काठमाडौँ । भारतमा जनवरी १६ मा सबैभन्दा ठुलो कोभिड विरुद्धको खोप कार्यक्रम सुरु भयो । आजको मिति सम्म आइपुग्दा आठ दिनको अवधिमा भारतमा जम्मा १५ लाख १७ हजार मानिसले भारत बायोटेकको को भ्याक्सिन र कोभिडशिल्डका खोपहरु लगाइसकेका छन् । तर भ्याक्सिन लगाएको आठ दिनमै ६०० जना भन्दा बढी व्यक्तिहरूलाई त्यसको साइड इफेक्ट देखिएको छ । भने ६ जनाको हाराहारीमा भ्याक्सिन लगाइसकेपछि मृत्यु समेत भैसकेको छ । यद्यपि मृत्युको सम्पूर्ण कारण भ्याक्सिन मानिएको छैन ।

विश्वभर कोभिड विरुद्धका भ्याक्सिन प्रयोगमा आउन थालेपछि तिनले देखाउने साइडइफेक्टका कारण अहिले अमेरिका देखी भारतसम्मका मानिसहरू खोप लगाउन डराइरहेका छन् । भ्याक्सिन साइड इफेक्ट र त्योसंगै जोडिएका डरहरूले गर्दा मानिसहरूमा भ्याक्सिनप्रति एक किसिमको शङ्का पैदा भैसकेको छ ।

यही बिचमा नेपालमा पनि भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड अनुदानमा प्राप्त गरेको छ ।

गत बिहीबार भारतबाट जहाज हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय चिस्यान केन्द्रमा राखिएको खोप आज सबै प्रदेशका भण्डारण केन्द्रमा पुया्रइदैँ छ । सरकारको योजना सात प्रदेश र ७७ जिल्लामा गरी ३०० अस्पतालबाट खोप लगाउने छ । भने उपत्यकामा १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिने छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार यो खोप कोभिड-१९ व्यवस्थापनमा अग्र पङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शव वाहन चालक, सङ्क्रमितको मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

नेपालमा आएको कोभिशिल्ड खोप ३ हप्ताको अन्तरमा २ वटा लगाउनुपर्छ । दोस्रो मात्रा लगाएको १ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्धको एन्टिबडी बन्ने बताइएको छ ।

तसर्थ यी सबैका आधारमा आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरी स्वास्थ्य मन्त्री त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने फाइनल भएको बताएका छन् ।

यी सबैका बिच नेपालले प्राप्त गरेको त्यहि खोप हो जुन भारत, बेलायत देखी अन्य केहि युरोपेली देशहरूले समेत आपतकालीन अनुमति पाएपछि प्रयोगमा ल्याउँदै आएका छन् । भारतमा कोभिशिल्ड खोप ७० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न मिल्ने कोभिशिल्ड ढुक्क भएर लगाउन सकिने सरुवा रोग विशेषज्ञ डा. पुन बताउँछन् ।

डा. पुनका अनुसार गर्भवती, सुत्केरी, बालबालिका, गम्भीर रोगका औषधिको प्रयोग गरिरहेका बाहेक अन्यले निर्धक्क भएर खोप लगाउन सकिन्छ ।

नेपालमा पनि भर्खरै खोप अनुदान मार्फत प्राप्त भयसँगै यहाँ भ्याक्सिनलाई लिएर विभिन्न भ्रामक हल्लाहरू फिँजिएका छन् । सामाजिक सञ्जालहरूमा भारतले नेपाललाई परिरक्षणका लागी मात्रै १० लाख खोप अनुदानमा दिएको जस्ता समाचार टिप्पणीहरुले पनि आम मानिसको भ्याक्सिनप्रतिको विश्वास हराउँदै गएको छ । तसर्थ यस्ता भ्रामक वस्तुहरूबाट मानिसहरूलाई सचेत गराउनु पर्दछ भन्ने विज्ञहरूको ठहर छ ।

भारतले नेपालमा परीक्षण गर्नका लागी कोभिशिल्ड उपलब्ध गराएको हो त ?

डा. पुन भन्छन्, यो कथन मात्रै, यसमा कुनै सत्यता छैन । खोपको आपतकालीन प्रयोग भनेको चौथो चरणको ट्रायल भएकाले कोभिड विरुद्ध विश्वमा बनेका खोपको अहिले नतिजा आउने बेला भएको छैन । सोही कारण भारतबाट ल्याएको खोपको प्रभावकारिताबारे अहिलै मुख खोल्न सकिँदैन, उनले भने ।

अहिलेको लागी कोरोनाको खोप पाउनु भनेको नेपालको लागी ठुलै कुरा भएको बताउँदै डा।पुन भन्छन्, हरेक भ्याक्सिनमा केहि न केहि समस्याहरू हुन्छन् । खोप कत्तिको प्रभावकारी भन्ने वास्तविकता पहिलो र दोस्रो चरण गरी प्रयोगमा ल्याइसकेपछि मात्रै प्रमाणित हुन्छन् ।

हालसम्म विश्वमा ६ करोड मानिसमा विभिन्न कम्पनीका कोरोना विरुद्धका खोपहरु प्रयोग भैसकेको छ । चीनमा ५० लाख, बेलायतमा ६० लाख, अमेरिकामा १ करोड ७५, भारतमा १५ लाखभन्दा बढीले खोपको पहिलो डोज लिइसकेका छन् । जसमा सबैभन्दा बढी फाइजरको त्यसपछि ऐस्ट्रेजेनेका र चिनिया खोप छन् । फाइजरकै खोपले पनि नर्वे लगायतका देशहरूमा २३ जनाको मृत्यु भएको समाचारहरू हामीले पढेका छौँ । डा। पुन बताउँछन्, यत्तिको भिडमा साना कुरालाई लिएर सञ्जालहरूमा भ्रम फैलाउनु बिलकुल गलत हो । अहिले कुनै पनि खोपका बारे कुनै पनि टिप्पणी गर्ने समय छैन, उनले बताए ।

राजनीतिक अस्थिरता र व्यापारिक हिसाबले प्रतिस्पर्धाका बिचमा कुनै निश्चित समूहले सञ्जालको माध्यमद्वारा खोपका विषयमा अनेकन् जालझेल र नकारात्मक प्रचार गरिदिएका छन्, जसको फलस्वरूप अहिले नेपालमा मात्रै नभई विश्वमै खोपबारे नकारात्मक मानसिकता परेको उनको भनाई छ ।

मेडिकल साइन्सले खोपको व्यवहारिक प्रयोगको बारेमा गहन अध्ययनसहितको रिपोर्ट नगरिसकेको र विभिन्न कारणवश केहि व्यक्तिमा खोपको नकारात्मक रियाक्सन देखा पर्ने हुँदा मानिसहरूमा डर भएको डा. पुन खण्डन गर्छन् ।

यसर्थ कोभिशील्डको अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षण गर्दा पुरै मात्रामा दिइएको अवस्थामा ९० प्रतिशतसम्म प्रभावकारी देखिएको र ब्राजिल, युकेजस्ता देशमा गरिएको परीक्षण तथ्याङ्कमा अत्यधिक प्रभावकारी रहेको दाबी भैसकेको हुँदा सञ्जालको पछि लागेर खोपमाथि अनेकन् शङ्का नगर्ने पुनको अनुरोध छ ।

भ्याक्सिनले कति समय काम गर्छ ?

वीर अस्पतालका प्रवक्ता डा. अच्छुत कार्की पनि अहिले आम सर्वसाधारण मात्रै नभई केहि मात्रामा फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी हरू नै यो खोप नलाउने पक्षमा रहेको स्वीकार गर्छन् । यद्यपि देशकै जेठो वीर अस्पतालमा भने कुनै पनि कर्मचारीले खोप लगाउन इन्कार नगरेको भन्दै उनले भने, हाम्रो कन्फ्युजन भनेको भ्याक्सिनले कति समय काम गर्छ भन्ने हो ।

उनले भने, भ्याक्सिन उत्पादन गर्ने कम्पनीले एउटा भ्याक्सिन कति समय प्रयोग गर्न सकिन्छ भन्ने ठेट यकिन डाटा नदिएको हुनाले स्वास्थ्यकर्मी पनि दोधारमा छन् । तर रुसको स्पुतनिक भी, अमेरिकाको फाइजर, मोर्डनालगायत अन्य देशले उत्पादन गरेका खोपहरु पनि लगाइरहेकै हुँदा सबैले निस्फिक्री भई खोप लगाउन डा. कार्कीको आग्रह छ ।

खोपको सामान्य साइड इफेक्ट के हुन् ?

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार खोपको सामान्य साइड इफेक्टको रूपमा ज्वरो आउने, टाउको दुख्ने, खोप लगाएको ठाउँमा दुख्ने र गिर्खा पर्ने लगायत हुनसक्छ जुन ५ देखि ७ दिनसम्म रहन सक्छ । उनले भने खोपका गम्भीर लक्षणहरूमा चक्कर आउन, भोक कम लाग्नु, पेट दुख्नु, पसिना आउनु जस्ता पर्दछन् । त्यसैले खोप लगाए पश्चात् यस्ता लक्षणहरू देखिएमा नआत्तिईकन तुरुन्त चिकित्सकसँग समन्वय गर्न आवश्यक छ ।

कस्ता व्यक्तिले खोप प्रयोग नगर्ने ?

डाक्टरहरू भन्छन् एन्टी-भाइरल खोपले पनि कोरोना खोप जस्ता समस्याहरूको सामना गर्न सक्छ। यदि कसैलाई गम्भीर एलर्जी छ भने खोप नलगाउनु वेश हुन्छ । खोप लगाउनु भन्दा पहिले आफैले आफ्नो समस्या डाक्टरलाई बताउनु पर्छ ताकि त्यसले गर्दा अन्य साइड इफेक्टहरु नगरोस् ।

फ्लु भएका, कोरोनाबाट ठिक भएको २ हप्ता नपुगेका, १८ वर्षभन्दा मुनिका, गर्भवती, सुत्केरी भएका तथा गर्भवती हुने योजना बनाएका महिलाहरूले कोभिड विरुद्धको खोप लिन नहुने डा. पाण्डे बताउँछन् ।

उनी भन्छन्, दीर्घरोगहरु जस्तै क्यान्सर, मुटु, किड्नी, फोक्सो, मस्तिष्क, ब्लीडिंग डिस्अर्डर, प्लेटलेट सम्बन्धि समस्या र स्नायु प्रणाली आदिको समस्या भएका व्यक्तिहरूको सन्दर्भमा भने चिकित्सकको सल्लाह बमोजिम मात्रै खोप लगाउन पर्दछ ।

के कोरोनाबाट निको भएकालाई पनि खोप लगाउनु जरुरत छ ?

टोरन्टो विश्वविद्यालयका इम्यूनोलोजिष्ट जेनिफर गोमेर्मनका अनुसार कोरोना सङ्क्रमणबाट को सुरक्षित हुन्छ भनेर भविष्यवाणी गर्न गाह्रो छ। तर खोपमा रोग छनौट गर्नु गलत निर्णय हुनेछ।

विज्ञहरू कोरोनाबाट निको भएका मानिसहरूले खोप लागू गरे यो सुरक्षित र लाभदायक हुने बताउँछन्। खोपले प्रतिरोध क्षमता बढाउने हुनाले कोरोनाबाट निको भएको दुई हप्तापछि खोप लगाउनु सुरक्षित मानिन्छ ।