१) शहीदहरूको सम्झनामा

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए ।

हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा छ धड्कन शहीदको
पाउने थिएनौँ खुशी तिनले छाडेर नगए
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए !

(०१९-रचना)

२) यो हल्लै हल्लाको देश हो

कानमा इयरफोन लगाउनुपर्ने बहिराहरू
जहाँ संगीतका प्रतियोगिताका जज हुन्छन्
र, जहाँ आत्मामा पत्थर परेकाहरू
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरू जहाँ रेसमा विजेता हुन्छन्
र जहाँ प्लास्टर गरिएका हातहरूमा
सुरक्षाको संगीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरूका ढोकाअगाडि
डोकोका डोको,
खर्पनका खर्पन,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
स्टाक एक्सचेन्जका सेयरजस्तै
आत्मा क्रय-विक्रय गर्न सक्नेहरू
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कट पाताजस्तै
चाउरी परिसकेकाहरू
तन्नेरीहरूका अगुवा हुन्छ
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको ‘वास एन वियर क्रिज’ कहिल्यै बिग्रन्न,
जहाँ जतिसुकै/पाप गरेको वेश्याको पनि
अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न,
जहाँ कृषि-मेलाहरूमा
दोब्बर उब्जनी हुने बीउहरूको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका सम्चारले भरिन्छ,
जहाँ वागमती र विष्णुमतीका साटोमा
अब बियर र हि्वस्की बग्दछन्,
र जहाँ अब पशुपतिनाथ र स्वयम्भूनाथका मन्दिरको उपयोग
तिनका प्रसाद खानमा कम
र तिनका पछाडिका वनहरूमा
आडम इभको ‘वर्जित फल’ खानमा बर्ता गरिन्छ,
जहाँ चिनीको कारखानाले
चिनी होइन, रक्सी मात्र बनाउँछ
र जहाँका स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ,
र जहाँ गाइडले टुरिस्टलाई
नेपालको विदेशलाई देन सम्झाउँछ
र बिदाको बेलामा उससित उसको
विदेशी क्यामेराको देन माग्दछ,

जहाँ तन्नेरीहरू
किल्ला काँगडा र नालापानीको गीत गाउँदै
अब कवाज खेल्छन्
टाई र कोटको कलरमा खुकुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आफ्नो मुटु चिरेर
कि ए मेरा देशवासीहरू हो
ए मेरा देशका राष्ट्र-कविहरू हो
ए मेरा देशका सम्माननीय नेताहरू हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि हो
अंशैबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरूमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
र यो देशका असंख्य बगरहरूमध्ये एउटा बगरमाथि
मेरो पनि चिता हुनेछ
यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट आउँछ यो भन्न
कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरूका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुपि्रएको पाइनेछ ।

त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो ।

(०२४-रचना)

(दुवै कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे- ०२६’ कवितासंग्रहबाट लिइएको हो ।)