

पहिलेको गल्तीबाट केहि सिक्नु पर्ने

नेपालमा पहिलो पटक २०७६ मागको दोस्रो साता एक व्यक्तिमा कोरोना भाइरस देखिएको थियो । अहिले कोरोनाको दोस्रो संस्करण यही समयमै देखिएको छ । भलै अहिले प्रारम्भिक चरणमा दुई तीन वटा मात्रै देखिएको होस् तर हामीले इतिहासबाट पनि सिक्नुपर्छ, डा. पुन भन्छन्, “त्यो बेला गरेका गल्तीबाट हामीले तयारी अवस्थामा रहनु पर्दछ ।”

कथमकदाचित नेपालमा यो भाइरस भित्रिसकेको अथवा भारतमा फैलँदै जाँदा नेपालमा फैलने सम्भावनालाई मध्यनजर राख्दै पहिलो लहरमा दोहोरिएका गल्तीहरूबाट नेपालले पाठ सिक्नुपर्ने डा.पुनको तर्क रहेको छ ।

राजनीतिक अस्थिरताले भाइरसलाई ब्युँताउने डर

नेपालमा पछिल्लो समय भैरहेका राजनीतिक घटनाक्रमले उब्जाएका आन्दोलन र भेलाले गर्दा कोरोना भाइरससहित कोरोनाकै अर्को उत्परिवर्तित रूप पनि ब्युँताउन सक्ने विज्ञहरूको चिन्ता रहेको छ । जनस्वास्थ्यका मापदण्डलाई नजरअन्दाज गरी भएगरेका आमसभा र भिडका कारण उत्पन्न हुने रोगका भोगी सर्वसाधारण हुनु सक्ने विज्ञको ठम्याई छ ।

पछिल्लो समय संसद् विघटनपछि वैशाखमा दुई चरणमा हुने भनिएको निर्वाचनको अझ धेरै डर भएको डा. पुन बताउँछन् । उनि भन्छन्, “निर्वाचनका क्रममा उम्मेदवारहरूका प्रचार (प्रसार प्रक्रियाहरू बढ्दै जालान् या छलफल सभा, गोष्ठी हुन सक्ला भने उता निर्वाचन गर्ने नचाहने हरुका आन्दोलनका कार्यक्रमहरू होलान् । हामीले सामाजिक दुरी कायम गरी स्वास्थ्यका मापदण्ड गर्ने सुझाएका छौ ।” तर त्यसको ठिक उल्टो यस्ता गतिविधि हुँदा कोरोनालाई फैलन नयाँ प्लाटफर्म मिलेको उनको धारणा छ ।

यसरी हेर्दा कोरोना भाइरसले केहि थिग्रिएको अर्थतन्त्र, मानिसहरूको मानसिक तनाव देखी देशका विकाशमै वाधा पुर्याइ कोरोनाको नयाँ भेरियन्टले गेम चेन्जरको भूमिकामा निभाउन सक्ने विज्ञहरूको ठम्याई छ ।

कोभिड-१९का सामान्य लक्षणहरू

जब देखी विश्वमा कोरोना भाइरसको इन्ट्रि भयो तब देखी यसलाई लिएर नयाँ नयाँ लक्षणहरू साझा गरिएका छन् । वैज्ञानिकले हरेक दिन यस भाइरसको बारेमा नयाँ चीजहरू फेला पारेका छन् । तर स्वास्थ्य विशेषज्ञ र वैज्ञानिकले वर्णन गरेका मुख्य लक्षणहरू भने यस्ता छन् ।

  • ज्वरो
  • सुख्खा खोकी
  • घाँटी दुखाई
  • नाक बाट पानी बग्नु
  • छाती दुखाई र सास फेर्न गाह्रो हुने
  • थकान
  • पेट सम्बन्धी सङ्क्रमण
  • गन्ध र स्वाद थाहा नहुनु

यसबाहेक अब के छन्, नयाँ कोरोना भाइरसका खतरनाक लक्षणहरू

नयाँ कोरोना भेरियन्टको लक्षणहरू पनि कोभिड-१९ सँग मिल्दोजुल्दो छ। रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले कोरोनाको नयाँ भेरियन्टका खतरनाक पाँच लक्षणहरू रिपोर्ट गरेको छ।

  • सास फेर्न गाह्रो हुने
  • भ्रम को स्थिति सिर्जना हुने
  • लामो समयसम्म छाती दुख्ने
  • थकित महसुस भई र ब्युँझेर बस्न असमर्थ हुने
  • अनुहार र ओठ निलो हुने
  • कोभिड १९ को नयाँ संस्करण कति खतरनाक

लन्डन स्कुल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिन इनमा भएको नयाँ कोरोना भेरियन्टको अनुसन्धानमा यो संस्करण यदि विश्वमा फैलिए मृत्यु हुनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि गर्न सक्छ भन्ने सुझाव छ । वैज्ञानिकहरूले वर्तमान कोरोना भाइरसबाट बच्चालाई कम वा कुनै जोखिम नभएको , तर नयाँ कोरोना प्रकारको भाइरसबाट बालबालिका समेत जोखिममा रहने उच्च सम्भावना भएको समेत बताएका छन् ।

सोही कारण पनि दुनियाँभरको डाक्टरहरूलाई यो उत्परिवर्तित संस्करणले २०२० मा भन्दा २०२१ मा बढी मृत्यु निम्त्याउन सक्ने डर रहेको छ ।

कसरी बच्ने ?

कोरोनाको यो नयाँ संस्करणबाट बच्न सबैभन्दा पहिलो उपचार भनेको मास्कको सही प्रयोग भएको स्वास्थ्य विद्को सल्लाह छ । यसको साथै सामाजिक दूरी , भाइरसबाट बच्न सकेसम्म बस, विमान यात्राबाट टाढिन आवश्यक छ ।

डा.पुन भन्छन्, ‘हातहरू सफा राख्नु एक महत्त्वपूर्ण बचाउ हो । उदाहरण को लागी, तपाई बजारमा जानुहुन्छ, वा बाहिरबाट कोही घरमा आउँछन्।” यो भाइरस साना कणबाट फैलिन्छ, त्यसैले हात सफा गर्नु एकदम महत्त्वपूर्ण सावधानी हो, यदि तपाईँ बाहिरबाट आउनुभयो भने, आफ्ना हातहरू साबुनले धुनुहोस्।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि विज्ञप्ति निकाल्दै खोप उपलब्ध नहुन्जेलसम्म भिडभाडमा नजान, जानै परेमा सामाजिक दूरी कायम राख्न, अनिवार्य रूपमा मास्क लगाउन र साबुन–पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न जस्ता सावधानी अपनाउन अनुरोध गरेको छ ।

तयार भइरहेका भ्याक्सिनले नयाँ भाइरसलाई असर गर्छ ?

नयाँ स्ट्रेनबारे उठ्ने सबैभन्दा ठुलो प्रश्न विश्वमा कोरोना विरुद्ध लागू गर्न शुरू गरिएका खोपहरू यो नयाँ भाइरसमा पनि प्रभावकारी वा तटस्थ हुनेछ भन्ने नै रहेको छ ।

यद्यपि वैज्ञानिकहरू प्रायजसो खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई भाइरसको धेरै पक्षहरू विरुद्ध लड्न तयार गर्ने हुँदा यसबारे चिन्ता लिने समय नभएको बताउँछन् ।

यस्तो अवस्थामा भाइरसको केहि भागमा म्युटेसन भए पनि, खोपले यसको प्रतिरोध गर्न सम्भव छ। तर यदि भाइरस पूर्ण रूपले म्युट भएको अवस्थामा भने सतर्क रहनु आवश्यक छ । किनकि खोपले यसलाई बेअसर तुल्याउँछ।

तसर्थ, नेपाल हालसम्म कोभिड-१९ कै खोप ल्याउन स्रोतको जोहो भई नसकेको अवस्थामा देशमा पछिल्लो समय भएका राजनीतिक उथलपुथलले जनस्वास्थ्यको मापदण्ड अपनाउने ठाउँ नदिएको हुँदा समयमै सावधानी नपनाएमा देशमा पुन: आर्थिक मन्दिका साथै महामारीको रूप फैलन सक्ने चिकित्सकहरू सुझाउँछन् ।

त्यस्तै सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका विचारमा कोरोनाको नयाँ स्ट्रेन (अडिओ)