
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ६ घण्टा छापापछि यातायात व्यवस्था कार्यालय जनकपुरधामले सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षा अनिश्चित कालको लागि स्थगित गरेको छ ।
अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले साँझ देखि रातिको करिब साढे १० बजेसम्म छापामारी गरेको थियो ।
यातायात व्यवस्था कार्यालय जनकपुरधामका निमित्त प्रमुख वीरेन्द्र साहले बुधवार एक सूचना जारी गर्दै यस कार्यालयबाट हुने लिखित तथा प्रयोगात्मक परीक्षा कार्यव्यस्तताको कारण अनिश्चितकालको लागि स्थगित गरेको जानकारी दिएका छन् ।
सवारी चालक परिचय–पत्र बापत उठाएको घुसको ठुलो रकम कार्यालयभित्रै रहेको गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले छापामारी गरेको थियो ।
सो अवधिमा अख्तियारको टोली कार्यालय प्रमुखसहित दुईजना करारका कर्मचारी, एकजना कार्यालय सहयोगी र दुईजना बिचौलियालाई कार्यालयभित्रै थुनेर राखेको थियो ।
अख्तियारले करिब ६ घण्टाको अप्रेसन गरे पनि कार्यालय सहयोगी भोगेन्द्र कापरलाई २ लाख २३ हजार ८ सय रुपैयाँ र बिचौलिया राज किशोर भगतलाई ५० हजार रुपैयाँ सहित नियन्त्रणमा लिएर गएका थिए ।


जीएनएन नेपालमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्