काठमाडौँ । अहिले विश्वमा सम्भवतः सबैभन्दा चलेको शब्द हो कोरोना अनि त्यसपछि भ्याक्सिन । शक्ति राष्ट्र अमेरिका देखी युरोपसम्म, नेपाल देखी भारतसम्म। राष्ट्रिय सञ्चार माध्यम देखी, अन्तर्राष्ट्रिय सञ्चार माध्यमसम्म कोरोना भ्याक्सिन नै कुराकानीको विषय बनेको छ । तर केहि पछिल्लो समय कोरोना सँगसँगै भ्याक्सिनको डिप्लोमेसी पनि बजारमा उत्तिकै प्रयोग हुन थालेका छन् । विश्वमा केहि अघि देखी नै यो शब्द प्रयोग गरिने भएपनि नेपालसँग रुष्ट ठानिएको भारतले १० लाख कोरोना विरुद्धको खोप दिएपछि यहाँ पनि भ्याक्सिन कूटनीति (डिप्लोमेसी) प्रचलनमा ल्याइएको छ ।

यसो त असल छिमेकीको पहिचान मुस्किल समयमै हुन्छ । विश्वमा कोरोनाको खोपमा अभावका बिचमा भारतले पनि नेपाल लगायत अन्य दक्षिण एसियाली छिमेकी राष्ट्रहरूलाई निःशुल्क खोप उपलब्ध गरायो । चाहेर होस् या नचाहेर भारतले नेपाललाई खोप दियो जुन हामी लाउँदैछौं ।

भारतले दिएको १० लाख परिणामको खोप अभियान दोस्रो चरणमा पुग्दै गर्दा अर्को मित्रराष्ट्र चीनले पनि अनुदानमा खोप दिन इच्छा गरेको छ । चीनले नेपाललाई छिट्टै सिनो फार्मले उत्पादन गरेको पाँच लाख डोज खोप दिने प्रतिबद्धता जनाएको छ । जुन नेपालका लागी सकारात्मक विषय हो ।

तर भारत र चीन दुई ठुला राष्ट्रबिच व्यापारिक प्रतिस्पर्धा देखी सीमा विवादमा समेत चर्कोचर्कि परिरहेका बेला तारम्तार दुवै छिमेकी देशले सहयोग गर्ने अगाडि सर्नुमा कतिले साँढेको जुधाइमा नेपालको मिर्चाई हुने हो कि भन्ने तर्क पनि राख्ने गरेका छन् ।

के हो भ्याक्सिन डिप्लोमेसी (खोप कूटनीति) ?

यसको अर्थ देशको कूटनीतिक स्थिति सुदृढ पार्न कुनै खास खोपको प्रयोग गर्नु हो। प्रायः सबै देशहरूले यो कूटनीति प्रयोग गरिरहेका छन् ता कि उनीहरूले आर्थिकरुपले कमजोर वा रणनीतिक रूपमा महत्त्वपूर्ण देश आफ्नो कब्जामा पार्न सकुन् ।

वासिङ्टन युनिभर्सिटीका प्रोफेसर पिटर जे होटेजका अनुसार जब कुनै देशले विदेशमा फैलिएको रोगसँग लड्न खोप पठाएर आफ्नो विदेश नीति प्रयोग गर्दछ, यसलाई खोप कूटनीति भनिन्छ। दुवै देशहरूले आफ्ना मतभेद बिर्सन प्रयोग गरेमा मात्रै यो कूटनीति तब प्रभावित साबित हुन्छ ।

प्राध्यापक पिटर जेका अनुसार रुस र संयुक्त राज्य अमेरिका बिचको खोप कूटनीति सन् १९५६ शीतयुद्धको बेलामा पनि प्रयोग भएको थियो। आजको युगमा यो शब्द फेरि फेला परेको छ । यस पटक यो शब्दको प्रयोग कोरोना भ्याक्सिनको साथ विश्वभर गरिदैंछ । विशेष गरी चीन र भारतबिच प्रस्टसङै खोप कूटनीति भएको देखिन्छ ।

संयुक्त राष्ट्र संघको रिपोर्ट अनुसार हालसम्म १० देशहरूमा ९५ प्रतिशत कोरोना खोप दिइएको छ । यो ठुलो चिन्ताको विषय हो। यस हिसाबले, छिमेकी देशहरूलाई खोप सहयोगलाई एक सकारात्मक पहलको रूपमा हेरिनुपर्दछ। यद्यपि भारत र चीनको भ्याक्सिनको सहयोगलाई काउन्टरपोइन्टको रूपमा हेरिएको छ।

भारत र चीनबिचको नयाँ जंग : भ्याक्सिन डिप्लोमेसी

चीन र भारत एसियाका दुई ठुला देशहरू हुन्। जनसङ्ख्याको हिसाबले उनीहरू विश्वमा पहिलो र दोस्रो स्थानमा छन्। कोरोना महामारीको युगमा यी दुवै देशले आफ्नो सम्पूर्ण जनसङ्ख्यालाई खोप नलगाई छिमेकी राष्ट्रहरूलाई सहयोग गरिरहेको छन् । अन्तर्राष्ट्रिय कूटनीतिक विश्लेषकहरूले पनि चीन र भारतबिचको मद्दत गर्न प्रतिस्पर्धाले सिधै भ्याक्सिन डिप्लोमेसी जन्माएको जिकिर गर्छन् ।

अर्थात् अब भारत र चीनबिच नयाँ जंग सुरु भएको छ – ‘भ्याक्सिन डिप्लोमेसी’ । दुबै देशहरू आफूभन्दा साना राष्ट्रलाई खोप अनुदानमा दिन तम्सिएका छन् । त्यसैको फलस्वरूप नेपालले पनि यी दुई देशबाट कूल मिलाएर १५ लाख खोप प्राप्त गर्ने क्रममा छ ।

दक्षिण एसियामा मात्र नभई एसिया प्रशान्त क्षेत्रका देशहरूमा पनि कूटनीतिक प्रभुत्व बढाउनमा चीन केन्द्रित छ। यी क्षेत्रहरू रणनीतिक रूपमा भारतको लागि पनि महत्त्वपूर्ण हुन् ।

वास्तवमा, चीन भन्दा पनि विश्वमै कोरोना सङ्क्रमितमा दोस्रो स्थानमा आउने भारतले आफ्नो देशमा भ्याक्सिनेसन सकेर अन्य देशमा पठाउनुपर्ने थियो । तर विश्व गुरु हुने हतारमा भारतले आधा दर्जन देशहरूमा खोपहरू पठाइरहेको छ। छिमेकी देश बाहेक ल्याटिन अमेरिकी देश ब्राजिललाई पनि भारतको खोप पठाइएको छ। भारत विश्वका पहिलो देश हो जो अन्य देशमा खोप पठाइरहेछ । यहीबाट कयौँ भारतीय नै नरेन्द्र मोदी सरकारको यो कूटनीतिलाई अस्वीकार गर्दै आएका छन् ।

भारतले खोप रणनीति अपनाएपछि चीन चुप बस्ने सवाल नै भएन । चीनले पनि भारतको छिमेकी देशहरूमा आफ्नो कूटनीति कडा पारेको छ । श्रीलंका पाकिस्तान, नेपाल जस्ता देशहरू चीनको सहयोगमा दबिएका छन्। चीन होस् या भारत आफू राजा बन्न नेपाल जस्तै राष्ट्रहरू बङ्गलादेश, अफगानिस्तान, भुटानको सहारा लिइरहेका छन् । चीन र भारतको खोपका साथ छिमेकी देशलाई सहयोग गर्ने निर्णयलाई विश्वले प्रतिस्पर्धाको नजरबाट हेरेको छ । दक्षिण एसियामा चीनको प्रभुत्व कम गर्न भारतले गरेको प्रयासको रूपमा खोप डिप्लोमेसीलाई हेरिएको छ ।

भारतबाट आउट पाकिस्तानलाई चीनले अनुदानमा खोप दिने

भारतको भ्याक्सिन कूटनीतिबाट पाकिस्तान आउट छ । त्यसैले शत्रुको शत्रु साथी हुन्छ भन्ने भनाइलाई सिद्ध गर्दै भारतले सहयोगको सूचिबाट आउट गरेको पाकिस्तानलाई चीनले कोरोना विरुद्धको खोप दिने भनेको छ ।

भारतको रणनीति : चीनको अगाडि हिरो हुनु

लगातार आफ्नो छिमेकी देशहरूलाई कोरोना खोप दिने रणनीतिक रूप भारतका लागि महत्त्वपूर्ण छ। भारतको खोपको उत्पादनसँगै यसलाई धेरै देशहरूमा उपहारको रूपमा दिनु कूटनीतिको अंश भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

विश्वका गरिब देशका लागी अहिलेको जरुरत भनेको कोरोना भ्याक्सिन हो । त्यहि जरुरीको फाइदा उठाउँदै भारतले कम आय भएका मुलुकलाई खोप पठाएर एसियामा भारतको स्थिति अझ सुदृढ पार्न कोसिस गरिरहेको विश्लेषण छ । भारतको खोप कूटनीतिको एक मात्र उद्देश्य भनेको चीनको अगाडि हिरो हुनु हो । यदि भारतले आफ्ना छिमेकीहरूलाई सहयोग गर्दैन र चीनले गर्छ भने भारतको छवि अन्तर्राष्ट्रिय बिग्रिनेछ। यस परिप्रेक्ष्यमा, भारतले निश्चित रूपमा चीनको सामना गर्न खोप कूटनीति प्रयोग गरिरहेको छ।

भारतको चीन विरुद्ध खोप कूटनीतिको ‘उपयोग

बिबिसी हिन्दिले केहि दिन अघि प्रकाशन गरेको एक रिपोर्टमा भारतले चीनविरुद्ध खोप कूटनीति प्रयोग गरिरहेको ‘हो या होइन’ भन्ने उत्तरका रूपमा केही हदसम्म हो र केही हदसम्म होइन भन्ने निष्कर्ष निकालेको थियो । विश्वव्यापी शक्तिको रूपमा स्थापित गर्न पनि भारतले विश्वका अन्य देशहरूलाई खोपका माध्यमबाट सहयोग पुर्‍याउनुपर्दछ भन्ने उक्त रिपोर्टमा उल्लेख थियो ।

यो मद्दतले नेपाल, बङ्गलादेश र श्रीलंका जस्ता देशहरूका लागि पनि अन्य अर्थ राख्छ। यी तीन देशका चीन र भारतसँग राम्रो सम्बन्ध छ। यी तीन देशहरूले भारत र चीन दुवैलाई एकसाथ ल्याउने प्रयास गरिरहेका छन्। कोरोनाको अवधिमा यी देशहरूको चीनसँगको निकटता निकै बढेको छ। महामारीको शुरुयाती दिनमा चीनले यी देशहरूलाई मास्क स्यानिटाइजरहरू र पिपिई किटहरूको साथ पनि मद्दत गरेको थियो ।

चीनले यसको कोरोना खोपको परीक्षणको लागि नेपाल र बङ्गलादेशलाई सहयोग पनि प्रस्ताव गरेको थियो। तर उनीहरूको वार्ता दुवै मुलुकमा भएको थिएन।

भारत र चीनको भ्याक्सिन कूटनीतिमा नेपाल

विश्वका खोप उत्पादन गर्न शक्तिशाली राष्ट्रहरूले साना राष्ट्रलाई प्रभावमा पार्ने खोप कूटनीति अपनाएको देखिएको छ । भारतले नेपाललाई १० लाख डोज कोरोनाको भ्याक्सिन दिइसकेको छ । चीनको कुरा गर्ने हो भने चीनले सुरुमा तीन लाख खोप दिने निर्णय गर्यो , तर पछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसंग कुरा गर्दा पाँच लाख सिनोफार्मको खोप दिन्छौँ भन्ने प्रतिबद्धता जनाएको छ । यद्यपि चीनमा बनेको खोपको नेपालमा औषधि व्यवस्था विभागले स्वीकृति गरेको छैन ।

चीनले पनि भारतले जस्तै दक्षिण एसियाका थुप्रै देशहरूलाई खोप निर्यात गरेर खोप नीति अवलम्बन गरिएको देखिएको छ ।

यी दुवै देशले आफ्ना छिमेकीलाई खोप उपलब्ध गराउनुमा राजनैतिक र व्यापारिक सम्बन्ध प्रमुख २ कारण भएको वरिष्ठ चिकित्सक डा. रवीन्द्र पाण्डे बताउँछन् । डा. पाण्डे भन्छन्, एउटा छिमेकी राष्ट्रसंगको सम्बन्ध सुमधुर राख्ने नीति भने अर्को खोप दिएपछि नैतिकताका आधारमै भएपनि आफूसँगै खोप किन्छन् भन्ने नीतिले खोप दिएको हुनपर्छ ।

तथापि, खोपको माध्यमबाट वर्तमानमा नेपालमा भइरहेको आन्तरिक राजनीतिमा पनि हस्तक्षेप गर्ने दुवै देशको रणनीति हुनसक्ने डा.पाण्डेको धारणा छ । भारत र चीनले अपनाएको जस्ता खोप कूटनीति नेपालले पनि अपनाउनु पर्ने बताउँदै उनि भन्छन्, ‘खोप उत्पादक देशहरू विशेषगरि भारत, चीन र रुससँग सरकारले राजदूतको प्रयोग गरेर जतिसक्दो निःशुल्कमा भ्याक्सिन भित्राउन पहल गरेमा हामीले धेरै खोप किन्न दौडधुप गर्नै पर्दैन ।’

देशमा कोरोना खोप लाउनुपर्ने जनसङ्ख्या थोरै भएकोले सरकारले उचित कूटनीतिको प्रयोग गरेमा भ्याक्सिन किन्नुपर्ने आवश्यकता नै नभएको डा. पाण्डेको भनाइ छ ।