काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र प्रमुखको हैसियतले कार्यकाल समालेको तीन वर्ष पुरा भई चौथो वर्षमा टेकेको छ । २०७२ सालको विशाल भूकम्प र नाकाबन्दीलाई परास्त गरेर निकै लोकप्रिय कमाएका ओलीको दोस्रो इनिङमा पनि चुनौती र जनताको उनीप्रतिको विश्वास निकै थियो । उनले रेल भित्राउने देखी हावाबाट बिजुली ल्याउनेसमेतका बाधाहरूका साथ दोस्रो पटक प्रधानमन्त्री कार्यकाल सुरु गरेका थिए । उनको प्रधानमन्त्री पदको यात्राले आज चार वर्ष टेकेको छ तर केहि हदसम्म उपलब्धि भएपनि देशलाई भने हात लाग्यो शून्य ।

संयोग नै मान्नुपर्छ देशै सकिने गरी भूकम्प गएका बेला होस् या ६ महिनासम्म नाकाबन्दी लागेको बेला प्रधानमन्त्री केपी शर्मा ओली नै थिए । फेरी दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी समालेको तीन वर्ष नलाग्दै वैश्विक महामारीले नेपाललाई पनि छोयो त्यहि पनि उनकै कार्यकालमा । एक हिसाबले भन्ने हो भने पछिल्ला प्रधानमन्त्रीहरूको भन्दा ओलीको दुवै कार्यकालमा यस्ता सङ्कट आए जुन नियन्त्रण बाहिर थिए ।

यस्ता प्राकृतिक कुरालाई बिर्सिएर प्रधानमन्त्री ओलीको कामलाई नियाल्ने हो भने उनका कार्यकाल जनताका निम्ति निकै बिर्सन लायक छ । चाहे त्यो देशको चौतर्फी विकासका गुरुयोजनामा मा होस् या ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारामा । नाकाबन्दीमा राष्ट्रवादको खोल भित्र पसेर कमाएको लोकप्रियता अहिले भताभुङ्ग भएको छ । समग्रमा प्रधानमन्त्री ओली प्रशासनले तीन वर्षमा गरेको कामको नतिजा अहिले देशमा छर्लङ्ग भएको छ ।

उनका कार्यकालमा भएका उपलब्धि असफल कार्यहरूको सुची लामै हुन आउँछ । तर पछिल्लो समय ओलीको विदेश नीतिले पनि खुबै चर्चा कमाएको छ । विशेषतः ओलीको भारत नीति उनकै निकट मानिनेहरूलाई पनि स्पष्ट नभएको उल्लेख गर्छन् ।

दुई तिहाइ बहुमतसहितको शक्तिशाली प्रधानमन्त्री बनेका ओलीको फितलो विदेश नीतिले अहिले भारत नेपाल बिच सम्बन्धमा दरार आउने स्थितिमा छ । पहिलै देखी छोटे भाइको दर्जा दिदैं आएको भारतले उनको कार्यकालमा झन् थिचाहा रणनीतिको उपयोग गर्ने कम्मर कसेको छ । उदाहरणका लागी केहि समयअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नजिकको सञ्चार माध्यमले बालुवाटारभित्रै पसेर हिन्दी भाषामा अन्तरवार्ता लिँदा होस् या सगरमाथा भारतको दाबी गरेर होस् । भारतको नेपाललाई लिएर हेपाहा स्वभावमा भिन्नता छैन ।

अयोध्या नेपालमा…….

प्रधानमन्त्री ओलीको हिन्दु धर्मग्रन्थ रामायणमा वर्णन गरिएको अयोध्या नेपालमा रहेको र राम पनि नेपालमा जन्मिएको भनी गरेको अभिव्यक्तिले देश निकै तरङ्गित भयो । नेकपाकै विवाद चरम उत्कर्षमा पुगेको बेला तथा प्रधानमन्त्री ओलीको लोकप्रियता कम भइरहेको समयमा उनको यस्तो अभिव्यक्तिले खुसी हुने पनि भेटिए भने उनको आलोचना गर्नेहरू पनि प्रशस्त भेटिए । उक्त अभिव्यक्ति सुनेर कैयौँ नेताहरू अचम्म परे भने भारतीय सञ्चार माध्यमसहित नेताहरूले समेत निन्दा गरे ।

कतिपयले पछिल्ला दिनमा सरकारको काम र प्रधानमन्त्रीको अभिव्यक्ति भारतविरुद्ध लक्षित रहेको र त्यसमार्फत राष्ट्रवादी छवि प्रदर्शन गर्ने उद्देश्य लुकेको समेत प्रस्टाए ।

पुस पाँचको कदम पछि पनि पटक पटक प्रधानमन्त्री आफ्ना भाषणहरूमा राम र सिताको प्रसङ्ग कोट्याउने गर्दछन् ।

उनका यस्ता अभिव्यक्तिले छिमेकी देश भारतसंगको सम्बन्ध सुध्रिनुको साटो अझ बिग्रिने अवस्थामा आई पुगेको छ । यसो त सन् २०१५ देखी नै भारत विरोधी छवि बनाएका प्रधानमन्त्री बिचमा सम्बन्ध केहि सुध्रिएला जस्तो भएपनि अहिले भने चिसिने अवस्थामा पुगेको छ ।

भारतीयहरूको नजरमा बढे भाइ र छोटे भाइको हैसियतले सम्बोधन गर्दै भारत र नेपाल अहिले मनमुटाबका स्थितिमा पुगेको छ । भलै भारत सरकारले नेपाललाई कोभिड विरुद्ध लड्न १० लाख कोरोनाको खोप उपलब्ध गरायो । यसलाई कतिपय राजनीतिक विश्लेषकहरूले नै भ्याक्सिन डिप्लोमेसिको नाम दिएका छन् । यस्तोमा भारत आफूले नेपाललाई खुसी बनाएको मानसिकतामा भएपनि विवाद भने भित्रभित्रै झन् चर्किएको छ । कारण भारतको नेपालप्रतिको दृष्टिकोण र त्यसमाथि प्रधानमन्त्री ओलीका अभिव्यक्ति । तर यो सिलसिला अहिलेको भने पक्कै होइन । सुगौली सन्धि देखी वर्तमान अवस्थासम्म आइपुग्दा नेपाल भारतबिच जति नै परस्पर मित्रता भएपनि कहीँ न कँहि सन्धिका कुरा र भारतको व्यवहार नेपालीहरूलाई खड्किरहन्छ ।

ओलीको अगाडि सुधिर चौधरीको ‘उपरखुट्टी

पुस पाँचमा संसद् विघटन पछि नेपालकै पत्रकारहरुले पनि बालुवाटारमा प्रधानमन्त्रीसंग बोल्ने मौका नपाइराखेका बेला भारतिय सञ्चार माध्यमलाई हिन्दि भाषामै दिएको अन्तवार्तापछि उनी पनि पुनः आलोचित हुन पुगे । भारतीय जी न्युजका पत्रकार सुधीर चौधरीले प्रधानमन्त्री निवास वालुवाटारमा भेट गरी अन्तवार्ता लिए । सुधिर चौधरी उनै पत्रकार हुन् जसको टेलिभिजन जी न्युजवाट प्रधानमन्त्री ओलीलाई जोडेर आपत्तिजनक समाचारहरू पटक पटक प्रसारण भएका थिए । यतिसम्म कि चिनिया राजदूत हाउ यान्छीसंग प्रधानमन्त्री ओलीले चक्कर चलाएको भन्दै भ्रामक सामाग्री समेत उनकै च्यानलले प्रसारण गरेको थियो ।

उनले अन्तवार्तामा बोलेका कुराहरु ठिकठाक नै भएपनि अन्तवार्ता पछि सार्वजनिक भएको फोटोमा प्रधानमन्त्री ओलीसंग सुधीरले चौधरीले ‘उपरखुट्टी’ लगाएका छन् । मर्यादा र साधारण अर्थले पनि प्रधानमन्त्रीको अगाडी ‘उपरखुट्टी’ लगाउने चलन छैन । उक्त फोटोमा प्रधानमन्त्री स्वयं ‘उपरखुट्टी’ लगाएका छैनन् । तर चौधरीले ‘उपरखुट्टी’ लगाएर प्रधानमन्त्री अगाडि बस्दा पनि नेपाललाई हेर्ने भारतको दृष्टिकोण स्पष्ट हुन्छ ।

सीमा विवाद र नेपालको नक्सा जारी

प्रधानमन्त्री ओली सरकारले आफ्नो कार्यकालमा भारतले अतिक्रमण गरी विवादित बनाएको लिम्पियाधुरा, कुटी, गुन्जी, नाभि, लिपुलेकसहितका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरी ऐतिहासिक काम समेत गरेको छ । जुन निकै स्वागतयोग्य तारिफयोग्य छ । सुगौली सन्धि अनुसार महाकाली पूर्व रहेका लिम्पियाधुरासहितको भूभाग नेपालको भएपनि लामो समयदेखि नेपालको नक्सामा सामेल नभएको उक्त भाग समेटेर नयाँ नक्सा बनाउँदा ओलीको नेपालमा वाहवाहि चुलियो । तर यो नक्सासँगै भारत भने फेरी चिडियो ।

यद्यपि प्रधानमन्त्री ओलीलाई नक्सा जारी गर्दैमा उक्त भूमि नेपालकै हो भनेर भन्न नमिल्ने जस्ता प्रश्नको सामना नेपालबाटै पनि खेप्नु पर्यो तर पनि नक्सा जारी भएपछि भारत केहि हच्किएको अनुभव भने पक्कै भयो । एक थरीका राय अनुसार ओलीको यो कदमले नयाँ दिल्ली नै हल्लिएको थियो ।

सीमाको विषयलाई लिएर झन्डै ८ महिना दुई देशबिच संवाद नै नभएको अवस्था थियो ।

नेपालको विरोध जारी नै रहेको बेलामा फेरि गत वैशाखमा भारतले नेपाली भूमि हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेको थियो । सोही सिलसिलामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले आफ्नो निसान छाप परिवर्तन गर्न संविधान नै संशोधन गरिसकेको छ । नेपालले नक्सा जारी गरेपछि भारतले आपत्ति जनाउँदै त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक नोट पठायो । त्यसयता नेपाल र भारतबिच संवादहीनताको अवस्था थियो ।

दुई देशबिच सीमा विवादको कुरा उठेपछि परराष्ट्र मन्त्रालयले भारतलाई चार पटकसम्म पत्र लेखेर वार्ता र संवादका लागि आग्रह गरेको थियो । तर, भारतले संवादका लागि नेपालले पठाएको पत्रको प्रतिउत्तर दिएको थिएन । नेपालको पत्रको जवाफ भारतले दुई महिनापछि मात्रै दिए पनि असन्तुष्टि जनाएको थियो ।

संवादहीनता तोडिएसँगै ‘नेपाल९भारत ज्वाइन्ट ओभर साइड मेकानिजम’ (संयुक्त निगरानी संयन्त्र) बैठक बस्यो । बैठकले भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको काम सन्तोषजनक भएको निष्कर्ष निकालेको थियो । परियोजनाको काम सन्तोषजनक रहेको र थप सहकार्य गरेर अघि बढ्ने बढाउँदै जाने विषयमा पारस्परिक संवाद भएको थियो ।

तर……….

लिपुलेक, कालापानी र लिम्पियाधुरासम्मको भूभाग समेटेर तयार पारिएको नक्सा समावेश भएको पुस्तक वितरण सरकारले नै रोकेको छ । शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा नौदेखि १२ सम्मका विद्यार्थीका लागि यो प्रकाशन गरेको हो, तर प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि यो पुस्तकको वितरण रोकिएको हो ।

भारतले ५९ वर्षदेखि अतिक्रमण गरेको भूभाग नेपाली नक्सामा समेट्न सार्वभौम संसद् एकजुट भएको थियो । तर, नेपालको संविधानमै समेटिएको नक्सा भएको पुस्तक बालबालिकालाई पढाउने विषयमा भने सरकार द्विविधामा परेको छ । त्यो किताब वितरण नगर्नू भनेर प्रधानमन्त्रीबाटै निर्देशन आएको शिक्षा मन्त्रालयको भनाइ छ ।

पुस्तकमा उल्लेख भएका तथ्यले भारतसँगको सम्बन्धमा असर पार्न सक्ने भन्दै पुस्तक वितरणमा रोक लगाउने विषयमा सरकारका विभिन्न निकायमा छलफल भएको थियो । पुस्तकले भारतसँगका कूटनीतिक सम्बन्ध बिगार्न सक्ने भन्दै प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ भएको थियो ।

भारतीय सेनापति र ‘रअ’का हाकिमको भ्रमणले भारतबाट आएको सन्देश

कात्तिक १९ गते भारतबाट । भारतका २८ औँ सेनाध्यक्ष नरवाणेको तीन दिने भ्रमणमा आए । नक्सा प्रकरणपछि दुई देशबिचको संवाद र सम्बन्ध सहज हुन नसकिरहेका बेला हुन लागेको सेनापतिको भ्रमणलाई महत्त्वका साथ हेरियो । त्योभन्दा अघि कात्तिक ५ गते भारतीय वायु सेनाको विशेष विमान चढेर रअ प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्री तथा अन्य अधिकारीसँग अनौपचारिक परामर्श गरी सुटुक्क काठमाडौँ आएका थिए । छिमेकी भारतसँग कूटनीतिक र राजनीतिक वार्ता गर्नुको सट्टा सरकारले भारतीय गुप्तचर प्रमुखलाई स्वागत गरेको फेरी प्रधानमन्त्रीले आलोचना खेपे ।

एकातिर अयोध्या नेपालमा रहेको भन्दै अभिव्यक्ति दिने र अर्कोतिर सुटुक्क भारतीय गुप्तचर संस्थालाई भेट्दा कतिले उनको राष्ट्रियतामै प्रश्न उठाए । देश कूटनीतिक रूपमा धराशायी भएको अवस्थामा राष्ट्रवादी नागरिकका लागि योभन्दा लज्जाको विषय केही नभएको कतिपय कुटनिति विश्लेषकहरूले उल्लेख गरे ।

भारतसँग हाम्रा समस्या समाधान गरी मित्रता कायम गर्नु अपरिहार्य छ । तर, त्यसका लागि देशको प्रधानमन्त्रीले गुप्तचरका हाकिमसँगै एकान्त संवाद गर्दा ओलीप्रतिको जनविश्वास ह्वात्तै खस्कियो ।

कूटनैतिक विश्लेषकहरूले गुप्तचर संस्थाको प्रमुख विमान चार्टर्ड गरेर नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएको विषयलाई कूटनीतिज्ञहरूले एउटा सार्वभौम देशको दुर्भाग्य भएको समेत स्पष्ट पारे ।

एक देशका प्रधानमन्त्रीले प्रधानमन्त्रीसँगै, मन्त्रीले मन्त्रीसँगै र सेनापतिले सेनापतिसँगै कुरा गर्ने व्यवस्था भएपनि एक्कासि उताका गुप्तचर प्रमुख सीधै प्रधानमन्त्रीसँग भेटवार्ता गर्न विमान चार्टर्ड गरेर नेपाल आउँदा भारतले नेपाललाई हेर्ने दृष्टिकोण प्रस्ट हुन्छ ।

त्यसपछि भारतका सेनापति मनोज मुकुन्द नरवाणे आए….

भारतले प्रस्ताव गरेको मिति ४ नोभेम्बरमा नेपाल र भारतबिच चर्किएको सीमा विवादपछि पहिलो पटक उच्चस्तरीय भ्रमण गर्ने गरी सेनापति मनोज मुकुन्द नरवाणे नेपाल आए । मोदीको महत्त्वपूर्ण सन्देश बोकेर काठमाडौँ आएका नरवाणेको भ्रमणपछि चिसिएको नेपाल–भारत सम्बन्धमा नयाँ मोड ल्याउन सक्ने अनुमान गरिएको थियो । तर उनी आए पनि खासै उपलब्धि भने भएन ।

नेपाली भूमि मिचेर भारतले बनाएको सडकको नेपालमा तीव्र आलोचना भएपछि त्यसलाई चिनियाँ इसारामा भएको दाबी गर्ने तिनै नरवाणे नेपाल आउँदा निकै तडकभडकका साथ स्वागत गरियो । उच्चस्तरीय भेट दिइयो ।

सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमण दुई देशबिच चिसिएको सम्बन्ध सुधारका लागि एउटा अवसर हुनसक्‍ने भन्दै त्यसलाई विशेष सतर्कताका साथ उपयोग गर्नुपर्ने सुझाव विज्ञहरूले सरकारलाई पनि दिए । तर सरकारले सुन्यो सुनेन त्यो आफ्नो ठाउँमा छ । नेपाल भारतबिचको सम्बन्धमा सैन्य कूटनीतिको महत्त्वपूर्ण भूमिका रहँदै आएकाले उनको भ्रमणलाई चिसिएको सम्बन्ध सुधारको संकेतको रूपमा लिन लिइएको थियो । तर उनको भ्रमण पछि पनि भारतियसंगको सम्बन्धमा केहि सुधार आउने छाँटकाँट देखिएको छैन ।

अतः प्रधानमन्त्री ओलीले विदेश नीति अन्तर्गत सबैसंग मित्रता, छैन कसैसँग शत्रुता को स्लोगन जपिरहँदा अन्य देशका हकमा केहि हदसम्म ठिक भएपनि भारतसंगको गुत्थी भने अझै सुल्झिएको छैन । नेपाल र भारत दुई देशबीच लामो खुला सिमाना तथा ऐतिहासिक र सांस्कृतिक सम्बन्ध भए पनि पछिल्लो समयमा नेपाल र भारत दुवै देशमा देखिएका परिवर्तनसँगै अघि बढ्न नसक्दा समस्या जटिल बन्दै गएको छ । वैदिक सनातन धर्मका अनुयायी यी दुई मुलुकबिचको सम्बन्ध अहिलेकै स्थिति कायम रहे भोलिका दिनमा कसरी अघि बढ्ला भनी आकलन गर्न अप्ठेरो परेको विज्ञहरूको ठम्याई छ ।