विश्व महामारीको रूपमा फैलिएको कोभिड-१९ ले विश्वलाई नै प्रभाव पारेको छ । यसले हाम्रो जस्तो विकासोन्मुख देशलाई त झनै प्रभाव पार्ने नै भयो । यसले हरेक क्षेत्रसँगै वित्तीय क्षेत्रमा झनै प्रभाव पारेको छ । वित्तीय क्षेत्रमा परेको प्रभावले आर्थिक मन्दि हुने हो कि भनी सबै जना सचेत रहनु पर्ने देखिन्छ ।

वित्तीय क्षेत्रमा सरकारको तीन खम्बे अर्थ नीति अन्तर्गत सहकारी पनि एक हो । वित्तीय कारोबारमा बढी भन्दा बढी जनसहभागिता भएको क्षेत्र पनि सहकारी नै हो । सहकारी संस्थाले सदस्यहरूलाई आर्थिक र सामाजिक स्तर उकास्न प्रयत्नरत छ । कोभिड-१९ लाई मध्ये नजर गरी भक्तपुर नगरपालिकाले सहकारी मार्फत सचेतना कार्यक्रम गर्न निर्देशन नै दिएको छ । कोभिड-१९ ले मै हुँ भन्नेहरूलाई पनि बाँकी नराखेको, विकासशील देशका राजकुमारीको समेत निधन भएको र अमेरिकामा स्थिति नियन्त्रण बाहिर रहेको कोभिड-१९ले बढी मृत्यु हुने पहिलो देशमा परैबाट पुष्टि हुन्छ । त्यसैले विद्यालय र कलेजको शिक्षा पर्याप्त नहुन सक्छ । अझ समाज र देशको परिस्थितिले धेरै कुरा सिकाउँछ । समुदायमा आधारित साहकारीले चाहे कोभिड होस् वा वित्तीय क्षेत्र कसैले आफू र आफ्नो ज्ञान नै सही र सर्वेसर्वा सम्झनु गलत हुनेछ । त्यसैले समाजबाट सिक्नु पर्ने र समाजको निम्ति काम गर्नु पर्ने आवाज उठेको छ ।

समाजको निम्ति काम गर्ने देश चीनमा कोभिड-१९ समयमै नियन्त्रण भएको छ भने समाजलाई केन्द्रबिन्दुमा राखेर नसोच्ने र नाफा घाटाको रूपमा सोच्ने देश अमेरिकामा अहिलेसम्म भयावह स्थिति छ । जुन सहकारीमा पनि लागु हुन्छ । त्यसैले सहकारीले सदस्य र समुदायको निम्ति काम गर्नुपर्नेमा घचघच्याई रहेका छन् । कोभिड-१९ले सहकारी संस्थामा परिवर्तन समयको आवश्यकता हो । धेरैजसो सहकारीहरू आज विभिन्न स्रोतहरूबाट परिवर्तनको लागि ठुलो शक्तिहरूको सामना गरिरहेका छन् । सफलतापूर्वक परिवर्तनको एक व्यवस्थित र योजनाबद्ध तरिकाको प्राथमिक जिम्मेवारी भएको छ, यस सन्दर्भमा हामीले सङ्गठनात्मक परिवर्तनको व्यवस्था गर्नका लागि कर्मचारीहरूको पक्षबाट प्रतिरोध आउन सक्छ । परिवर्तनलाई सफल बनाउनको लागि सङ्गठन परिचालन गर्नु पर्दछ । यथास्थितिमा परिवर्तन गर्न कर्मचारीहरूको प्रतिरोध बाबजुद निर्देशन दिई संयमित बनाउँदै व्यवहार बदल्नु पर्छ । सहकारीमा सामाजिक मूल्याङ्कन गर्दै विनाशबाट बचाउन कर्मचारीहरूमा पुरानो दृष्टिकोण वा व्यवहारलाई अयोग्यको रूपमा मापन गर्ने भएकोले परिवर्तनको लागि प्रेरित गर्न मद्दत गर्दछ ।

सङ्गठनको नयाँ संरचनाको आन्दोलन सङ्गठनात्मक परिवर्तनलाई सफल बनाउनको लागि हो । व्यक्ति परिवर्तनसँगै नयाँ व्यवहार जस्तै काम गर्ने तरिकाहरू, नयाँ सोचाइ, नयाँ भूमिकाहरूको धारणा सिक्छन् । सञ्चालकलाई जिम्मेवार बनाई उत्साहित, सामूहिक कार्य र समन्वयलाई प्रोत्साहित गरी सकारात्मक ऊर्जा, अर्थपूर्ण भाषा र साहसी नेतृत्वले परिवर्तन सम्भव बनाउँछ । सञ्चालकहरूमा नयाँ विश्वास, भावना र व्यवहारमा आन्तरिक सुदृढीकरण आवश्यक छ । बचत तथा ऋण सहकारीमा अनुसन्धान गरी परिवर्तनका जिज्ञासा, रेकर्डहरू समीक्षा गरी सदस्यहरूको प्रतिक्रिया र चिन्ता सुनेर रोगको निदान गर्ने, बचत तथा ऋणको समस्या विश्लेषण गरी प्राथमिक चिन्तन, समस्या क्षेत्र र सम्भावित कार्यमा संश्लेषण गर्ने, सदस्यहरूको प्रतिक्रिया अनुसार कार्य योजनाहरू विकास गर्ने, समस्या सुधार गर्न सोही अनुसार विशिष्ट कार्यहरू गर्ने, कार्य योजनाको प्रभावकारी मूल्याङ्कन गरी सङ्गठनमा परिवर्तन ल्याउन सके मात्र सहकारीको प्रभावकारिता देखाउन सकिनेछ ।

कोभिड १९ को प्रभावले गर्दा धेरै सहकारीहरूको वासलात कारोबार लगायत लेखा परीक्षकको प्रतिवेदन प्रगति उन्मुख नहुन सक्छ । तर दुःखमा धैर्यतापूर्वक काम गरी त्यसलाई शक्तिमा बदली सहकारीलाई चलायमान बनाउनु पहिलो दायित्व हुने छ । अबको सहकारीको रणनीति सहकारी संस्थाको सामुदायीकरण, वास्तविक अर्थात् सेवा उपयोग कर्ता सदस्य विस्तार, सहभागिताका मञ्च सृजना, सेवामा सदस्य केन्द्रीयता, प्रतिनिधि सङ्घहरूसँगको सहकार्य, महिला सहभागिताको बढवा र सघन सदस्य शिक्षामा जोड दिने हुनु पर्छ । २०६२/०६३ को आन्दोलनले गणतन्त्र स्थापना भई समाजवाद उन्मुख संविधान समेत प्राप्त भई सकेको छ तर सामन्तवादी व्यवस्थाको लामो दौरानबाट मुक्त जनतामा विकासको आकाङ्क्षा थियो र नेताहरूलाई आफ्नो प्रतिज्ञाअनुसार गरेर देखाउनु थियो । गणतन्त्र र समाजवादको विकासको अगुवाइ गरिरहेका बखत जन साधारणमाझ सहकारी आन्दोलन दुवैको आधार बन्न सक्थ्यो । त्यसरी सदस्यहरूको आर्थिक र सामाजिक स्तर उकास्ने परिकल्पनाकासाथ सहकारी प्रस्तावनालाई प्रश्रय दिएर गरिबको स्रोत गरिबीको समस्या समाधानार्थ लगाउनु थियो । देशमा पूर्ण आकारमा फैलिएको सहकारी आन्दोलन पुगनपुग ६३ लाख साना कृषक, कालिगड, श्रमिक, उपभोक्ता र गरिबी कोषका अरूहरूको संलग्नतामा सबै प्रदेश, जिल्ला र नगरपालिका वा गाउँपालिकामा सञ्चालित ३४ हजार बढी सहकारी सङ्घसंस्थाहरू सहित आन्दोलन क्रमशः शोषणविहीन आर्थिक सम्बन्धहरू प्रवर्धन गर्ने शक्तिको रूपमा विकसित भइरहेको छ । ‘सहकारीपनका लागि नियमन’ को ध्येय पछ्याउँदै नगरपालिकाको सहकारी नियमन निकायले सहकारी सिद्धान्तअनुरूप सहकारी सङ्घसंस्थाका स्वनियमनकारी प्रक्रियाहरूलाई परिपूर्ण तुल्याउँदछ । स्थानीय सरकारका सहकारी निकायहरूलाई आवश्यक नियामक, प्रवर्द्धनात्मक र प्रशिक्षण वा शैक्षिक सेवाहरू प्रदान गर्ने अर्थमा अग्रणी भूमिका खेल्नु पर्ने हुन्छ ।

कोभिड १९ को महामारीबाट पर्ने प्रभावको सामना गर्न धेरै देशले विस्तारकारी मौद्रिक एवं वित्त नीति अवलम्बन गरेको अवस्थामा नेपालको मौद्रिक नीतिले समेत बैङ्क वित्तीय संस्था, विभिन्न पेसा, व्यवसायलाई सहुलियत, छुट, सुविधा प्रदान गर्दै नियमन गर्ने काम गरेको छ । कोभिड १९ र आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिका सन्दर्भमा सहकारी क्षेत्रले जोखिम व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउन जोखिम व्यवस्थापन कार्यदल बनाउने, प्रतिवेदन र पत्राचार विद्युतीय माध्यमबाट, खर्चमा मितव्ययिता अपनाउने र सो कार्य सदस्यहरूलाई समेत अभिप्रेरित गर्ने साथै संस्थाले आन्तरिक सुशासन कायम गर्ने, आर्थिक क्षेत्रलाई पुर्नउत्थान गर्न उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका क्षेत्रमा सदस्यहरूलाई सहुलियतपूर्ण कर्जा/पुनर्कर्जा प्रवाहमा जोड दिने र कृषि उत्पादन बढाउन र सुरक्षित उपभोगको लागि पारिवारिक खेती प्रवर्द्धन, करेसाबारी तथा कौसी खेतीमा जोड दिने, जमिन बाँझो नराख्ने तथा खाने बानीमा परिवर्तन गर्ने सदस्य तथा समुदायलाई सुसूचित र अभिप्रेरित गर्ने, उत्पादित सामग्री स्थानीय स्तरमा वा नजिकको बजारमा वितरण गर्ने, किसानको उत्पादन बिग्रन नदिन वितरण प्रणालीमा ध्यान दिने, समयभित्र ऋणको व्याज र किस्ता तिर्न नसके पल्र्स अनुसार कर्जा नोक्सानी कोषको व्यवस्थापन गर्ने, भाका नाघेको ऋणको हकमा छ महिनादेखि एक वर्षसम्म भाखा थप गर्ने र व्याज, अतिरिक्त शुल्क तथा जरिवाना लिन नहुने नियमन निकायहरूले निर्देशनहरू जारी गरेको छ । अतः सहकारी संस्थाहरू यसरी अगाडि बढे संस्थागत र सदस्यहरूको हित भई समुदायलाई नै लाभ हुने छ ।

कोभिड-१९ सँगै सहकारीको ६ दशकमा देखिएको सहकारी विकृतिहरूको पुनरावृत्ति हुन थालेको भन्दै चौतर्फी चिन्ता व्यक्त हुन थालेको छ । सहकारी ऐन–२०७४ जारी भएपछिको स्थानीय सरकारले सहकारी हेर्ने जिम्मा पाएपछि नियमन निकायले सहकारी भित्र भएको विकृति र विसङ्गति केलाउन नसक्दा चिन्ता गर्ने ठाउँ दिएको छ । साथै सहकारीमा सञ्चालक र व्यवस्थापक बिच समन्वय र सौहार्द्यता नहुँदा झनै सहकारीमा विकृति मौलाउन थालेकोले यता तिर नियमन निकायको ध्यान जानु आवश्यक छ । मानव उत्पत्तिको इतिहास हेर्ने हो भने कार्ल मार्क्सले भन्नुभए झैँ आदिम साम्यवादी युगदेखि हालसम्म वर्ग सङ्घर्षको इतिहासबाट गुज्रेको छ । सन् १४९८ मा बेलायतको एबर्दिनमा स्थापना भएको दि शोर पोर्टर्स सोसाइटी नामक संस्थालाई विश्वको पहिलो सहकारी संस्थाको रूपमा लिइन्छ । काल्पनिक समाजवादी दार्शनिक एवम् स्काउटका संस्थापक रोवर्ट ओवेनले सन् १८३१ मा आफ्नो कपास व्यापारमा संलग्न कर्मचारीहरू र तीनका बालबच्चाहरूलाई शिक्षा सहितको राम्रो वातावरणको लागि सहकारी भण्डारण खोली सहकारी पिताको रूपमा परिचित भयो । सन् १८४४ मा बेलायतमा रोचडेल सोसाइटी या इक्वाइटेबल पाईओनियरर्स नामक सहकारी खोली रोचडेल प्रिन्सिपलले सहकारी आन्दोलनबाट जर्मनमा रेफेइजनले बचत तथा ऋण सहकारी संस्थाले ग्रामीण समुदायलाई शोषणबाट मुक्त गराएकोले बचत तथा ऋण सहकारी संस्थाका पिता भनिन्छ । प्रजातान्त्रिक रूपमा नियन्त्रित अनि संयुक्त स्वामित्व सहितको उद्यममार्फत आ–आफ्नो साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवम् आकाङ्क्षालाई पूरा गर्न भनी स्वैच्छिकरुपले सङ्गठित भएका व्यक्तिहरूको स्वायत्त सङ्गठन नै सहकारी हो । सहकारी मूल्य मान्यतामा सहकारी संस्थाहरू आत्मनिर्भर, स्व–उत्तरदायित्व, प्रजातन्त्र, समानता, सामाजिक न्याय तथा ऐक्यबद्धताका मूल्यहरूमा आधारित छन् । आफ्ना संस्थापकहरूको परम्परामा सहकारी संस्थाका सदस्यहरूले इमानदारिता, खुल्लापन, सामाजिक दायित्व र अरूको चासो राख्ने नैतिक मूल्यहरूमा विश्वास राख्छन् भन्ने सिद्धान्तहरू : १) स्वैच्छिक तथा खुल्ला सदस्यता, २) सदस्यहरूको आर्थिक सहभागिता, ३) शिक्षा, तालिम र सूचना, ४) समुदाय प्रति चासो, ५) सदस्यहरूलाई प्रजातान्त्रिक नियन्त्रण, ६) स्वायत्तता र स्वतन्त्रता र ९) सहकारीहरू बिच पारस्परिक सहयोग रहेको छ ।

यस आधारमा एक सदस्य एक मत र जतिसुकै शेयर धनी भएपनि साधारण सभा नै सर्वोच्च अङ्ग हुने हुँदा यसले कार्यपालिका र न्यायपालिकाको कार्य सम्पादन गर्ने गर्छ । यसले गर्दा सञ्चालक साधारण सदस्य प्रति र कर्मचारीहरू सञ्चालक समिति प्रति उत्तरदायी हुने गर्छ । तर स्वायत्तता हुनु पर्ने संस्थामा व्यवस्थापक वा कर्मचारीहरू र बाह्य हस्तक्षेपबाट मुक्त हुन नसक्दा सहकारीमा विकृति भित्रिँदै गएको अनुभव गर्न सकिन्छ । जसले गर्दा सञ्चालक र व्यवस्थापक वा कर्मचारीहरू बिच तसल र अहङ्कार उत्पन्न भई सहकारी मूल्यमान्यता भत्किरहेको प्रति नियमन निकायले ध्यान जानु पर्ने देखिन्छ । यहाँनिर अहङ्कारीको मूल्यको प्रेरक प्रसङ्ग सान्दर्भिकताको कुरा राख्न चाहन्छु । गौतम बुद्धको पालामा एक अहङ्कारी तपस्वीले तप गर्दै बुद्धभन्दा आफू सर्वश्रेष्ठ रहेको र घमन्ड गरी बुद्ध विरुद्ध अनेक अपमानपूर्ण वचन प्रयोग गरे । बुद्धले अन्तिममा तपस्वीको महानता स्विकार्दै त्यसको दृष्टान्त हेर्न चाहे र तपस्वीको तपको बलमा पानीमाथि हिँडेर खोला तरे तर बुद्धले नाउ चढेर नदी पार गरे र तपस्वीले नाविकलाई बुद्धलाई नदी पार गराएबापत दुई पैसा दिए । बुद्धले तपस्वी तर्फ फर्केर भने ’तिम्रो वर्षौँको तपको बलको मूल्य दुई पैसा रहेछ ।’ बुद्धको यो बचन सुनेर तपस्वीलाई आफ्नो अहङ्कार को ज्ञान भयो र बुद्धसँग क्षमा मागे । निश्चय पनि सहकारीमा अरूले तपाईँ भनोस् नभनोस् आफैँ मपाईंत्व वा अहङ्कारी भएर हिँडे सहकारीमा विकृति जन्मिन सक्छ ।

सहकारी प्रति सकारात्मक परिवर्तन ल्याउने र सहकारी सदस्यहरूको आर्थिक र सामाजिक स्तर उकास्ने ध्येय र गन्तव्य रहेकोमा सदस्यहरूको बिचको सुविधाहरूमा विभेद प्रायः सहकारीमा भएको देखिन्छ । संस्थापक र नयाँ सदस्यहरू बिचको भेद नै सहकारीमा देखिएको पहिलो विकृति रूपमा लिन सकिन्छ भने सञ्चालक समितिले जिम्मा दिएका व्यवस्थापक वा कर्मचारीहरूले आफ्नो अधिकार दुरुपयोग गरी सहकारीलाई नाफा घाटामा तुलना गरी बढी नाफा कमाउने र कर्मचारी सुविधा लिने जुन प्रपञ्च रहेको हुन्छ त्यो प्रायः सञ्चालकलाई थाहा नहुन सक्छ । सहकारीले नाफामा लोभ गर्नु हुँदैन । लोभले विलाप हुन्छ । लोभको एउटा रोचक प्रसङ्ग जोड्न चाहन्छु । लोभ के भनेर एक जना बच्चाले बुबालाई सोध्यो । बुबाले तिम्रो अकंलको पसलमा मीठो मीठो चकलेट छ लिएर आउनु तर तिमी चकलेट लिने क्रममा फर्केर लिन पाउँदैन भनेर पठायो । बच्चाले पसलमा गएर चकलेट लिन खोज्दा त्यसको अगाडि अर्को मीठो चकलेट देख्यो र अगाडिको लिन बढ्यो यही क्रम दोहोरियो । अन्तिममा पुग्दा चकलेट नभएको ठाउँमा पुग्छ र फर्केर लिन नपाउने भएकोले रित्तै बच्चा फर्केछ । बुबाले भनेछ लोभ के हो बुझियो त । त्यसैले सहकारीले पनि नाफाको लोभमा काम गर्नु हुँदैन । सदस्यहरूको हितमा काम गर्नु जरुरी छ । सहकारीमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेहरूको व्यक्तिगत महत्वकांक्षालाई अङ्कुश लगाउन नसक्दा विकृतिमा मलजल पुगेको छ । सहकारी मूल्यमान्यता र सिद्धान्त अनुसार नभई व्यवस्थापक वा कर्मचारी केन्द्रित बनेको छ । संस्थापक, सञ्चालक र व्यवस्थापक वा कर्मचारीहरूले सहकारी मूल्य मान्यता र सिद्धान्त आफ्नो अनुकूल व्याख्या गरी आदर्श र पद्धति स्थापित गराउन अग्र पङ्क्तिमा रहनु पर्ने अगुवाहरू नै त्यसलाई बिर्सिएर सदस्यहरूको हित विपरीत व्यक्तिगत र संस्थागत स्वार्थमा पदीय दायित्व दुरुपयोग गरी निर्णयहरू गराउँदा सहकारीमा विकृति मौलाएको तर्फ नियमन निकायको ध्यान जान सकेको छैन । त्यस्तै सबै सर्वगुण सम्पन्न हुँदैनन् । एउटा उखान पनि छ– ‘कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा’ एक जना युवक वैद्य सिक्ने भनेर वैद्य कहाँ गए । युवकको उत्सुकता देखेर ऊँट बिरामी भएको स्थानमा लगे र दुई वटा ढुङ्गा लिन लगाई सास फेर्न नसकेर ढलिरहेको ऊँटको घाँटीको तल एउटा ढुङ्गो बिछ्याएर माथिबाट अर्को ढुङ्गोले हानेर सास फेर्न सक्ने बनायो । ऊँटको घाँटीमा नरिवल अड्केको वैद्यले नरिवल फुटाएर सास फेर्न सजिलो गरेको थियो । त्यो देखेर युवक आफूले वैद्यको ज्ञान हासिल गरेको ठाने । वैद्यले ज्ञान पूरा भएको छैन भनेर रोक्दा रोक्दै पनि युवक बिदा लिई गाउँमा फर्के । गाउँमा आफूले वैद्यको ज्ञान पूरा गरेको हल्ला फिँजायो । त्यसपछि एक जना वृद्ध बिरामी हुँदा उपचार गर्न आयो । उसले ढुङ्गोको कलाबाट उपचार गर्दा वृद्धको मृत्यु भयो र गाउँलेले युवकलाई पनि पिटेर मारे । त्यसैले अल्पज्ञानले सबैलाई हानी हुन्छ । सधैँ आफू मात्र ठिक अरुसबै बेठीक सोचले सहकारीमा काम गर्दा हानी नोक्सानी भई विकृति मौलाउँछ भने त्यो भन्दा पनि आफैँ बोक्सी आफै धामी भई आफूले अरूलाई लाञ्छना लगाई हिँड्ने र आफूलाई मन नपर्ने वा आफूले भन्ने जस्तै नगर्नेलाई आरोप लगाई आफू चोखो भई दूधको साक्षी बिरालो भई बस्ने चालबाजीले सहकारीमा विकृति मौलाएको अनुमान गर्न सकिन्छ ।

सत्य र इमानदारीपूर्वक सेवा गर्ने भए पद र पैसा आवश्यक नहुने थुप्रै सहिदहरू र कार्लमार्क्स, गणेशमान सिंह, माहात्मागान्धीहरुको उदाहरणहरू समेत छन् । त्यसैले सहकारी मूल्य मान्यता र सिद्धान्तलाई अनुसरण गर्ने काम संस्थापक, सञ्चालन र व्यवस्थापक वा कर्मचारीहरूको आवश्यकता सर्वत्र महसुस गर्न थालेका छन् । २०२४ र ०२५ सालमा नवदुर्गा बहुमुखी सहकारीको विकृतिहरू पुनरावृत्ति हुन थालेको छ । कर्मचारीहरू भनेको स्थायी सरकार मानिन्छ र सहकारीमा पनि त्यो लागु हुन्छ । जसरी देश सञ्चालन गर्न बहुमत प्राप्त पार्टीले पाँच वर्ष सरकार चलाउँछ त्यसरी नै सहकारीमा पनि साधारण सदस्यहरूबाट निर्वाचितहरुले ४ वर्ष सहकारी चलाउँछ । तर कर्मचारीहरू वर्षै वर्ष काम गरी सकेको हुनाले सबै जानकारीका साथै सबै सदस्यहरू चिनजान हुने नै भयो । जसले गर्दा पदलोलुपहरू आफू पदमा आउन वा भएकाहरू रहिरहन विभिन्न व्यक्तिहरूको चलखेलमा फसि सहकारी मूल्यमान्यता र सिद्धान्त अनुसार चल्न नसक्नु विकृतिहरूको जड हो । कुनै पनि सहकारीमा सञ्चालक समिति,व्यवस्थापक र कर्मचारी बिच समन्वयको अभाव नै सहकारीमा पसेको विकृतिको रूपमा लिन सकिन्छ । सहकारीमा पनि परिवारवाद, आफ्नो इष्टमित्र, साथीभाइ, गुटबन्दी हाबी भई मित्र मण्डलीले सहकारी सञ्चालन गर्दा एकको गल्ती र अपराध अर्कोले छोप्ने साथै पद लोलुपमा गल्ती र अपराध सहने प्रवृत्ति हाबी भएको छ । त्यसैले नवदुर्गा बहुमुखी सहकारीमा भएको भ्रष्ट्राचार विरुद्धको आन्दोलन अहिले पनि आवश्यक रहेको छ र सहकारीलाई जोगाउन गणतन्त्र स्थापनासँगै सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ आइसकेको छ । यो अनुसार सहकारीले बनाई राखेको कार्यविधिहरू मेल खान्छ कि खाँदैन अथवा सहकारीले प्रशासनिक कार्यविधि अथवा कर्मचारीहरू हाजिर नगरी समयावधि नतोकी तलब खाने कार्यविधिहरू र सञ्चालक समितिको निर्णयहरू जुन सहकारी मूल्यमान्यता र सिद्धान्त विपरीत छ त्यस लगायत स्थानीय सरकारले सहकारीको हिसाब किताब चुस्त र दुरुस्त चेक जाँच गरी सहकारीमा विकृति मौलाउन नदिने तर्फ ध्यान दिनु जरुरी रहेको छ ।