निकाल्यौँ हिरा मोती, बनायौँ सुनका दरबार
न हामलाई एक छाक रोटी, न पायौँ ओत लाग्ने घर’

यी माथिका शब्दहरुले जोकोहीलाई पनि भावविह्वल बनाउँछन् । जति भावविह्वल बनाउँने शब्द छन् त्यति नै यी शब्दमा सिँगारिएको स्वर र संगीतको ध्वनिले झनै भावविह्वल बनाउँछ । जब कुनैपनि शब्दमा कसैको आवाज गुञ्जिन्छ तब ती शब्द शब्दमा मात्र सीमित रहँदैनन् ती शब्द कसैको जीवन परिवर्तनको कुञ्जी बनेर आइदिन्छन् । ती शब्दमा सिँगारिएको स्वरअनुसारका कलाकारहरुको अभिनयले अझ थप भाबुक बनाइदिन्छ ।

जीवन शर्मा । यस्ता भावविह्वल गीतहरु लेख्ने, गाउने र जनताको आवाज बोल्ने एक जनवादी गायक । उनले आफ्नो जीवनकालमा आजसम्म जतिपनि गीतहरु गाएका छन् ती गीतहरु मनोरञ्जनमा अवश्य सीमित छैनन् । उनका गीतहरुले सर्वहारा जनताको पीडा, वेदना र संघर्षको कथा बोकिरहेका हुन्छन् । सायद् उनले आफ्नो जीवनको उतराद्र्धमा त्यस्ता कठिन परिस्थितिहरु देखे, भोगे र अनुभव गरेकै कारण यस्ता गीतहरु गाउन थालेका हुन सक्छन् । गाउँले परिवेशबाट लडिबुडी खेल्दै हुर्किएका शर्मा आफूभन्दा माथि उठेर सदैव सर्वहारा जनताको हितका लागि कलाकारितामा छन् ।

कोही व्यक्ति कलाकारितामा किन लाग्छ ? उसले कलाकारिता के उद्देश्यका लागि गर्छ ? के साच्चै उसमा कलाकारिताको खुबी छ त ? यो आजको आम चासोको विषय हो । हो, कलाकारहरु एक समय आफ्ना समर्थक बटुल्ने, खुबी कम तर प्रदर्शन र प्रचार बढी गर्छन् । तर शर्मा यी सबै कुराभन्दा बिल्कुल अगल छन् अथवा एक कदम माथि उठेर भनौं उनी बिल्कुल फरक छन् । उनले चाहेको भए भएभरका गीत गाएर सुपरहिट हुन सक्थे, उनले सस्तो लोकप्रियता खोजेको भए सायद् कलाकारिताको बजारमा उनी नै हाइहाइ हुन्थे । उनको आफ्नै कथा, व्यथा र भोगाइ छ । त्यो कथा, व्यथा र भोगाइले उनलाई समस्या, पीडा होइन हौसला, मनोरञ्जन र सन्तुष्टि दिएको छ ।

आन्दोलनको पछिपछि लाग्दा पढाइ बिग्रियो, त्यहीँबाट कलाकारिता सुरु गरेँ

शर्मा बाग्लुङ जिल्लाको जैमुनी नगरपालिकामा २०१६ साल चैत महिनामा जन्मिएका थिए । उनी जन्मिएपछि के के भयो भन्ने कुरा बताउन सम्भव नहुने बताउँछन् । उनले हाइस्कुल उतैबाट उत्तीर्ण गरे । त्यहीदेखि गीत गाउन सुरु गरेको उनले सम्झिए । त्यसपश्चात उनी ठूलो सपना देखेर त्यतिबेलाको राजधानी सहर काठमाडौंमा इन्जिनियरिङ गर्न भनेर बाग्लुङबाट हिँडेका थिए । यहाँ उनी इन्जिनियर बन्नका लागि इन्जिनियरिङ क्याम्पसमा भर्ना भएका थिए । ठूलो सपना देखेर क्याम्पस भर्ना भएका उनले क्याम्पसमा राम्रोसँग पढ्नै पाएनन् । यो २०३६ सालको घटना थियो । त्यतिबेलै आन्दोलनको रस्साकस्सी सुरु भयो । ठूलो परिवर्तनको सपना देखाएको आन्दोलनले उनको इन्जिनियरिङको सपना क्षणभरमै खरानी बनाइदियो । र उनले छोडे कलेज र इन्जिनियरिङको सपना र होमिए कलाकारिता क्षेत्रमा । त्यसपछि गीत गाउन थालेको उनी सम्झन्छन् ।

काठमाडौंमा पढाइलाई निरन्तरता दिन आएका उनको भेट वेदना परिवारसँग भयो । उनीहरुसँगको भेटले उनलाई थप ऊर्जा दियो । र यही ऊर्जा लिएर उनी जनताको गीत गाउन होमिए । २०३६ सालको आन्दोलनपछि विभिन्न परिघटनालाई लिएर विभिन्न आन्दोलनहरु भए । ती आन्दोलनहरुमा उनले आफ्नो उल्लेख्य सहभागिता पनि देखाए । तर कुनै आन्दोलनको अग्र मोर्चामा रहेर होइन एक सामान्य नागरिक भएर । जनतासँगै गीत गाउँदै उनी सडकमा हिँडिरहेका हुन्थे । त्यो समय उनका लागि निकै महत्वपूर्ण थियो । विगतलाई सम्झिदा उनी भावुक भइसकेका थिए ।

चिसै छन् भरियाका चुलोहरु…

भरियाका कथालाई समेटेर शर्माले एक गीत गाएका छन्,

‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको
उमेर भैसक्यो असी झन ठूला दु:खले घेरेको’

यी गीतका प्रत्येक शब्दहरुमा उनले भरियाका कथाहरु उजागर गरेका छन्, भरियाका वेदनाहरु बोलेका छन् । उनलाई लागेको थियो कि यस्ता गीतहरुले उनीहरुको जीवनमा निकै परिवर्तन ल्याउँछ । व्यवस्था फेरियो, अवस्था फेरियो तर भरियाका दिन र अवस्था कहिल्यै फेरिएनन् । फेरिए त भरियामाथि शासन गर्नेहरुका दिन फेरिए, उनीहरुमाथि शोषण र भेदभावपूर्ण औकात देखाउनेहरुको दैनिकी फेरिए । तर जसको सहारामा आफू बुइँ चडियो उसैलाई फगत सम्झिएर पीडित बनाइएको छ । उनले भक्कानिदै भने, ‘दुई छाक टार्नकै लागि हातमा नाम्लो लिएर बस्ने भरियाका घरको चुलो अझैँ चिसै छ ।’ यो भनिरहँदा उनका गहभरि आँसु रसाएका थिए ।

उनी आफूले गाएको गीत र यो व्यवस्थाले भरियाका समस्या त्यति विधि समाधान गरेको ठान्दैनन् । तर केही चेतना, केही राजनीतिक स्वतन्त्रता चाहिँ परिवर्तन आएको उनको ठहर छ । उनले भने, ‘हिजोका दिनमा किसानहरु, भरियाहरु र मजदुरहरु खुलस्त भएर बोल्न सक्दैनथे, आफू अन्यायमा पर्दा पनि बोल्न सक्दैनथे तर अहिले त्यो अवस्था छैन ।’ त्यति मात्रै होइन सह्य पीडा नभए उनीहरु आन्दोलन गर्न सक्ने भएको उनले उल्लेख गरे । उनी आर्थिक बोझकै कारण विदेश पलायन हुन बाध्य चेलीबेटीहरु, मजदुरहरुका समस्या उस्तै भएकोमा चिन्ता व्यक्त गर्छन् । समग्रमा भन्नुपर्दा उनको नजरमा श्रमिकलाई मालिकले हेर्ने दृष्टिकोणमा खासै परिवर्तन आएको छैन् ।

उनले काठमाडौंका गल्लीहरुमा नाम्लो हातमा लिएर भारी बोक्न तयारी अवस्थामा बसेका भरियाहरुलाई सम्झिए । आफू कहिलेकाही उनीहरुसँग सँगै बसेर भलाकुसारी गर्ने गरेको उनले सुनाए ।

यो गणतन्त्र यस्तै हो !

उनको पालामा विभिन्न व्यवस्थालाई फालेर सबैभन्दा उत्तम ठानिएको व्यवस्था स्थापना गर्नु थियो । जुन थियो- ‘गणतन्त्र’ । सकेजति साहस लिएर र हण्डर खाएर यो व्यवथा स्थापना गरियो तर यो व्यवस्थाले कसको अवस्था कस्तो ? कसलाई कुन स्तरमा राखेर मूल्याङ्कन गर्ने ? जनताका आवश्यकता के-केछन् ? भन्ने चाहिँ किटान गर्न सकेन । यस्तो व्यवस्थालाई उनले ‘यस्तै व्यवस्था हो’ भनेर कमेडियन पारामा उडाइदिए । उनी यो गणतन्त्रलाई पुँजीवादी गणतन्त्र भन्न पछि परेनन् ।

‘यस्तो व्यवस्थामा माफिया, घुसखोर, तस्कर र भ्रष्टहरुले राज्य संयन्त्र चलाइरहेका हुन्छन्’, उनले भने, ‘चुनावदेखि नै भ्रष्टाचार हुने देशमा निर्वाचित भएको नेतृत्वले जनताका माग कसरी सम्बोधन गर्ला ? चुनावताका भएभरको पैसा तिनै दलाल, तस्कर र घुसखोरीहरुबाट असुलेको नेतृत्व जब पदमा पुग्छ तब उसलाई भ्रष्ट, माफिया र दलालहरुलाई बचाउन हम्मेहम्मे हुन्छ । त्यसकारण यस्तो नेतृत्वसँग विकासका सपना देख्नु व्यर्थ रहेको छ ।’

हाम्रो देशमा पैसा गलत ठाउँमा भएकाले यस्तो अवस्था आएको उनको भनाइ छ । भारत, बंगलादेश लगायतका देशमा पनि यस्तै अवस्था रहेको उनले बताए । साम, दाम, दण्ड, भेद प्रयोग गरेर चुनाव जित्ने र चुनाव जितिसकेपछि जनताको पीडामाथि राजनीति गर्ने यस्तो व्यवस्था यस्तै हो । उनले भने ।

बैगुनी नेतृत्व

यही परिवर्तनका लागि आफूहरुले हिजोका दिनमा सबै कुरा असम्भव नदेखेर सम्भावनाकै लागि गरेपनि बैगुनी नेतृत्वका कारण यस्तो अवस्था आएको उनले बताए । ‘यत्रो परिवर्तनका लागि आहुति दिइयो, जनयुद्ध लडियो, जनआन्दोलन गरियो, ठूलाठूला कुरुवानीहरु गरियो । तर नेतृत्वले यी सबै जिम्मेवारीलाई गहन रुपमा पूरा गर्न सकेन । उसले जनताप्रतिको दायित्व बिर्सियो, देश बिर्सियो समग्रमा सबै बिर्सियो । त्यसैले यो नेतृत्वबाट हामीले परिवर्तनको स्वाद चाख्न पाएनौं ।’

तरपनि यो व्यवस्था असफल भएको भने उनले स्वीकारेनन् । यो व्यवस्थालाई दिगो बनाइँरहन हामीले अझैँ परिवर्तनका लागि आवाज उठाउनु पर्ने परिस्थिति आइरहेको उनले बल गरे ।

१२ वर्ष ढुङ्ग्रोमा राखेपनि कुकुरको पुच्छर बाङगाको बाङगै

पछिल्लो समय नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर हामीले उनीसँग केही प्रश्न गरेका थियौँ । यस क्रममा उनले नेतृत्वलाई सत्ता प्राप्तिकै लागि सबै जालझेल गरेकोमा आपत्ति प्रकट गरे । हाल प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि नै प्रहार गरेर प्रतिनिधि सभा विघटन गरेका छन् । यही विषयलाई लिएर प्रचण्ड–माधव समूह सडकमा हामी यहाँ छौं भनेर आन्दोलनमा छ । ओली समूह देशव्यापी निर्वाचन हुने भन्दै हिँडिरहेको छ । एउटा कलाकारको हिसाबले देश कता जाँदैछ भन्ने लाग्छ ? भन्ने हाम्रो प्रश्नमा उनी जंगिए । ‘जसले जेसुकै गरेपनि सबैको अन्तिम इच्छा भनेको कुर्सी हो । कोही सडकमा हुन या निर्वाचनको तयारीमा, उनीहरु सबैका लागि पद र प्रतिष्ठा प्यारो छ जनताको समस्या होइन ।’ उनी गर्जिए । हाल सडकमा देखिएका सबै पूर्व प्रधानमन्त्रीहरु भएको र उनीहरुले आफ्नो कार्यकालमा कुनै लछारपाटो नलगाएको उनले बताए । प्रधानमन्त्री कसलाई बनाउने, मन्त्री कसलाई बनाउने भन्ने दौडले जनताको समस्या ओझेलमा परेको उनले खुलाए ।

एक समय यो नेतृत्व असफल भयो, यसले कामै गर्न सकेन भनेर आफूहरु बाजागाजासहित सडक आन्दोलनमा उत्रिएको उनले सम्झिए । त्यसबेलाको कलाकारको सडक आन्दोलनले नेतृत्वलाई राम्रैसँग ठेगान लगाएको थियो । तर अब उनी त्यस्तो गर्ने मनस्थितिमा छैनन् । अब त यो नेतृत्वप्रति पटक्कै विश्वास लाग्न छोडेको छ । यस अर्थमा ‘बाह्र वर्षमा पनि कुकुरको पुच्छर ढुङ्ग्रोमा राखेपनि बाङगाको बाङगै’ भन्ने उखान पनि सुनाइहाले । तैपनि आगामी दिन सुखद भइहाल्छ कि भनेर उनी पर्खिरहेका छन् । निरन्तर निरन्तर…

चाहिँदैन मलाई सिसाको महल
चाहिँदैन मलाई चमेलीको बास
यसै राम्रो छ यो मेरो जीवन
चाहिँदैन मलाई सम्पतिको रास ।

कालो धन थुपारेर मस्ती गर्नुभन्दा
हलो जोत्नु, गिट्टी कुट्नु होला राम्रो धन्दा
होला बरु झुपडीमा भोकै सुत्नु राम्रो
बितोस् बरु जिन्दगी पसिनामै हाम्रो।

चाहिँदैन मलाई सुनको दरबार
चाहिँदैन मलाई हिरा, मोती, हार
यसै राम्रो छ मेरो पैदल यात्रा
चाहिँदैन मलाई टलिकने कार ।

जता हेर्यो, त्यतै देख्छु असत्यको खेती
सच्चाइलाई रोक्न खोज्छन् बाटो छेकीछेकी
कहिलेसम्म यो संसारमा झुठले शासन गर्ने ?
सच्चाइ र सौन्दर्यलाई अप्ठ्यारोमा पार्ने

चाहिँदैन मलाई झुठाको बङगला
चाहिँदैन मलाई असत्यको फाँट
यसै राम्रो छ सच्चाइको बाटो
अदम्य छ मेरो यसमै डट्ने आँट ।

चाहिँदैन मलाई…