काठमाडौं। सन् १९९६ फेब्रुअरीमा सुरु भएको माओवादी सशस्त्र संघर्षले २००६ नोेभेम्बरसम्म नेपाललाई खल्बल्यायो । त्यो युद्धले माओवादीले चाहेजसरी राज्यसत्ता कब्जा गर्न सकेन । त्यसैकारणले माओवादी शान्ति सम्झौतामा आएपछि पनि त्यसबाट फुटेर गएका समूहहरूले हिंसात्मक तरिका अवलम्बन गरिरहे । माओवादी शान्तिप्रक्रियामा आइसकेपछि पनि आतंकको प्रयोग भइरह्यो ।

माओवादीको ‘जनयुद्ध’ लोकतान्त्रिक राज्यविरुद्धको सशस्त्र संघर्ष थियो । उनीहरूको विद्रोह चीनमा माओ नेतृत्वमा भएको कम्युनिस्ट सशस्त्र विद्रोहबाट प्रेरित थियो । आतंक हिंसात्मक विद्रोहको अभिन्न अंगजस्तै भएको थियो । माओवादीहरूको ‘क्रान्ति’ को लागि ‘कर’ तिर्न अस्वीकार गरेपछि मारेर पोलमा झुन्ड्याइएका शिक्षकको तस्बिर माओवादी आतंक झल्काउने प्रख्यात बिम्ब बनेको थियो । मानव प्रजातिकै इतिहासमा माओवाद विचार पद्धतिमा आधारित हिंसा प्रयोग गर्ने विषयमा नाजीवादभन्दा पनि अगाडि थियो । माओले चीनमा गरेको सांस्कृतिक क्रान्तिलाई अरू देशकाले मात्रै होइन, स्वयं चिनियाँहरूले पनि दानवीय क्रियाकलापका रूपमा चित्रण गरेका छन् ।

सशस्त्र संघर्षमा सहभागी सबै हिंसात्मक गतिविधिमै सहभागी हुन्छन् भन्ने होइन । तिनीहरू अरू गतिविधिमा पनि लागेका हुन सक्छन् । त्यहीमाथि राजनीतिक दलका धेरैजसो अनुयायीले नेताहरूले जस्तो सिद्धान्त बुझेर लागेका हुँदैनन् । उनीहरू त दलका नाराहरूमा आकर्षित भएर परिचालित भएका हुन्छन् । यस्ता अनुयायीहरूलाई के भन्ने- साधारण रूपमा परिचालित भएका या सहयात्री या केही थाहा नपाएर समय व्यतीत गरिरहेका व्यक्ति ?

यस्ता सशस्त्र संघर्षका महिला सहभागी भए भने त्यसमा थप अर्को तहको विश्लेषण गर्नुपर्छ । महिलाका बारेमा समाजमा विद्यमान सोचका कारण र महिलाका पारिवारिक र सामाजिक अवस्थाका कारण यस्ता सामाजिक-राजनीतिक गतिविधिमा महिलाको त्यो पनि ठूलो संख्यामा भएको उपस्थिति अचम्मलाग्दो मान्नुपर्छ ।

यो अध्ययन मूलत: दुई विषयमा केन्द्रित छ । पहिलो- त्यसबेलाको विद्यमान राजनीतिक व्यवस्थालाई माओवादी शैलीको हिंसात्मक तरिकाले परिवर्तन गरी नयाँ राजनीतिक व्यवस्था बनाउन प्रयोग गरिएको राजनीतिक परिचालनको तरिका । यस्तो राजनीतिक परिचालनमा प्रयोग गरेका विभिन्न तरिकामध्ये आतंक पनि एउटा मुख्य विधि हो । राजनीतिक प्रशिक्षणका कारण उनीहरू त्यस्ता गतिविधिमा सरिक हुने हुनाले त्यहाँ सहभागी सबैलाई आतंककारी भनिहाल्नु साह्रै उचित हुँदैन । दोस्रो- अहिंसात्मक क्रियाकलापबाट हिंसात्मक क्रियाकलापतर्फ लागेका सबैलाई र्‍याडिकल नभन्ने हो भने तिनीहरूलाई र्‍याडिकल भनिहाल्नु पनि उचित हुँदैन । त्यसो गर्नु ‘र्‍याडिकल’ हुनुको परिभाषालाई अनावश्यक रूपमा तन्काउनु हो ।

उक्त सशस्त्र संघर्षमा महिलाको संलग्नताको विषय पनि अध्ययनको लागि रुचिकर हुन्छ । यसलाई दुई तरिकाले हेरिनुपर्छ । पहिलो- यस्तो हिंसात्मक राजनीतिक परिचालनमा किन महिलालाई पनि सहभागी गराउन लक्ष्य लिइयो र उक्त राजनीतिक परिचालनमा त्यति धेरै संख्यामा महिलाको सहभागिता कसरी सम्भव भयो ? हिंसात्मक जनविद्रोहको अन्त्यतिर २०-४० प्रतिशत लडाकुहरू महिला थिए । दोस्रो- त्यो राजनीतिक परिचालनमा ती महिलाको वास्तविक भूमिका के थियो र त्यस्तो भूमिकाले उनीहरूको त्यस हिंसात्मक युद्धका बेला त्यहाँ जान र सक्रिय रहन अनि त्यसपछिको जीवनमा कसरी सहयोग गर्‍यो ?

हिंसात्मक माओवादी विद्रोह सुरु हुँदा नेपाल औपचारिक रूपमा प्रजातान्त्रिक मुलुक थियो । त्यसभन्दा पहिले जहानियाँ राणाशासन, छोटो अवधिको बहुदलीय व्यवस्था, राजाको एकतन्त्रीय व्यवस्था र त्यसपछिको संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था थियो । औपचारिकरूपमा बहुदलीय व्यवस्था भने पनि सामाजिक, आर्थिक र राजनीतिक अवस्था फरक थियो । जनसंख्यामा भएको ह्वात्तै वृद्धि, भौगोलिक यथार्थ र यहाँको समाजलाई आकार दिने हिन्दु जातीय प्रथा र भाषिक र साम्प्रदायिक विभाजन अनि पुरुषप्रधानता नेपाली समाजका यथार्थ थिए । यस्तो परिस्थितिमा क्रान्ति गर्ने निश्चयका साथ नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सशस्त्र संघर्ष सुरु भएको थियो ।

अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रिमसँगको नजिकको सहकार्यमा काम गरेका नेपालका माओवादीमा ‘जनयुद्ध’ सुरु गर्न उचित समय हो कि होइन भन्ने मात्र विवाद थियो । यो युद्धको आवश्यकताको नैतिक पक्ष र व्यावहारिकताका बारेमा उनीहरू ढुक्क थिए । पुरुषहरूको दबदबा कायम रहेको भए पनि माओवादी सशस्त्र समूहहरूमा महिला पनि अवश्य नै हुन्थे । सशस्त्र संघर्षको सुरुदेखि अन्त्यसम्मै माओवादी पार्टी पुरुषप्रधान रह्यो । कुनै पनि समयमा महिलालाई नेतृत्व दिइएन र निर्णय प्रक्रियामा पनि महिला खासै सहभागी हुन पाएनन् । अरू क्रान्तिकारी राजनीतिक समूहहरूमा जस्तै आन्तरिक द्वन्द्व र गुटवाद माओवादी पार्टीभित्र पनि थियो ।

नेपालको माक्र्सवादी विश्लेषण ‘वर्ग’ भन्दा माथि कहिल्यै पनि गएन । अर्थ राजनीतिक बहसहरूमा नेपाली समाजमा प्रभाव पार्ने अरू धेरै संरचना छन् भनिए तर अन्तर्राष्ट्रिय स्तरमा फेमिनिस्ट सिद्धान्तहरूले महिलालाई हेर्ने फरक दृष्टिकोण नेपाली कम्युनिस्ट आन्दोलनले प्रयोग गरेन ।

महिलामाथि हुने विभिन्न किसिमका दमनका बहुआयामिक पक्षलाई गहिरो विश्लेषण गरिएन, बरु उनीहरूलाई विभिन्न तरिकाले आन्दोलनमा ल्याउने अल्पकालीन रणनीतिहरू बनाइए । समाजमा महिलाको पिछडिएको अवस्था, उनीहरूमाथि हुने विभिन्न किसिमका हिंसा (जस्तो कि बलात्कार) लाई राजनीतिक परिचालनको आधार बनाइएन, बरु यस्ता विकृतिलाई महिलालाई संगठनमा तान्ने र परिचालन गर्ने माध्यम मात्र बनाइयो । संगठनमा आइसकेपछि उनीहरूको सीमान्तीकरण र भोग्नुपरेका विभेदको एक मात्र आधार आर्थिक अवस्था हो भनेर प्रशिक्षित गरियो ।

नेपालका माओवादीहरूको परिचालन र्‍याडिकल इस्लामिक संगठनभन्दा भिन्न यस अर्थमा थियो कि माओवादीले जनशक्ति जता पाइन्छ त्यतैबाट लिए । उनीहरूले महिलालाई पनि विद्रोहमा सामेल गराए । माओवादी सशस्त्र संघर्ष चर्कंदै जाँदा महिलाको सहभागिता ह्वात्तै बढ्दै गयो । त्यसैले सशस्त्र संघर्ष सुरु भएदेखि प्रतिरक्षात्मक अवस्था हुँदै आक्रामक अवस्थामा पुग्दा महिलाको सहभागिता नाटकीय रूपमा बढेर गयो ।

माओवादी सशस्त्र संघर्षको मुख्य रणनीति हिंसाको प्रयोगबाट राजनीतिक ‘स्पेस’ सृजना गर्नु थियो । यस्ता रणनीति बनाउने र कार्यान्वयन गर्ने कुराको पूरै नियन्त्रण भने पार्टीमा थियो । स्थानीय स्तरका माओवादीले बलको प्रयोग गरेर स्थानीय स्तरमा हुन सक्ने प्रतिरोधहरूलाई निमिट्यान्न पारे । सरकारी विद्यालयका शिक्षकहरू र गाउँ विकास समितिका कर्मचारीहरूबाट हुन सक्ने प्रतिरोधलाई निमिट्यान्न पारियो । राज्यका सुरक्षा बलहरू जिल्ला सदरमुकाम र सहरहरूमा खुम्चिन बाध्य भए । ८५ प्रतिशतजति जनता माओवादीको बलको प्रतिरोध गर्न नसक्ने अवस्थामा थिए ।

सन् २००१ मा दाङको घोराहीको नेपाली सेना (तत्कालीन शाही नेपाली सेना) को ब्यारेकमा आक्रमण गर्ने भएपछि मात्र माओवादीले सरकारी सेनालाई चुनौती दिन नियमित ‘जनसेना’ राख्न थालेको हो । आतंक फैलाउने र गुरिल्ला गतिविधि कायमै रहिरह्यो । यसका साथै अरू अहिंसात्मक तरिका पनि जारी नै रहे, जस्तै- विभिन्न भ्रातृ संगठनमार्फत परिचालन, गीत, नाचलगायत विभिन्न विधिद्वारा व्यापक प्रोपोगान्डाको प्रयोग गर्दै काठमाडौंलाई हुँदै आएको बाह्य सहयोग रोक्ने प्रयास पनि भए । नियमित सेना बनाउन सुरु गरेपछि माओवादीले उनीहरूका सेनाका स्क्वाड, पल्टन र कम्पनीहरू, ब्रिगेड र डिभिजनहरू खडा गरे ।

माओवादीले नियमित सेना राख्न सुरु गरेदेखि नै हो महिला योद्धाकै रूपमा माओवादीमा प्रवेश गर्ने क्रम बढेको । माओवादी सेनामा महिलाको संख्या २० देखि ४० प्रतिशत पुगेको त्यसैकारणले हो । नोभेम्बर २००१ अगाडि माओवादीमा लागेका धेरैजसो महिला स्थानीय स्तरमै काम गर्थे ।

तिनीहरू सर्वसाधारणलाई आतंकित पार्ने काममा संलग्न भए पनि गुरिल्ला युनिटहरूमा तिनीहरूको संख्या कमै थियो । सशस्त्र संघर्षमा महिलाको संख्या बढाउन महिलाकै मात्र गुरिल्ला युनिटहरू गठन गर्ने प्रयासहरू पनि गरिएका थिए । सुरुमा स्थानीय स्तरमा ‘आतंक’ फैलाउन पुरुषहरू मात्र संलग्न भएको भए पनि महिलाको आउने क्रम बढ्दै गएपछि उनीहरू पनि त्यस्ता गतिविधिमा क्रियाशील हुन थाले ।

युद्धमा भाग लिने युनिटहरूलाई भियतनामको कम्युनिस्ट विद्रोहका बेलाको योद्धाहरूसँग तुलना गर्न सकिन्छ । तिनीहरू सधैं ‘सैनिक’ योजना र कार्यान्वयनमा लागेका हुन्थे । यस्ता स्थानीय स्क्वाडहरूलाई ‘सुराकी’ हरूलाई कारबाही गर्नुअगाडि पार्टीका स्थानीय कार्यसमितिहरूलाई खबर गर्न भनिएको भए पनि असाध्यै हिंस्रक घटना भए, नेपालमा माओवादी सशस्त्र द्वन्द्वको क्रममा । त्यो सशस्त्र विद्रोहमा १७ हजारजति मानिस मारिए र त्यसभन्दा बढी घाइते र हिंसाका प्रत्यक्षदर्शी भए । युद्धलाई चाहिने अर्थ संकलन गर्न र मानिसहरूलाई माओवादीमा तान्नसमेत हिंसा प्रयोग भएको थियो।

परिचालनका लागि उत्प्रेरणा

सशस्त्र गतिविधिमा संलग्न सबै सुरुमा पार्टीका स्थानीय तहका सदस्यबाट पार्टीमा छिर्थे । समाजमा विभेद खेपेका र भोगेकाहरू यस्ता सशस्त्र गतिविधिमा भाग लिन उत्प्रेरित हुन्थे । अध्ययनका क्रममा माओवादीको ‘जनमुक्ति सेना’ (पीएलए) मा संलग्न ४५ जना महिलासँग गहन अन्तर्वार्ता लिइएको थियो । उनीहरू भूतपूर्व पीएलएका महिलाको संगठनसँग आबद्ध छन् । त्यो संगठनमा पाँच हजार सदस्य भएको दाबी उनीहरू गर्छन् । पीएलएमा भएका तर यो संगठनमा सदस्य नभएका थप पाँच हजार महिला हुन सक्छन् ।

अध्ययनका क्रममा बटालियन र ब्रिगेड तहको नेतृत्व गरेका महिलालाई भेट्ने कोसिस गरिएको थियो । तर यी तहमा पुग्न युद्धहरूमा क्षमता देखाउनुपर्ने हुनाले यस्ता तहमा कमै मात्र महिला थिए । उदाहरणको लागि ब्रिगेडको नेतृत्व गर्ने तहमा जम्मा एकजना महिला पुगेकी थिइन् । त्यो पनि सशस्त्र द्वन्द्व अन्त्य भएपछि उनी कमिसार तहबाट बढुवामा पारिएकी थिइन् । माओवादी सेनामा बढुवाको लागि पुरुषप्रधान शैली हाबी थियो ।

सबै अन्तर्वार्ता नेपाली भाषामा गरिएको थियो किनकि उनीहरूलाई अंग्रेजीमा अन्तर्वार्ता गर्न सकिँदैनथ्यो । पुरुष सेनाहरूको हकमा पनि यो लागू हुन्थ्यो । यसको लागि लेखकले धेरै समय सँगै काम गरेका महिला अध्येताहरूको सहयोग लिइएको थियो । सबै सम्पर्क माओवादी कार्यकर्तामार्फत मिलाइएको थियो ।

जुनसुकै तहमा भएका भए पनि महिला सैनिकहरू माओवादीमा लाग्नु र सेनामा जानुको कारण सामाजिक न्यायको खोजी नै थियो । प्रजातन्त्र आइसकेपछि र सामाजिक रूपमा समानताको लागि कानुन बनेपछि वास्तविक सामाजिक जीवनमा थोरै मात्र परिवर्तन देखिँदा मानिसहरू निराश भएका थिए । छुवाछूतलाई गैरकानुनी घोषणा गरे पनि विद्यमान थियो भने महिनावारी हुँदा बार्नुपर्ने र गोठमै गएर बस्नुपर्ने बाध्यता पनि छन् । बलात्कार जस्ता आपराधिक घटना पनि बारम्बार भइरहन्छन् । महिलाले भोग्नुपरेका यस्ता घटनाहरूको सम्बोधन हुन नसकिरहेको अवस्था थियो । माओवादीहरूले यो अवसरलाई छोपे र महिलालाई पार्टीमा तानेर आफ्नो जनशक्ति बढाउन सफल भए ।

समग्र नेपाली समाज र महिलाको स्थितिमा विस्तारै प्रगति हुँदै पनि थियो, तर जनताले चाहेको गतिमा होइन । सन् १९९० मा स्थापित भएको प्रजातन्त्रले जनताका असीमित इच्छा-आकांक्षालाई सम्बोधन गर्न सकेको थिएन । राजनीतिक दलहरूमा पुरुषहरूको दबदबा र प्रभुत्व थियो । महिलाको आवाज सुनिन्थ्यो, सहानुभूति दिने तरिकाले तर उनीहरूका आवाज निर्णायक तहमा पुग्न सक्थेन । त्यहीमाथि जनसंख्या ह्वात्तै बढेको थियो । सन् २००१ को जनगणनाले नेपालको जनसंख्याको आधाभन्दा बढी १९ वर्ष वा सोभन्दा कम उमेरका भएको देखाएको थियो । यसले गर्दा सुधार होला भन्ने अपेक्षा गर्न पनि गाह्रो थियो ।

जनताका असीमित इच्छा-आंकाक्षा र त्यो पूरा गर्न सरकारी असमर्थताका बीच माओवादीले आफ्ना विभेदका न्यारेटिभ (संकथन) फैलाए । उनीहरूका अनुसार प्रजातान्त्रिक सरकार सामन्तवादी, पुँजीवादी, विभेदकारी र औपनिवेशिक ढर्राको थियो । सरकार र राज्य पहिल्यैदेखि नै नेपाली समाज र राज्यमा दबदबा कायम गर्दै आएका बाहुन र क्षेत्रीहरूले बाहिरी साम्राज्यवादी शक्तिहरू भारत र अमेरिकाको सहयोगमा चलाउँदै आएका थिए । राज्यले राम्रोसँग काम गर्न सकेका भए र जनजीविकाका मुद्दाहरूलाई सम्बोधन गर्न सकेका भए माओवादीका यस्ता संकथनले मानिस लाई आकर्षित गर्न सफल हुन सक्दैनथ्यो । तयारीको अवस्थामा नरहेको प्रहरी प्रशासनले द्वन्द्व घटाउनेभन्दा पनि बढाउने काम गर्‍यो ।

माओवादी विद्रोहमा धेरैजसो हतियार बोक्नेहरू सामाजिक विभेदको सिकार भएकाहरू थिए । जब महिलाले पनि नजिकका व्यक्तिहरू र परिवारमाथि अन्याय भएको देखे, उनीहरू पनि माओवादी पार्टी र जनसेनामा ओइरिए । उनीहरूमाथिको दमन वास्तविक वा अनुभव गरिएको मात्रै के थियो भन्न नसकिए पनि उनीहरूमा ‘प्रतिरक्षा’ को लागि हतियार बोकेको धारणा उत्पन्न भएको÷गराइएको थियो । यो भनाइको पुष्टि गर्ने आधार के हो भने नेपालका अति नै कम विकसित र आर्थिक रूपले पिछडिएका क्षेत्र र जातिका पुरुष र महिला माओवादी सेनामा लागेका थिए । उदाहरणको लागि मध्यपश्चिम विकास क्षेत्रका रुकुम र रोल्पामा सशस्त्र विद्रोह चाँडै फैलियो ।

यो अध्ययनको लागि ४५ जनासँग अन्तर्वार्ता गरिएकामध्ये १७ जना १५ वर्ष अथवा त्यो उमेर नपुग्दै माओवादी सेनामा भर्ती भएका थिए अनि २४ जना १६ र १८ का बीचमा । यसरी ९१ प्रतिशत धेरै कच्चा उमेरमा माओवादी सेनामा भर्ती भएका थिए । उनीहरूमध्ये धेरैमा निम्नमाध्यमिक तहको शिक्षा भने थियो । कानुनी रूपमा यी ‘बालसेना’ लाई जे भनिए पनि अध्ययनका क्रममा अन्तर्वार्ता गरिएकामध्ये ३३ प्रतिशतको परिवारमा पाँच वा त्योभन्दा बढी छोराछोरी थिए । पाँचजनाको परिवारमा तीन अथवा त्योभन्दा कम छोराछोरी थिए । ६ जनाले आफ्ना परिवारको बारेमा खुलेर बताउन चाहेनन् ।

माओवादी द्वन्द्व देशव्यापी भए पनि यसको मुख्य भूमि भने नेपालको मध्यपश्चिम क्षेत्र थियो । सुरुमा मगरहरूको दबदबा बढी रहेको भए पनि द्वन्द्व फैलिँदै जाँदा उनीहरूको उपस्थिति र प्रभाव घट्दै गयो । संघर्ष सुरु हुँदा मगरहरूको भूमिका महत्वपूर्ण भएका भए पनि बटालियनको कमान्ड गर्ने तहमा उनीहरू पाँचमध्ये तीन स्थानमा थिए । तर ब्रिगेड तहमा उनीहरूको नेतृत्व कम थियो । जनसेनाको कमान्डमा नेपाली भाषाको प्रयोग हुने गरेको भए पनि स्थानीय स्तरमा अनुकूलताअनुसार अरू भाषा प्रयोग हुन्थे ।

‘जनमुक्ति सेना’ मा प्रवेश कसरी ?

माओवादी आन्दोलनमा छिर्ने सुरुमा भने पार्टीकै तहबाट हो । पार्टीमा समाजीकरण र प्रशिक्षण हुन्थ्यो । युवाहरूलाई नेपाली जनयुद्धका बारेमा प्रशिक्षित गराइसकेपछि उनीहरूमा ‘सकारात्मक सामाजिक परिवर्तन’ प्रति प्रतिबद्धता खोजिन्थ्यो । त्यसपछि उनीहरूलाई माक्र्सवादी, लेनिनवादी शब्दावली र दृष्टिकोणको बारेमा प्रशिक्षित गराइन्थ्यो । उनीहरूलाई कम्युनिस्ट पार्टीको लागि चाहिने सेना बनाउन कमिसारहरू र अरू संयन्त्रको पनि सहयोग लिइन्थ्यो ।

यसरी ‘परिवर्तन ल्याउने इच्छा’ र प्रत्यक्ष रूपमा परिवर्तन ल्याउने गतिविधिमा संलग्न हुन पाउने अवसरले धेरैलाई पीएलएमा तान्यो । माओवादी सेनाको व्यापक रूपमा वृद्धि हुँदै जाँदा उनीहरूलाई बढुवाको अवसर पनि मिल्थ्यो । व्यक्तिहरूका सीप र क्षमता प्रयोग गर्ने कुरामा राज्यभन्दा माओवादी धेरै अगाडि थियो ।

माओवादी सशस्त्र संघर्षविरुद्ध जुध्न राज्य भने प्रभावकारी हुन सकेन । समग्रमा माओवादी द्वन्द्वका जरा पत्ता लगाउन राज्यले सकेन । राज्यसँग भएका सीमित स्रोतहरूका कारण सबै कुरा सम्बोधन गर्न पनि गाह्रो थियो । अमेरिका र पश्चिमा देशहरूमा लिइएका सैनिक तालिमहरूले पनि नेपाली परिवेशको युद्धमा सघाएनन् । पश्चिमा सिद्धान्त र तालिम नेपालका विद्रोहीहरूसँग लड्न प्रभावकारी हुन सकेन ।

माओवादीले भने समयसँगै खारिँदै गएको जनसेना प्रयोग गरेर प्रभाव र सफलता विस्तार गर्दै गए । माओवादी सेनामा महिलाको संख्या ह्वात्तै बढेको भने २००३ को दोस्रो युद्धविरामपछि हो । त्यसबेला उनीहरूको संख्या करिब एकतिहाइले बढ्यो । तर यीमध्ये धेरैले युद्धमा सहभागी हुने अवसर भने पाएनन् ।

माओवादीका स्थानीय राजनीतिक र सैनिक संगठनमा सबैभन्दा धेरै मानिस थिए । स्थानीय तहमा महिलाको संख्या पुरुषको तुलनामा खासै कम थिएन, तर स्थानीय स्तरका मानिस लाई आतंकित पार्ने क्रियाकलापमा उनीहरूको उपस्थिति कम हुन्थ्यो । जस्तो- यो अध्ययनको लागि अन्तर्वार्ता गरिएका महिलाले स्थानीय स्तरमा भएका शारीरिक हिंसाका घटनामा सहभागी नभएको र नदेखेको बताए । त्यति धेरै घटना हुँदा र त्यो तहमा त्यति धेरै महिला हुँदा यस्तो देखिएन भन्नु अस्वाभाविक भने हो ।

माओवादी सेनामा हिँड्न महिलालाई सामाजिक, भौतिक र मानसिक अवरोधहरू छिचोल्न सक्ने दृढता चाहिन्थ्यो । पुरुष र महिलाका शारीरिक भिन्नतालाई कमै मात्र स्विकारिएको थियो । खासगरी महिनावारी र गर्भवती हुँदा पनि उनीहरूलाई विशेष सुविधा थिएन । महिला सेनाहरू गर्भवती हुँदा युद्धमा भाग लिन बाध्य भएका उदाहरण छन् । माओवादी पार्टीले सहभागीहरूको यौन व्यवहारमा कडा नियन्त्रण गरेको भए पनि त्यहाँ रहेका पुरुष र महिला सेनाहरूबीच आपसी सहमतिमा यौन सम्बन्ध भएका प्रशस्त उदाहरण थिए ।

यसरी माओवादी पार्टी र सेनामा महिला र पुरुषका भौतिक भिन्नता बुझेर सम्बोधन गरेको देखिएन । समानताका नाममा पुरुषले जे गर्छ महिलाले नि त्यही गर्न भनियो । माओवादी पार्टीमा हिसिला यमीलाई विश्लेषकहरूले प्रशंसा गरेको भए पनि पार्टीको निर्णायक तहमा उनको खासै प्रभावकारी भूमिका थिएन । उनको पार्टीको भूमिका माओवादी पार्टीका दोस्रो वरियताका नेता बाबुराम भट्टराईसँगको विवाहको कारण भएको हो ।

माओवादी प्रशिक्षणहरूमा पुरुषप्रधानताका बारेमा धेरै छलफल नभए पनि यो अध्ययनको लागि अन्तर्वार्ता गरिएका महिलाले पुरुषप्रधानता र दबदबाले माओवादी सेनामा पनि सीमितता पैदा गरेको बताए । युद्धहरूमा सफलतापूर्वक संलग्न भएको भए पनि सशस्त्र द्वन्द्वका बेला कुनै पनि महिलालाई ब्रिगेड कमान्डर बनाइएन । ब्रिगेड कमान्डर हुने मौका पाएकी कमला नहकर्मी ‘सपना’ (३५) शान्तिप्रक्रिया सुरु भएपछि मात्र उक्त पदमा बढुवा भएकी थिइन् ।

बटालियन कमान्डर भएकी लीला शर्मा ‘अस्मिता’ (३५), सुशीला गौतम ‘सुषमा’ (३५), सावित्रा दुरा ‘आस्था’ (३९) र कुशल रक्षा (३२) पनि सायद सक्रिय सशस्त्र द्वन्द्वका बेला ती पदहरूमा पदोन्नति भइसकेका थिएनन् । लीला महरा पौडेल ‘कल्पना’ (३४) को युद्धमा सक्रिय सहभागिता कुनै पुरुषको भन्दा कम नभएको भए पनि उनलाई उनले पाउने तहमा नेतृत्व गर्न दिइएन । यसबारेमा कल्पनाले लिखित रूपमै विरोध जनाएकी छन् ।

द्वन्द्वको प्रत्यक्ष रूप सन् २००६ मा शान्तिप्रक्रियापछि अन्त्य भएको भए पनि, त्यसपछि माओवादीले योङ कम्युनिस्ट लिग (वाईसीएल) र विद्यार्थी संगठनमार्फत हिंसात्मक तरिकालाई निरन्तरता दिएको थियो, तर त्यसमा महिलाको सहभागिता भने उल्लेख्य रहेन । देशमा भइरहेको राजनीतिक उथलपुथलका कारण माओवादीले अक्टोबर २००५ मा सहरी विद्रोहको तयारीको लागि केही समय शान्तिपूर्ण मार्ग अवलम्बन गर्नुपर्ने रणनीति बनाएको थियो । त्यसैअनुसार, वाईसीएल र तिनीहरूका क्याम्प बनाइएका थिए । महिला भने उल्लेख्य संख्यामा वाईसीएलमा लाग्ने र क्याम्पमा बस्न गएनन्, बरु उल्टै विवाह र घरजम गर्नतिर लागे । त्यो पनि परम्परागत तरिकाले विवाह गरेर ।

माओवादीले सशस्त्र संघर्षको बेला बुर्जुवा शिक्षाको विरोध गरेको भए पनि अन्तर्वार्ता गरिएका भूतपूर्व महिला जनसेनाहरूले जसरी भए पनि आफ्ना बालबालिकालाई शिक्षा दिने बताए । अन्तर्वार्ता लिइएका विवाहित र बालबालिका भएकाहरूले उनीहरूका बालबालिकाका लागि ‘बुर्जुवा शिक्षा’ मा विशेष ध्यान दिएको बताए । वास्तवमा छोराछोरीको शिक्षा उनीहरूको पहिलो प्राथमिकता थियो । आफूहरूले शिक्षा लिन नपाएकोमा उनीहरूलाई ठूलै पछुतो थियो । तर देश परिवर्तन गर्ने क्रान्तिमा सहभागिताका कारण उनीहरूमा सन्तुष्टि पनि थियो ।

क्रान्तिले सोचेको उपलब्धि हासिल गर्न नसकेको, आफूले क्षमता देखाउन नपाएको र नेताहरूले क्रान्तिको मूल्यमा हासिल गरेको शक्ति र सम्पत्तिको बारेमा उनीहरूमा असन्तुष्टि थियो । अन्तर्वार्ता गरिएकामध्ये केही महिला युद्धका क्रममा घाइते भएकाहरू पनि थिए । तिनीहरूमा घाइते भइसकेपछि नेपालजस्तो परम्परागत समाजले नस्विकारेकाले विकसित पोस्ट ट्रमाटिक स्ट्रेस डिसर्डर (हिंसात्मक अनुभवपछि हुने मनोवैज्ञानिक समस्या) देखिएको थियो । उनीहरूलाई सहयोग गर्न सन् २०१३ मा पीएलएमा आबद्ध महिलाहरूको संगठन बनेको छ, तर त्यो संगठन पनि सीमित स्रोतमा चल्नुपरेको छ

व्यक्तिगत रूपमा भने माओवादी सशस्त्र संघर्षको हिस्सा भएर महिलाले सबल भएको अनुभव गरेका छन् । मार्क्सवाद लेनिनवादी प्रशिक्षणले उनीहरूलाई समाज र यसका विसंगतिलाई मूल्यांकन गर्ने दृष्टिकोण दिएको छ ।

म्याक्स वेबरले माक्र्सको बारेमा भनेका थिए, ‘आर्थिक अवस्था मानिसको ‘स्थान’ निर्धारणमा महत्वपूर्ण छ भन्ने माक्र्सको भनाइ सय प्रतिशत नै सही छ । तर राजनीति र स्ट्याटसले पनि मानिसको अवस्था निर्धारण गर्छन् । मानिसको अवस्थालाई प्रभाव पार्ने तीनमध्ये दुई वास्तविकतामा माक्र्सले ध्यान दिन सकेनन् ।’ माओवादी सशस्त्र संघर्षमा संलग्न महिलाकै शब्दमा भन्नुपर्दा उनीहरूले गुमाएको अनुभव गरेको सबैभन्दा महत्वपूर्ण कुरा ‘शिक्षा’ थियो । हो, शिक्षाले वेबरले भनेजस्तै मान्छेको ‘स्ट्याटस’ (स्थान) निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

(थोमस ए मार्कस्ले सन् २०१७ मै तीन महिना लगाएर नेपालको माओवादी द्वन्द्वमा महिला सहभागी हुनुका कारण र उनीहरूका अनुभवबारेमा अध्ययन गरेका थिए । मार्कसको अनुसन्धानमा आधारित आलेख ‘रुट्स अफ कन्फ्लिक्ट : फिमेल पार्टिसिपेसन इन नेपाल्स माओइस्ट पिपल्स वार’ शीर्षकमा अमेरिकाबाट प्रकाशन हुने ‘जर्नल अफ काउन्टर टेरोरिजम एन्ड होमल्यान्ड सेक्युरिटी’ मा अप्रिल २०१७ मा छापिएको थियो ।

यो आलेख त्यसैको अनुवादको सम्पादित अंश हो ।

थोमस ए मार्कस

अनुवादक : शिवप्रसाद तिवारी